+
+
Shares

‘कुमारी’ का निर्माता भन्छन्- फिल्म नाफाघाटा मात्र हैन, जिम्मेवारी पनि

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते २१:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'कुमारी' का निर्माता महेन्द्र अधिकारीले व्यावसायिक असफलता अनुभव गरे पनि आफू हतास नभएको बताउनुभयो।
  • अधिकारीले फिल्म व्यवसायमा नाफा नआएमा कारण पत्ता लगाएर समाधान गर्नुपर्ने बताउनुभयो।
  • उहाँले कलाकार छनोट कथावस्तु र पात्रको माग अनुसार हुनुपर्ने र स्टारडम मात्र हेर्न नहुने उल्लेख गर्नुभयो।

काठमाडौं । कुनै पनि फिल्म रिलिज हुँदा निर्माताले दुई कुराको अपेक्षा राख्छन् । या बक्सअफिसमा हिट या त दर्शक र समीक्षकको प्रशंसा ।

कहिलेकाहीँ यस्तो विरोधाभास देखिन्छ, जहाँ समीक्षकले उत्कृष्ट भन्छन्, दर्शकले प्रशंसा गर्छन्, तर निर्माताको गोजी भने रित्तै रहन्छ । प्रदर्शनरत फिल्म ‘कुमारी’ का निर्माता महेन्द्र अधिकारीले यस्तै नियति भोग्नुपर्‍यो ।

‘प्रकाश’ जस्तो सशक्त फिल्म निर्माण गरेर भिन्न छाप बनाएका उनका लागि ‘कुमारी’ को व्यावसायिक असफलता एउटा पाठ बन्यो ।

फिल्मलाई उनी विशुद्ध व्यवसाय मान्छन् । ‘हरेक व्यवसायको उद्देश्य नाफामूलक हुनुपर्छ’ भन्छन्, ‘मेरो बुझाइमा कुनै पनि व्यवसायले यदि नाफा आर्जन गर्न सकेन भने त्यसको कारक तत्व पत्ता लगाई तुरुन्त समाधान गर्नुपर्छ ।’

अघि भन्छन्, ‘यदि यो समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्मातालाई पनि लगानी गर्न एक चोटि सोच्न बाध्य बनाउँछ ।’ यद्यपि, उनी आफू हतास नभएको बताउँछन् ।

उनको तर्क छ, ‘व्यवसाय सधैँ नाफामूलक मात्र नभई कहिलेकाहीँ नाफारहित पनि हुन सक्छ ।’ ‘कुमारी’ लाई उनी यसैको ज्वलन्त उदाहरण मान्न रुचाउँछन् ।

फिल्मको व्यवसायिकता असफलताले निर्माताको मनोविज्ञान कस्तो हुन्छ ? उनी भन्छन्, ‘व्यवसायले सोचेअनुसार व्यापार नगरिसकेपछि निर्मातामा नकारात्मक असर त पर्छ नै । तर, यो असर आर्थिक मात्र होइन ।’

उनका अनुसार फिल्मसँग जोडिएका प्राविधिकदेखि कलाकारसम्म हरेक व्यक्तिको आशाको केन्द्रबिन्दु नै निर्माता हुन् । त्यसैले जब लगानी डुब्छ, निर्मातालाई चौतर्फी दबाब महसुस हुन्छ ।

यद्यपि, उनी विगतका कमजोरीलाई लिएर रुमल्लिनुको साटो संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन् । ‘कमजोरी सच्याएर फेरि अर्को प्रोजेक्ट गर्नुलाई म सकारात्मक नै मान्दछु’ उनी सुनिए ।

नेपाली फिल्ममा अहिले ‘स्टार कास्ट’ बिना चलचित्र चल्दैन भन्ने भाष्य छ । पछिल्लो फिल्मको नतिजाले के अब उनलाई पनि स्टारको पछि लाग्न बाध्य पार्ला ? उनी यसलाई पूर्ण सत्य मान्न तयार छैनन् ।

‘सँधै एकै खालको फर्मुला प्रयोग गर्दा नतिजा एउटै आउँछ भन्ने हुँदैन’ उनी तर्क गर्छन्, ‘कलाकारको छनोट स्टारडम हेरेर होइन, कथावस्तु र पात्रको माग अनुसार हुनुपर्छ । कथाले न्याय माग्दा स्थापित कलाकार पनि हुन सक्छन्, नयाँ अनुहार पनि । यो मेरो रोजाइ होइन, कथाको माग हो ।’

अधिकारीलाई लाग्छ, फिल्ममा गरिने लगानी केवल लगानी मात्र नभएर रहर र जिम्मेवारी पनि हो । भन्छन्, ‘दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो । मेरो पहिलो चलचित्र ‘प्रकाश’ र अहिलेको ’कुमारी’ यसका उदाहरण हुन् ।’

‘कुमारी’ को व्यावसायिक असफलताले आफूलाई नगलाएको दाबी उनको छ । ‘बरु अझ जिम्मेवार बनाएको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?