१६ माघ, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन् ।
राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन मतदाताहरूलाई आग्रह गरे ।
‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ । घुमन्तेलाई घुमाइदिनुस्, विकास, समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्,’ सचिव बस्नेतले सम्बोधनको क्रममा भने ।
साथै, उनले झापा लगायत देशभरका मतदाताले यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न पनि आग्रह गरे ।
‘म झापा लगायतका देशभरका मतदातालाई अनुरोध गर्न चाहन्छु, यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ । नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद,’ उनले भने ।
साथै, उनले आफ्नो पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको पनि बताए ।
‘पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च हुँदैछ,’ बस्नेतले भनेका छन् ।
प्रतिक्रिया 4