News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा आठ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्, जसमा इटली पहिलो पटक सहभागी हुँदैछ।
- नेपालले एसिया–इएपी रिजनल छनोटमा अपराजित रहँदै तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ।
- स्कटल्यान्डले बंगलादेशको स्थान लिएर टी–२० विश्वकपमा स्थान बनाएको छ र यो सातौं पटकको सहभागिता हो।
१८ माघ, काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ९ एसोसिएट राष्ट्रहरू प्रतिस्पर्धा गर्नेछन् । जसमा इटलीले पहिलो पटक टी-२० विश्वकप खेल्दैछ ।
यस लेखमा ती टिमका विश्वकपसम्मको यात्रा र हेर्नलायक खेलाडीहरुको बारेमा जानकारी प्रस्तुत गरिएको छ ।
विश्वकपमा डेब्यु गर्न लागेको टोली इटलीबाट सुरुवात गरिएको छ ।
इटली

फुटबलका लागि विश्वभर परिचित इटली पछिल्लो वर्षहरूमा फिफा विश्वकपमा छनोट हुन संघर्ष गरिरहेको छ । तर क्रिकेटमा भने इटलीले इतिहास रच्दैछ । इटली पहिलो पटक टी-२० विश्वकपका लागि छनोट भएको हो ।
इटलीको यात्रा युरोपियन सब–रिजनल छनोटबाट सुरु भएको थियो । जहाँ फ्रान्स, आइल अफ म्यान, लक्जेम्बर्ग र टर्की समावेश समूहमा शीर्ष स्थानमा रहेको थियो । त्यसपछि घरेलु मैदानमै रोमानियालाई फाइनलमा पराजित गर्यो ।
त्यपछि इटलीले आईसीसी पुरुष टी–२० विश्वकप युरोप रिजनल छनोट खेल्यो । जहाँ इटलीले स्कटल्यान्डलाई हरायो । अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजित भएपनि जर्सीलाई रनरेटमा पछि पार्दै डच टोलीपछि दवस्रो स्थानमा रहेर विश्वकपको टिकट काट्यो ।
वायन म्याड्सेनको कप्तानीमा रहेको इटलीको टोलीमा दक्षिण अफ्रिकाबाट १९ खेल खेलिसकेका जेजे स्मट्स समावेश छन् । इटलीले समूह सी मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानडा

यसअघि तीन पटक आईसीसी क्रिकेट विश्वकप खेलेको क्यानडाले सन् २०२४ मा पहिलोपटक आईसीसी पुरुष टी–२० विश्वकप खेलेको थियो । जहाँ क्यानडाले फुल मेम्बर आयरल्यान्डमाथि ऐतिहासिक जित दर्ता गरेको थियो ।
आईसीसी पुरुष टी–२० विश्वकप अमेरिका रिजनल छनोट मा ६ मध्ये ६ खेल नै जितेर क्यानडाले टी-२० विश्वकपमा स्थान बनाएको हो । समूह ‘डी’ मा रहेको क्यानडाले अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र यूएईसँग खेल्नेछ ।
अलराउन्डर शिवम शर्माले अमेरिकी छनोटमा ११ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनी हेर्नलायक खेलाडीको रुपमा छन् । यस्तै २२ वर्षीय कप्तान दिलप्रीत बाजवा पनि ध्यान दिनुपर्ने खेलाडी हुन् ।
मुख्य प्रशिक्षक इंगलटन लिबर्डले भनेका छन्, ‘खेलाडीहरूले छनोट प्रतियोगिताभर असाधारण प्रतिबद्धता र एकाग्रता देखाएका थिए । अब हामी उच्चतम स्तरमा प्रतिस्पर्धा गर्ने तयारीमा पूर्ण रूपमा केन्द्रित छौं।’
नामिबिया

नामिबियाले लगातार चौथोपटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्न लागेको छ । अफ्रिका रिजनल छनोटबाट जिम्बाबेसँगै नामिबयाले आईसीसी टी२० विश्वकपमा स्थान बनाएको हो ।
समूह चरणका तीनै खेल जितेको नामिबियाले जेजे स्मितको सानदार प्रदर्शनमा सेमिफाइनलमा तान्जानियालाई हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो । जेजे स्मिटले अविजित ६१ रन बनाउनुका साथै बलिङमा ३/१६ विकेट लिए ।
फाइनलमा भने नामिबया जिम्बाबेसँग पराजित भएको थियो । टोलीको कप्तानी फेरि पनि जेरार्ड एरासमसले गर्नेछन् ।
अघिल्लो विश्वकप खेलेका ९ खेलाडी यसपटक पनि टोलीमा छन् । जान निकोल लोफ्टी–इटन ले छनोटमा राम्रो प्रदर्शन गरेका थिए । जहा उनले ६.४० को औसतमा १० विकेट लिएका थिए ।
नेपाल

नेपालले आईसीसी पुरुष टी–२० विश्वकप एसिया–इएपी रिजनल छनोटमा अपराजित रहँदै टी-२० विश्वकपमा स्थान बनाएको हो । छनोटमा समूह चरणमा जापान र कुवेतलाई हराएको नेपालले शानदार प्रदर्शन गर्दै सुपर सिक्समा शीर्ष स्थानमा रह्यो ।
नेपालको खेलहरूमा क्लोज फिनिस सामान्य जस्तै बनेका छन् । दुई क्लोज कन्टेस्टमा नेपालले युएईलाई १ रनले र कतारलाई ५ रनले पराजित गरेको थियो ।
आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो । २३ वर्षीय रोहित पौडेलले नेपालकको कप्तानी गर्नेछन् भने दीपेन्द्रसिंह ऐरी उपकप्तानका रूपमा छन् ।
समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटली र स्कटल्यान्डसँग रहेको नेपाल पहिलो पटक समूह चरण पार गर्दै अगाडि बढ्ने लक्ष्यमा छ ।
नेदरल्यान्ड्स

युरोपियन छनोट पार गर्दै नेदरल्यान्ड्सले इटलीसँगै आईसीसी टी-२० विश्वकपमा स्थान बनाएको हो । युरोप रिजनल छनोटमा चार खेलमध्ये तीन जितसहित शीर्ष स्थानमा रहँदै नेदरल्यान्ड्सले सातौं पटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो ।
डच टोलीले टी-२० विश्वकपमा दुई पटक समूह चरण पार गरिसकेको छ । स्कट एड्वार्ड्सको कप्तानीमा नेदरल्याण्ड्सले लगातार तेस्रो टी-२० विश्वकप खेल्दैछ ।
समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले सह–आयोजक भारतसहित पाकिस्तान, नामिबिया र अमेरिकासँग खेल्नेछ।
मुख्य प्रशिक्षक रायन कुकले भनेका छन्, ‘हाम्रो टोलीमा गहिराइ र विविधता छ । जसले यो कन्डिसनमा फाइदा हुनेछ । विगतका विश्वकप अनुभव, समूहका सबै टोलीसँग हालै खेलेको अनुभव र भारत–श्रीलंकाका परिस्थितिमा अभ्यस्त भएकाले हाम्रो तयारीमा हामी विश्वस्त छौं ।’
ओमान

ओमानले एसिया–इएपी रिजनल छनोटको सुपर सिक्स चरणमा नेपालपछि दोस्रो स्थानमा रहँदै चौथोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो।
छनोटमा ओमानका लागि नदिम खान र जितेन रामनन्दीले ११–११ विकेट लिए । यसैगरी ओमानका लागि सर्वाधिक टी२०आई रन–स्कोरर जतिन्दर सिंह यसपटक कप्तानका रूपमा फर्किएका छन् । उनले सन् २०२४ को टी-२० विश्वकप गुमाएका थिए ।
टी-२० विश्वकप छनोटलाई लिएर उनले भने, ‘यो गर्वको क्षण हो । हामी सबै यो प्रतियोगिताका लागि प्रतिक्षा गरिरहेका छौँ । यति ठूलो प्रतियोगितामा खेल्नका लागि तपाईलाई अनुभव आवश्यक हुन्छ, र छनोट खेल्नु हाम्रो लागि आशीर्वादजस्तै भयो ।’
ओमान सह-आयोजक श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड र जिम्बाबेसँगै समूह ‘बी’ मा छ ।
स्कटल्यान्ड

स्कटल्यान्ड सुरुमा टी-२० विश्वकपमा छनोट भएको थिएन । तर आईसीसी टी-२० वरियतामा उच्च वरियता प्राप्त टोलीको रुपमा स्कटल्याण्डले बंगलादेशलाई प्रतिस्थापन गर्दै टी-२० विश्वकपमा स्थान बनाएको हो ।
बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा विश्वकप नखेल्ने अडान राखेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गरेको हो ।
टी-२०आई वरियतामा १४औं स्थानमा रहेको स्कटल्यान्ड अहिले टी-२० विश्वकपमा रहेका सात टोलीभन्दा माथि छ । र स्कटल्यान्डको यो सातौं टी-२० विश्वकप सहभागिता हो ।
क्रिकेट स्कटल्यान्डका प्रदर्शन प्रमुख स्टिभ स्नेलले टी-२० विश्वकपका लागि छनोट भएको स्क्वाडबाट सबै सन्तुष्ट रहेको बताएका छन् । ‘टोली सन्तुलित छ र भारतमा सामना गर्नुपर्ने सबै चुनौतीका लागि तयार छ ।’
यूएई

यूएईले एसिया-इएपी छनोटको सुपर सिक्स चरणमा नेपाल र ओमानपछि तेस्रो स्थान हासिल गर्दै तेस्रोपटक आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान बनाएको हो ।
मुमम्मद वासीमको टिमले सन् २०२४ को संस्करण गुमाएपछि यसपटक अन्तिम अर्थात २०औं टोलीका रूपमा टी-२० विश्वकपकमा स्थान बनाएको थियो ।
सुपर सिक्सको अन्तिम खेलमा जापानलाई ८ विकेटले हरायँदै यूएईले गत अक्टोरमा विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।
अलिशान शराफु २८३ रनसहित (औसत ५६.६०, स्ट्राइक रेट १४३.६५) छनोटमा सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए ।
अमेरिका (युएसए)

अमेरिकाले यस पटक टी-२० विश्वकपका लागि अन्य छनोट प्रतियोगिता खेल्नुपरेन । सन् २०२४ मा घरेलु मैदानमा गरेको ऐतिहासिक प्रदर्शनका कारण अमेरिकाले आईसीसी टी-२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको थियो ।
पछिल्लो संस्करणमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको थियो । जसले अमेरिकालाई समूह चरण पार गर्दै सुपर एट सम्म पुर्याएको थियो ।
सुपर ए मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्यान्डसँग पराजित भएतापनि त्यतिन्जेलसम्म अमेरिकाले घरेलु दर्शकको मन जितिसकेका थिए ।
त्यस्तै प्रदर्शन दोहोर्याउने सन्दर्भमा अमेरिका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘हाम्रो टोली सन्तुलित र बलियो छ । साथै सबै क्षेत्रमा डोमिनेट गर्न सक्षम छ । हामी हाम्रो टिमको क्षमतालाई लिएर पूर्ण रूपमा आत्मविश्वासी छौं ।’
(आईसीसीको वेबसाइटमा प्रकाशित सामग्रीको आधारमा तयार पारिएको)
प्रतिक्रिया 4