+
+
Shares

नेताले जस्तै किन धोका दिँदैछन् फिल्मकर्मी ?

कमजोर फिल्म दिने तर हल्ला ज्यादा हुने क्रम बढ्दै गयो भने नेपाली सिनेमा पनि राजनीतिजस्तै अविश्वसनीय बन्ने खतरा छ ।

रामजी ज्ञवाली रामजी ज्ञवाली
२०८२ माघ १९ गते ८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्महरूमा हुने प्रचार हाइप र वास्तविक सामग्रीबीचको अन्तरले दर्शकको विश्वास गुमाएको छ।
  • नेपाली फिल्म क्षेत्रमा दर्शकलाई झुक्याउने प्रचार प्रवृत्ति तत्काल बन्द गर्न माग गरिएको छ ।

नेपाली समाजमा एउटा चर्चित उखान छ– ‘जुन जोगी आए पनि कानै चिरेका ।’ यो उखान वर्षौँदेखि नेपालका नेताहरूमाथि प्रयोग हुँदै आएको छ । नेतृत्व बदलिए पनि सोच, चरित्र र कार्यशैली नबदलिएको निराशाको प्रतीकको रूपमा यो उखान लोकप्रिय छ ।

तर, दुःखद् कुरा के छ भने आज यो उखानले नेपालका फिल्मकर्मीहरूलाई पनि ठ्याक्कै छोइरहेको देखिन्छ । नाम फेरिन्छन्, अनुहार बदलिन्छन्, तर प्रवृत्ति उही रहने क्रम बढ्दो छ ।

नेपालमा फिल्म निर्माण सुरु भएको झन्डै ७५ वर्षको इतिहास छ । यति लामो समय बितिसक्दा पनि नेपाली फिल्म उद्योगले अपेक्षित छलाङ मार्न नसकेको टिप्पणी बारम्बार सुनिन थालेको छ । फिल्म बन्ने क्रम जारी छ, संख्या बढिरहेको छ, तर स्तर, सोच र दीर्घकालीन दृष्टिकोणमा भने खासै परिवर्तन देखिँदैन ।

आजभन्दा केही महिनाअघि एउटा फिल्मको निकै चर्चा चल्यो । सामाजिक सञ्जालदेखि चिया गफसम्म यो फिल्मका गफ हुन थाले । दर्शकहरू उत्सुक थिए । प्रतीक्षामा थिए । र, अपेक्षाले भरिएका थिए ।

लामो समयको प्रतिक्षापछि अन्ततः उक्त फिल्म रिलिज भयो । तर, पहिलो दिनको फस्ट शो हेरेपछि दर्शकले जुन अनुभूति पाए, त्यो अपेक्षाको ठीक उल्टो थियो । दर्शकले आफू ठगिएको महसुस गरे ।

तपाईँहरूले चलचित्र ‘बलिदान’ हो कि भनेर अनुमान गर्दै हुनुहुन्छ भने त्यो सही हो ।

फिल्म छायांकनमा गएदेखि यसको चर्चा असाधारण थियो । फस्ट लुक पोस्टरदेखि टिजर र ट्रेलरसम्म आइपुग्दा यस फिल्मलाई नेपाली फिल्म उद्योगकै ‘गेम चेन्जर’ का रूपमा विश्लेषण समेत गरियो । प्रचार सामग्रीले यस्तो हाइप बनायो कि, निर्माण टिम कम्तीमा ३० करोड रुपैयाँभन्दा बढी व्यापार गर्छ भन्नेमा ढुक्क समेत थियो ।

नेपाली फिल्ममा यस स्तरको मेकिङ, भिजुअल क्वालिटी र प्रस्तुति जो–कोहीले गर्न सक्दैन भन्ने खालको कथन चल्यो । प्रचार सामाग्रीले दर्शकको मनमा छुट्टै उत्साह, गर्व र आशा सिर्जना गरिरहेको थियो । ‘अब नेपाली फिल्म पनि मेकिङवाइज अन्तर्राष्ट्रिय स्तरमा पुग्यो भन्ने विश्लेषण सुरु भयो ।

तर, फिल्म प्रदर्शन भएपछि त्यही हाइप नै यसको सबैभन्दा ठूलो बोझ बन्यो । फिल्मले अपेक्षित प्रभाव छोड्न सकेन । फिल्मको कथा राम्रो थियो । मेकिङ ठीक थियो । तर, समग्र दर्शकलाई जसरी बाँध्नुपर्ने थियो, त्यो भएन । फिल्म चिप्लियो । परिणामस्वरूप, लगानीसमेत उठाउन सकेन ।

व्यापारिक रूपमा असफल हुँदा निर्माण टिमलाई घाटा हुनु स्वाभाविक हो । तर, यो असफलताको असर त्यतिमा मात्र सिमित हुँदैन । अझ गम्भीर असर दर्शकको मनोविज्ञानमा परेको छ । फेरि एकपटक त्यो पुरानो धारणा बलियो बन्यो, – ‘नेपाली फिल्म राम्रा हुँदैनन् ।’

‘बलिदान’ प्रदर्शनकै आसपास अर्को फिल्मले पनि त्यस्तै किसिमले चोट व्योहोरेको थियो । ‘जारी’ को ऐतिहासिक सफलतापछि निर्देशक उपेन्द्र सुब्बाले सिक्वेल नबनाउने घोषणा गरेका थिए । तर, ब्रान्डको लोभमा आफ्नै भनाइ तोड्दै निर्देशक सुब्बाले ‘जारी २ : सङ अफ च्याब्रुङ’ बनाए । च्याब्रुङको कथाले सिक्वेल बनाउन बाध्य भएको निर्देशकको भनाइ केवल ‘पहिलेको ब्याज’ खान खोजेको प्रमाणित भयो ।

साउथ इन्डियन फिल्म उद्योगका निर्देशक र निर्माता आजकाल खुलेरै एउटा निष्कर्षमा पुगेका छन्, फिल्म हाइपले होइन, कन्टेन्टले मात्र बाँच्छ ।

किनभने सिक्वेल ‘जारी २’ ले न ‘जारी’ शब्दको मौलिक अर्थ बोक्न सकेको, न च्याब्रुङको सांस्कृतिक गहिराइ छुन सकेको भन्दै चलचित्रवृत्तमा चर्चा चल्यो । निर्देशक आफैँ शब्द र विषयमा अल्मलिँदा फिल्म पनि अल्मलिएको विश्लेषण भयो नेपाली फिल्म बजारमा । र ‘जारी’ मा देखिएको कुशल निर्देशन यहाँनेर आएर लिर्कियो ।

यस फिल्ममा अभिनय, संवाद र केही सामाजिक सन्दर्भ बलिया भए पनि कथाको एकीकृत संरचना कमजोर भयो भनेर व्यापक टिप्पणी भयो, यो कुरा निर्देशक सुब्बा र उनको टिमसम्म पुग्यो पुगेन ।

यहाँ सबै फिल्मका उदाहरण दिन सम्भव छैन । र, आवश्यक पनि छैन । तर यी दुई फिल्मले सिर्जना गरेको असाधारण हाइप र त्यसपछि भोगेको असफलताले एउटा स्पष्ट पाठ सिक्न सकिन्छ, – फिल्म हाइपले होइन, कन्टेन्टले चल्छ । दर्शकलाई हलसम्म त प्रचार–प्रसारले तान्न सकियला । तर, सन्तुष्ट भएर फर्काउने काम केवल राम्रो कन्टेन्टले मात्र गर्छ ।

मार्केटिङ कमजोर भयो भने राम्रो फिल्म पनि ओझेलमा पर्न सक्छ, तर प्रोजेक्ट आफैं कमजोर भयो भने जति नै आक्रामक मार्केटिङ गरे पनि त्यसले दीर्घकालीन फाइदा दिँदैन । बरू, त्यही हाइप अर्को फिल्मका लागि बोझ बन्छ र दर्शकको विश्वास गुम्ने खतरा हुन्छ ।

नेपाली फिल्म उद्योगलाई जोगाउने शक्ति भनेकै सशक्त कथा, इमानदार मेकिङ र दर्शकप्रतिको जिम्मेवारी हो । तर, नेपाली फिल्मका मेकर्सहरूमा जसरी हुन्छ दर्शकलाई हलसम्म ल्याउन सकियो भने त्यो ठूलो सफलता हो भन्ने प्रवृत्ति हावी छ । आजकाल फिल्मवृत्तमा मात्र होइन यो भन्दा टाढा दर्शकवृत्तमा नेपाली फिल्म निर्माताहरूले नेताहरूले जस्तै पटक–पटक धोका दिएको गुनासो गर्न थालेका छन् । कन्टेन्टमा भन्दा पनि यसको हल्लाखल्लामा फिल्म मेकरको ध्यान जाँदा नेपाली फिल्म थप गम्भीर संकटमा फस्दै गएको विश्लेषण हुन थालेको छ ।

आजकाल नेपाली दर्शकको गुनासो सुन्दा राजनीति र सिनेमाबीचको दूरी घट्दै गएको महसुस हुन थालेको छ । नेताले चुनावअघि देखाउने सपना र चुनावपछि देखिने यथार्थ जस्तै, नेपाली फिल्मको प्रमोशनका सामाग्री र हलमा प्रदर्शन हुने फिल्मबीचको अन्तर दिनानुदिन बढ्दै गएको छ ।

ट्रेलर र फिल्म किन फरक हुन्छन् ? यो प्रश्न सामान्य दर्शकदेखि सिनेमा प्रेमी, समीक्षक र स्वयं फिल्मकर्मीले पनि सोध्न थालेका छन् । ट्रेलरमा सामाजिक सन्देश, गहिरो कथा र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति देखाइन्छ । प्रचारमा गेम चेन्जर, ऐतिहासिक र नेपाली सिनेमाको नयाँ युग’ जस्ता शब्दहरू दोहोर्‍याइन्छ । तर, हलमा पुगेपछि दर्शकले पाउने अनुभव भने कमजोर स्क्रिप्ट, अधुरो कथा र प्राविधिक त्रुटिले भरिएको हुन्छ ।

यसले समग्र नेपाली फिल्मको भविष्यलाई लिएर गम्भीर रूपमा बहस गर्न आवश्यक भएको त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देल बताउँछन् । यदि नेपाली फिल्मले विश्व बजारमा छलाङ मार्ने हो भने कन्टेन्टमा मेहेनत गरेर मात्रै सम्भव हुने उनको भनाइ छ ।

‘हामी सुविधा सम्पन्न विश्वका अन्य उद्योगसँग मेकिङको हिसाबले प्रतिस्पर्धा गर्न खोज्दा त्यो थप चुनौतीपूर्ण हुन सक्छ’ प्रा.डा सिग्देल भन्छन्, ‘त्यसैले हाम्रा मौलिक कन्टेन्ट नै विश्व बजार प्रवेश गर्ने बलियो हतियार हो ।

प्रा.डा. सिग्देलका अनुसार, रिलिज हुने तयारीमा रहेको फिल्मको प्रचार–प्रसार त्यसको वास्तविक गुणस्तरसँग मिल्न आवश्यक छ । नेपालमा हालसम्म कुनै आधिकारिक फिल्म ग्रेडिङ प्रणाली छैन । यदि फिल्मको प्रदर्शनपछि ग्रेड निर्धारण गरेर त्यसअनुसार प्रचार गर्न सकिन्थ्यो भने, दर्शकले पाएको अनुभव र भविष्यका प्रोजेक्टहरूको भरोसा दुवै सुरक्षित राख्न सकिन्थ्यो ।

‘प्रचार सामग्री, प्रिमियर र अतिथिहरूलाई बोलाएर देखाइने फिल्मको प्रस्तुति वास्तविक फिल्मसँग मेल खाँदैन भने यो गलत हो’ सिग्देलको निष्कर्ष छ । दर्शकलाई भ्रममा पारेर बनाइएको यो किसिमको हाइपले गुम्दै गएका नेपाली फिल्मका दर्शकलाई फर्काउने सम्भावना झन् न्युन हुने उनी बताउँछन् ।

फिल्म बनाउनुअघि त्यसको विषयमा गहिरो अध्ययन र अनुसन्धान अनिवार्य छ । विषयसँग सम्बन्धित वास्तविक तथ्य, अनुभव र सामाजिक यथार्थबाट प्राप्त निष्कर्षलाई आधार मानेर कथा लेख्न थालियो भने मात्र फिल्मले दर्शकसँग भावनात्मक रूपमा जोड्न सक्ने फिल्म पण्डितहरूको बुझाइ छ । यही प्रक्रियाले पछिल्लो समय नेपाली फिल्मबाट टाढिँदै गएका दर्शकलाई पुनः हलसम्म तान्न सक्ने सम्भावना बढ्न सक्छ ।

नेपाली चलचित्र उद्योगमा भइरहेको कथित ‘फेक हाइप’ र अनैतिक प्रचार प्रवृत्तिमाथि निर्देशक मिलन तामाङले गम्भीर प्रश्न उठाएका छन् । केही दिनअघि सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले नेपाली फिल्म क्षेत्रमा चलिरहेको ‘घिनलाग्दो खेल’ तत्काल बन्द हुनुपर्ने माग गरेका छन् ।

तामाङले आफ्नो स्टाटसमा लेखेका छन्, ‘३–४ करोड खर्च गरेर फिल्म बनाउने, फेरि दर्शकलाई पैसामा किनेर हलमा ल्याउने, रोएको नाटक गराउने, त्यसको पैसा दिने, टिकट पनि आफैं किन्ने, रातारात हलमा मान्छे फ्रीमा ओइर्‍याउने यो सबै दर्शकलाई झुक्याएर उल्लु बनाउने खेल हो ।’यस्तो अभ्यास सबैलाई थाहा हुँदाहुँदै पनि निर्माता–निर्देशकहरूलाई लाज किन नलागेको होला भन्दै उनले प्रश्न उठाएका छन् ।

उनले यो प्रवृत्ति कहिलेसम्म चल्ने हो भन्दै आक्रोश व्यक्त गरेका छन् । ‘हरेक पटक काण्ड निकालेर फिल्म चलाउने खेल कति समय टिक्छ ?’ भन्दै उनले चलचित्र विकास बोर्ड, नेपाल चलचित्र निर्माता संघ लगायतका सम्बन्धित संस्थाहरूले यस्तो ‘फोहोरी खेल’ तत्काल रोक्नुपर्ने आवश्यकता औंल्याएका छन् । नत्र, बिस्तारै दर्शकले नेपाली फिल्म हेर्नै छाड्ने खतरा रहेको चेतावनी उनले दिएका छन् ।

तामाङले भविष्यप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्- ‘केही समयपछि फिल्म बनाउनेभन्दा पनि टिकट काट्न करोडौं छुट्याउनुपर्ने अवस्था आउन सक्छ । भाइरसजस्ता केही गलत फर्म्याटलाई नियन्त्रण नगरे राम्रो फिल्म बनाउने निर्मातामाथि ठूलो अन्याय हुने भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । निर्देशक तामाङले निर्माता–निर्देशकहरूलाई जबर्जस्ती दर्शक रुवाउने होइन, असल र इमानदार चलचित्र निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

उनको भनाइले पनि के कुरा प्रमाणित हुँदै गएको छ भने, आजकाल नेपाली फिल्म मेकर्स ‘कन्टेन्ट’ भन्दा ‘क्याम्पेन’ मा बढी ध्यान दिन थालेका छन् । दर्शकको आलोचनालाई आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने ठाउँमा त्यसलाई ‘नेगेटिभिटी’ भनेर पन्छाउने प्रवृत्ति हाबी छ । हाइप धेरै छ, होहल्ला धेरै छ । प्रचार रणनीति हेर्दा फिल्मभन्दा राजनीति झल्किन्छ—रिलिजको समय प्रेस मिट चुनावी भाषणजस्तै, स्टार कलाकार र निर्माता–निर्देशक नेताजस्तै, अनि दर्शक भने केवल भोट बैंक जस्ता देखिन थालेका छन् । यही कारण आजकाल नेपाली फिल्मको भविष्यप्रति चिन्ता व्यक्त हुन थालेको हो ।

फिल्म रिलिजअघि सामाजिक सञ्जालमा सिर्जना गरिने हल्ला, ट्रेन्डिङ ह्यासट्याग, भावुक पोस्ट र जबर्जस्त प्रचारले दर्शकको अपेक्षा अस्वाभाविक रूपमा उच्च बनाइदिन्छ । तर जब सामग्री त्यो स्तरको दर्शकले पाउँदैनन्, पछि उनीहरू आफू ठगिएको महसुस गर्छन् । ‘अन्तर्राष्ट्रिय स्तर’ को दाबी गर्ने फिल्ममा सामान्य प्राविधिक कमजोरी देखिँदा निराशा झनै गहिरो बन्छ । समस्या अझ गम्भीर तब हुन्छ, जब यस्तो अवस्थामा पनि आत्मसमीक्षा गर्नुको सट्टा आलोचकलाई दोष दिने, दर्शकलाई नबुझ्ने र सामाजिक सञ्जालमा भावनात्मक प्रतिरक्षा गर्ने संस्कार देखिन्छ ।

सत्य के हो भने, आलोचना शत्रुता होइन, सुधारको आधार हो । आत्मसमीक्षा शून्य हुँदा सिनेमा अघि बढ्दैन । आजका नेपाली दर्शक पनि यो किसिमको फिल्म मेकिङ र कृत्रिम हाइपप्रति प्रश्न गर्न थालेका छन् ।

नेपाली फिल्मका नियमित दर्शक तथा आईटी इन्जिनियर विनोद भट्टराई भन्छन्, ‘आज सहजै नेटफ्लिक्स र विभिन्न ओटीटी प्लेटफर्ममा असंख्य फिल्म उपलब्ध छन् । त्यहाँ दर्शकले आफूलाई मन पर्ने जस्तोसुकै फिल्म रोजेर हेर्न सक्छन् । जब यति सहज पहुँच र विकल्प छन्, तब नेपाली फिल्म किन हेर्ने भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । यदि नेपाली फिल्मले नेपाली समाज, संस्कार र आफ्नोपनलाई गहिरो रूपमा समेट्न सक्यो भने दर्शक फेरि हलतर्फ फर्कने सम्भावना बलियो हुन्छ ।’

एकाध फिल्म चल्नु स्वाभाविक हो, तर औसतमा नेपाली फिल्मको सफलताको दर घट्दै गएको तथ्य धेरै फिल्मकर्मीले पनि स्वीकार्छन् । अभिनेता विराज भट्ट भन्छन्, ‘पूर्णबहादुर चल्यो, १२ गाउँ चल्यो भन्दैमा सबै फिल्म चल्छन् भन्ने हुँदैन । यिनै उदाहरण देखाएर नयाँ निर्माता ल्याउने चलखेल झन् डरलाग्दो किसिमले बढ्दै गएको छ । फिल्म व्यापारी हो भने बुझेर लगानी गर्नुपर्छ, चलखेलमा नयाँ व्यक्ति डुबाउनु ठीक होइन ।’ अनावश्यक हल्ला र भ्रम सिर्जना गर्ने प्रचार सामग्रीले समग्र उद्योगलाई नै कमजोर बनाइरहेको अभिनेता भट्टको विश्लेषण छ ।

नेपाली सिनेमा जोगाउन केही आधारभूत परिवर्तन अपरिहार्य छन् । फिल्मको प्रि–प्रोडक्सन, पोस्ट प्रोडक्सन र बल्ल यसको प्रमोशनमा ध्यान दिनुपर्छ भन्ने मानसिकता हुन जरुरी छ । नत्र, कमजोर फिल्म दिने तर हल्ला ज्यादा हुने क्रम बढ्दै गयो भने नेपाली दर्शकसँग टाढिँदै गएको नेपाली सिनेमा पनि राजनीतिजस्तै अविश्वसनीय बन्ने खतरा छ ।

त्यसो त कन्टेन्ट कि क्याम्पेन ? भन्ने बहस अहिले विश्व सिने बजारमा खुलेर चलिरहेको छ । विशेषतः साउथ इन्डियन र हिन्दी फिल्म उद्योगमा त्यहाँका फिल्मकर्मीहरूले यसलाई गम्भीर समस्याका रूपमा स्वीकार्दै सुधारतर्फ बहस गरिरहेका छन् । तर नेपाली सिनेमा अझै पनि अस्वीकारकै चरणमा अड्किएको देखिएको छ ।

साउथ इन्डियन फिल्म उद्योगका निर्देशक र निर्माता आजकाल खुलेरै एउटा निष्कर्षमा पुगेका छन्, फिल्म हाइपले होइन, कन्टेन्टले मात्र बाँच्छ । आरआरआर र कान्तारा जस्ता फिल्म रिलिज भएपछि उनीहरू अझ स्पष्ट रूपमा भन्न थालेका छन्, ‘यदि फिल्म राम्रो छैन भने जति आक्रामक प्रचार गरे पनि त्यसले फिल्म जोगाउन सक्दैन ।’ उनीहरूको जोड दर्शकलाई हलुका रूपमा नलिनु र दर्शक सधैं निर्माताभन्दा एक कदम अगाडि हुन सक्छन् भन्ने यथार्थ स्वीकार्नुपर्नेमा छ । उनीहरूको निस्कर्ष छ, ‘दर्शकलाई झुक्याउन खोज्नु आत्महत्या सरह हो ।’

साउथ इन्डियन फिल्म उद्योगकी अनुभवी निर्माता अर्चना कल्पाठीले एउटा बहसमा भनिन्, ‘जति प्रचार गरे पनि खराब फिल्मलाई बचाउन सकिँदैन । यो आजको ग्लोबल सिने बजारको साझा सत्यजस्तै बनिसकेको छ ।’ उनका अनुसार फिल्मको आधार—कथा, स्क्रिप्ट र समग्र क्वालिटी—बलियो नभएसम्म कुनै पनि फिल्मलाई सुपरहिट बनाउने सम्भावना रहँदैन ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमा बनाउँदा दर्शकलाई सम्मान गर्न आग्रह गर्दै प्रचारमा झूट, सामग्रीमा लापरवाही र आलोचनाप्रति असहिष्णुता त्याग्नुपर्ने बताएका छन् । प्रशंसा जति आवश्यक छ, आलोचना पनि त्यत्तिकै जरुरी भन्ने स्वस्थ मानसिकता नेपाली फिल्म उद्योगले पुनः अंगाल्नुपर्ने देखिन्छ ।

बोर्ड अध्यक्ष डिसीले फिल्मकर्मीहरूलाई अनावश्यक हाइप र प्रचार गर्दा सावधान रहन सुझाव समेत दिएका छन् । ‘जसरी नेताहरू चुनावको अन्तिम समयमा जित्ने प्रयास गर्छन्, त्यस्तै फिल्मकर्मीहरूले पनि दर्शक तान्न प्रयास गर्छन्, यो स्वभाविकै हो’ डिसी भन्छन्, ‘तर फिल्म राम्रो छ भने सफल हुन्छ, नराम्रो छ भने हुँदैन ।’

अनावश्यक हल्ला र झुटको छानबिन गर्ने हामीसँग कुनै प्रावधान अहिलेसम्म नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?