१८ माघ, सङ्खुवासभा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी दल र उम्मेदवारले छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भएका १६ जना उम्मेदवारमध्ये आइतबारसम्म ३ जनाले मात्र निर्वाचन खर्चका लागि नयाँ बैंक खाता खोलेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च गर्न अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल तथा उम्मेदवारको छुट्टै बैंक खाता खोल्ने व्यवस्था उल्लेख छ । जिल्लामा १५ दल र एक स्वतन्त्र सहित १६ जना उम्मेदवार रहेका छन् ।
तर हालसम्म १३ जनाले अझै बैंक खाता खोलेर विवरण बुझाएका छैनन् । बैंक खाता खोल्ने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पदम बहादुर तामाङ, एमालेका अर्जुन कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पा रहेका छन् ।
निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवि अधिकारीले बताए ।
जिल्लामा खाता नखोल्ने १३ जना उम्मेदवारलाई पत्राचार गरिसकिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अधिकारीले बताए । खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारहरूले पत्राचारपछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनको भनाइ छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६ सय ३० मतदाता रहेका छन् । जिल्लामा एक सय ९ मतदान स्थल र एक सय ६४ मतदान केन्द्र रहेका छन् ।
प्रतिक्रिया 4