News Summary
Generated by OK AI. Editorially reviewed.- बालबालिकालाई खोप लगाउनु अत्यन्त जरुरी छ किनकि यसले गम्भीर रोगहरूबाट जोगाउँछ र जीवन सुरक्षित बनाउँछ।
- खोपमा सक्रिय भाइरस हुँदैन र यसले रोग निम्त्याउँदैन, तर कहिलेकाहीं हल्का ज्वरो वा सुन्निने समस्या हुन सक्छ।
- नेपालमा सरकारको नियमित खोप कार्यक्रमले धेरै बच्चालाई गम्भीर रोगहरूबाट बचाइरहेको छ र खोप सुरक्षित छ।
बालबालिकालाई लगाइने खोपका फाइदाबारे हामी सबैलाई थाहा छ । खोपले रोग प्रतिरोधी क्षमता बढाउँछ र धेरै स्वास्थ्य समस्याहरूबाट राहत दिन्छ । विश्व स्वास्थ्य संगठन, चिकित्सक र वैज्ञानिक आदि सबैले खोपहरूलाई सुरक्षित र प्रभावकारी मान्छन् ।
तैपनि धेरै आमा-बुबाहरू आफ्ना बच्चालाई खोप लगाउनु ठीक होइन भन्ने ठान्छन् । यसको मुख्य कारण खोपबारे फैलिएका भ्रमहरू हुन् ।
खोपहरू बच्चाका लागि अत्यन्त महत्वपूर्ण छन्, किनकि यसले उनीहरूको जीवन सुरक्षित बनाउँछ । यसले बच्चाहरूलाई गम्भीर हानि पुर्याउने वा मृत्युको कारण बन्न सक्ने रोगहरूबाट बचाउँछ । विशेष गरी नवजात शिशुहरूमा, जसको प्रतिरक्षा प्रणाली अझै विकास हुँदैछ । त्यसैले बच्चाले सबै खोप लगाउनु अत्यन्त जरुरी हुन्छ । यदि यस्तो नगरेमा बच्चा गम्भीर रोगहरू जस्तै दादुरा, डिप्थेरिया, पोलियो आदिको शिकार हुन सक्छन् ।
बालबालिकाको खोप बारेका भ्रम र तथ्यहरू
खोप अर्थात् इम्युनाइजेशन बच्चालाई स्वस्थ राख्ने सबैभन्दा महत्वपूर्ण तरिका हो । यो सुरक्षित हुनुको साथै गम्भीर साइड इफेक्टहरू पनि निकै दुर्लभ हुन्छन् । खोप लगाएपछि बच्चालाई सामान्य असजिलो हुन सक्छ जस्तै खोप लगाएको ठाउँमा दुखाइ वा हल्का ज्वरो आदि, तर यो अस्थायी हुन्छ ।
१
भ्रम : धेरैजसो रोगहरू गम्भीर हुँदैनन्, त्यसैले खोप अनिवार्य हुँदैन
तथ्य : यो पूर्णरूपमा गलत हो । खोप लगाइने रोगहरू जस्तै दादुरा, डिप्थेरिया, पोलियो आदि निकै गम्भीर हुन्छन् । यिनले गम्भीर जटिलता, दीर्घकालीन समस्या वा मृत्यु पनि निम्त्याउन सक्छन् । केही रोगहरूको राम्रो उपचार भए पनि पूर्ण निको हुँदैन ।
२
भ्रम : नवजात शिशुलाई समयमै खोप लगाउनैपर्छ भन्ने छैन
तथ्य : खोपका कारण जुन रोग लाग्न रोकिएको हुन्छ ती रोगहरू नवजात शिशुका लागि सबैभन्दा घातक हुन्छन् । त्यसैले उचित समयमै खोप लगाउनुपर्छ । खोपमा ढिलाइ गर्दा बच्चालाई दादुरा, खोकी जस्ता रोग लाग्ने जोखिम बढ्छ । कुनै-कुनै परिस्थितिमा १ देखि २ महिना ढिलो गर्न सकिन्छ ।
३
भ्रम : जुन रोग लाग्नबाट बचाउन भनी खोप लगाइन्छ, खोप लगाएकै कारण त्यो रोग बच्चामा देखिन्छ ।
तथ्य : खोपमा सक्रिय भाइरस हुँदैन, त्यसैले यसले रोग निम्त्याउँदैन । खोपले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ र एन्टिबडी उत्पादन गराउँछ, जसले भविष्यमा सुरक्षा दिन्छ । कहिलेकाहीं हल्का ज्वरो वा सुन्निने समस्या हुन सक्छ, तर यो रोग होइन ।
४
भ्रम : खोपमा असुरक्षित विषाक्त पदार्थहरू हुन्छन् ।
तथ्य : खोपमा फर्माल्डिहाइड, पारा (थिमेरोसल), एल्युमिनियम जस्ता पदार्थहरू थोरै मात्रामा हुन्छन् । यी नाम सुन्दा डर लाग्न सक्छ, तर यिनले खोपलाई सुरक्षित र प्रभावकारी बनाउँछन् । यी पर्दाथहरू अध्यधिक मात्रामा शरीरमा प्रवेश गरेको खण्डमा विषाक्त बन्छन् तर खोपमा मिसाएको मात्रा विषाक्त हुँदैन ।
५
भ्रम : खोपले अटिज्म निम्त्याउछ
तथ्य : यो धेरै फैलिएको भ्रम हो, तर वैज्ञानिक प्रमाणले खोप र अटिज्मबीच कुनै सम्बन्ध देखाउँदैन । दादुरा, मम्प्स, रूबेला खोपलाई यससँग जोडिन्थ्यो, तर यो गलत हो । अटिज्मका लक्षणहरू बच्चाको सानै उमेरमा देखिन थाल्छन् जुन खोपको समयसँग मेल खान सक्छ तर कारण होइन । कुनै पनि प्रमाण छैन ।
६
भ्रम : आमाले स्तनपान गराउँदा बच्चा सबै रोगबाट सुरक्षित हुन्छ र खोप आवश्यक पर्दैन
तथ्य : स्तनपानले केही इन्फेक्सन जस्तै भाइरलजन्य श्वास प्रश्वास संक्रमण, कानको संक्रमण, झाडापखालाबाट केही सुरक्षा दिन्छ, तर यो अपूर्ण र अस्थायी हुन्छ । ठूलो मात्रामा हानिकारक जीवाणु शरीरमा प्रवेश गर्दा बच्चा बिरामी हुन सक्छ । स्तनपानका फाइदा छन्, तर खोप लगाउनु पनि जरुरी छ ।
७
भ्रम : प्राकृतिक प्रतिरक्षा खोपबाट प्राप्त इम्युनिटीभन्दा राम्रो हुन्छ, त्यसैले खोप अनिवार्य होइन
तथ्य : प्राकृतिक चीजहरू राम्रा हुन्छन् भन्ने सत्य हो, तर सधैं उत्तम हुँदैन । खोपले बचाउने कीटाणुहरू प्रकृतिका हुन् तर हानिकारक छन् । प्राकृतिक इम्युनिटी प्राप्त गर्न रोग लाग्नुपर्छ जसले गम्भीर हानि पुर्याउन सक्छ । खोपले सुरक्षित तरिकाले प्रतिरक्षा दिन्छ ।
८
भ्रम : खोप लगाउँदा हानिकारक साइड इफेक्ट हुन्छ
तथ्य : खोप लगाउँदा बच्चाको प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पर्दैन । बच्चाको इम्युन सिस्टम निकै बलियो हुन्छ र दैनिक हजारौं कीटाणुहरू ह्यान्डल गर्छ । खोपमा कीटाणुको मात्रा निकै कम हुन्छ । कहिलेकाहीँ गम्भीर साइड इफेक्ट पनि हुन सक्छ तर दुर्लभ अवस्थामा मात्र ।
ध्यान दिनुपर्ने कुरा
यी भ्रमहरूले धेरै अभिभावकहरूलाई खोपबाट रोक्छन्, तर तथ्यहरूले देखाउँछन्- खोप बालबालिकाको स्वास्थ्य र जीवनका लागि अत्यन्त महत्वपूर्ण र सुरक्षित छ । नेपालमा पनि सरकारको नियमित खोप कार्यक्रमले धेरै बच्चाहरूलाई यस्ता रोगहरूबाट बचाइरहेको छ । यदि कुनै शंका छ भने डाक्टर वा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।
प्रतिक्रिया 4