१९ माघ, काठमाडौं । स्विट्जरल्यान्डको क्रान्स–मोन्टानास्थित ‘ले कन्स्टेलेसन’ बारमा नयाँ वर्षको अवसरमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।
शनिबार अस्पतालमा उपचाररत १८ वर्षीय एक स्विस किशोरको मृत्यु भएपछि यो संख्या बढेको हो । यो घटनालाई स्विट्जरल्यान्डको आधुनिक इतिहासकै सबैभन्दा खराब विपत्तिमध्ये एक मानिएको छ ।
ज्यान गुमाउनेहरू १४ देखि ३९ वर्ष उमेर समूहका छन्, जसमा अधिकांश किशोर–किशोरीहरू रहेका छन् । मृतक ४१ मध्ये २३ जना स्विस र १८ जना विदेशी नागरिक छन् ।
प्रारम्भिक अनुसन्धानका अनुसार स्याम्पेनको बोतलमा जोडिएको ‘स्पार्कलर्स’ छतको ध्वनिरोधक फोमको सम्पर्कमा आउँदा आगो सल्किएको विश्वास गरिएको छ । उक्त बारमा सन् २०१९ देखि कुनै पनि अग्नि सुरक्षा निरीक्षण नभएको खुलासा भएको छ ।
बारका मालिकहरूमाथि ‘लापरबाहीपूर्ण हत्या’को आरोपमा आपराधिक अनुसन्धान सुरु गरिएको छ । यस घटनामा आफ्ना नागरिक गुमाएको इटालीले बार मालिकलाई धरौटीमा रिहा गर्ने स्विस अदालतको निर्णयप्रति कडा आपत्ति जनाएको छ । यसका कारण दुई देशबिचको कूटनीतिक सम्बन्धमा समेत तनाव उत्पन्न भएको छ ।
हाल स्विट्जरल्यान्ड र अन्य युरोपेली देशका अस्पतालहरूमा ८१ जना घाइतेहरूको उपचार भइरहेको छ ।
प्रतिक्रिया 4