+
+
Shares
विचार :

सामाजिक सञ्जाल, आम निराशा र ‘विचार’का कुरा

युवायुवतीहरू सामाजिक सञ्जालले गर्दा विचारविहीन भए भन्दै गर्दा नभुलौं– उनीहरू केवल असन्तुष्टि पोखिरहेका या विरोध गरिरहेका होइनन् प्रश्न गरिरहेका छन् ।

झलक सुवेदी झलक सुवेदी
२०८२ माघ १९ गते १४:२५

सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमालेबाट प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरिएका कमरेड केपी शर्मा ओलीले एउटा स्टाटस लेख्दै देश जलाउने र बनाउने बीचको चुनावका सन्दर्भमा आफू देश बनाउनेको पक्षबाट सार्वजनिक बहसमा उत्रन तयार भएको जानकारी दिए ।

निर्वाचनको समयमा आम मतदाताले आफ्नो नेता या दलका विचारहरू स्पष्ट सुनेर, उसको प्रस्तुतिको शैली हेरेर को आफ्नो प्रतिनिधि हुन योग्य छ भनेर परीक्षण गर्न सकुन् भनेर यस्ता बहसहरू आयोजना गर्ने चलन छ । यस्तो बहस टेलिभिजन पत्रकारिताले व्यापकता पाएपछि अर्थपूर्ण भएको हो । ओलीले माग गरे जस्तो बहस होस् भन्ने आम मतदाताको चाहना पनि छ ।

तर केपी ओलीको स्टाटसको जवाफमा प्रतिस्पर्धी उम्मेदवार बालेनले हत्यारा र त्यसको मतियारसँग मञ्च शेयर नगर्ने भनेर लेखे । यससँगै दुवै पक्षका समर्थकहरू दुई कित्तामा विभाजित भए र त्यसका वरपर सामाजिक सञ्जालको बहस केन्द्रित हुँदै गयो ।

यसरी निकट विगतको एउटा घटनातिर फर्केर बाझाबाझ गर्दा चुनावपछि कसले कसरी कस्तो देश बनाउन लागेको छ त्यसका आधार, रणनीति र कार्यक्रमहरू कस्तो तथ्य र सिद्धान्तमा आधारित छन् र ती पुष्टि हुने खालका छन् कि छैनन् भनेर उम्मेदवारको मुखबाट सुन्न र परख गर्न पाउने आम मतदाताको अधिकार खोसिएको छ ।

यो निर्वाचनका सन्दर्भमा आफूलाई भावी प्रधानमन्त्री दाबी गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक प्रचण्ड, कांग्रेस सभापति गगन थापा र रास्वपा नेता बालेन्द्र शाहका बीचमा निम्न विषयमा बहस हुनुपर्ने हो चाहे त्यो साझा मञ्चबाट होस् या आफ्ना–आफ्ना फोरमहरूबाट नै किन नहोस् :

· लोकतन्त्र, समावेशी प्रतिनिधित्व, भौतिक पूर्वाधार, मानवीय विकास, आर्थिक समृद्धि र सामाजिक न्यायका क्षेत्रमा हामीले विगत ३५ वर्षमा के के हासिल गर्‍यौं ?

· के अहिले हासिल भएका उपलब्धि भन्दा धेरै हासिल हुनसक्थ्यो ?

· यदि धेरै हासिल हुनसक्थ्यो भने त्यस्तो उपलब्धि हुन नसक्नुमा कुन कुन दल या कुन कुन सरकार र प्रधानमन्त्री कति कति दोषी हुन् ?

· जे–जति उपलब्धि हासिल भए त्यसको जस कस–कसलाई जान्छ ?

· आज हामी जहाँ छौं त्यहाँबाट अगाडि बढ्न हामीले कस्ता आर्थिक नीति लिनुपर्ने हो, कस्ता संरचनाहरू बनाउनुपर्ने हो ?

· औद्योगिकीकरणका बाधाहरू के के हुन् र सम्बोधन कसरी गर्ने हो ?

· वैदेशिक रोजगारमा अत्यधिक निर्भरता कसरी कम गर्न सकिन्छ ? कति वर्षमा कुन कुन क्षेत्रले कति रोजगारी सिर्जना गर्दा यस्तो निर्भरता कम गर्न सम्भव छ ?

· लोकतन्त्रलाई बलियो बनाउन, सुशासन कायम गर्न, सेवा प्रवाह चुस्त र विश्वसनीय बनाउन के–कस्ता कानूनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने हो ?

· शिक्षालाई कसरी गुणस्तरीय बनाउने, कसरी दक्ष जनशक्ति उत्पादनमा प्रतिफलमुखी बनाउने, नवप्रवर्तन र अनुसन्धानमा आधारित विश्वविद्यालय शिक्षाको निश्चितता कसरी गर्ने ?

· स्वास्थ्य सेवालाई सबैको पहुँचमा कसरी लैजाने ?

· जलवायु परिवर्तनका प्रभावहरूको सामना कसरी गर्ने ?

· समावेशीकरण, सामाजिक न्याय र सुरक्षाका क्षेत्रमा सम्बोधन गर्नुपर्ने विषय के के हुन् ? आर्थिक असमानता, असमान वित्तीय पहुँच, बढ्दो वर्गीय खाडललाई कसरी कम गर्न सकिन्छ ? आम नागरिकको जीवनको गुणस्तर कसरी समृद्ध बनाउन सकिन्छ ?

· हाम्रो राष्ट्रिय सुरक्षा, रणनीतिक हित, वैदेशिक व्यापार र अरू देशसँगको सम्बन्धमा रहेका चुनौती तथा अनुकूलता र चालिनुपर्ने कदमहरू के के हुन् ?

· पुराना भनिएकाहरू के के कारणले सही या गलत हुन् र नयाँ भनिएकाहरू के के भएकाले नयाँ भनिएका हुन् ?

यी प्रश्न वरपर रहेर गरिने बहसले मात्रै आम सर्वसाधारणलाई कुइराको काग झैं अलमलिनबाट बचाउँथ्यो । उनीहरूले आफूलाई मन पर्ने विचार या दृष्टिकोण भएकोलाई मत दिन्थे । प्रचलित राजनीतिक भाष्यलाई प्रभावित गरिरहेका उदारवाद, वामपन्थ र लोकप्रियतावादको छिनोफानो पनि यसैबाट हुन्थ्यो ।

यसरी सकारात्मक बहस गर्नुको साटो बहसलाई आक्षेप, व्यंग्य र आरोप–प्रत्यारोपमा धकेलिदिने काम सबैखाले पपुलिष्टहरूको शैली हो (यस्तै एउटा बहसमा लाइभ आइरहेको बेला ट्रम्पले हिलारीलाई न्यास्टी वुमन भनेको धेरैलाई सम्झना होला) । बहसलाई थप उद्देश्यहीन बनाउन अहिले सामाजिक सञ्जाल, एआई र डिपफेक भिडियोहरूले सक्रिय भूमिका खेलेका छन् । तिनले मूल मुद्दालाई हुलमुलमा हराउन छाडिदिएका छन् र के साँचो हो, के आवश्यक हो र के होइन भन्ने ठम्याउन मुश्किल बनाइदिएका छन् । विचारमा होइन घटनामा, चरित्रमा होइन शैलीमा, योजनामा होइन प्रस्तुतिमा मूल्यांकन गर्ने सञ्जाले भाइरसको महामारी छ र यसमा सबै नेताहरू हास्य अभिनेता झैं आफैं सक्रिय छन् ।

०००

“आधुनिक इतिहासका धेरैजसो ‘ठूलो राजनीति’ सूचनाको अभाव तर अत्यधिक व्याख्या विश्लेषणमा निर्भर भएर चल्थ्यो । डिजिटल युुगले उक्त समीकरणलाई उल्ट्याइदिएको छ । आज हामी आधिकारिता कम भएका अत्यधिक कन्टेन्टको बोझमा परेका छौं । डिपफेक– प्राय:जसो एआईको सहयोगमा तयार पारिएका तथा फेव्रिकेट गरिएका भिडियो तथा फोटोहरू– बाट उत्पादित निकै सस्ता तर सामाजिक अन्तरक्रियाका आधारहरूलाई न्यूनीकरण गरिरहेका सामग्रीहरूले प्रामाणिक सार्वजनिक वक्तव्यहरू र दृश्यात्मक प्रमाणहरूलाई समेत अविश्वसनीय बनाइरहेका छन् ।”

डिपफेकले विश्व राजनीतिलाई नयाँ आकार दिइरहेको छ भन्ने शीर्षकमा पिटर्सवर्ग विश्वविद्यालयका सहप्राध्यापक अन्ना सित्निकको एउटा आलेख रसियाली टिभी नेटवर्ककोे अनलाइन पेजमा २७ जनवरी २०२६ मा छापिएको छ । आधुनिक राजनीतिको लामो समय सूचनामा सीमित एलिटहरूको मात्र पहुँच भएको र राजनीतिज्ञहरूले गर्ने व्याख्यालाई आधार मानेर समाजले आफ्ना लागि राजनीतिक दल या विचार अथवा शासकहरूको छनोट गर्ने गर्थ्यो । त्यो बार भत्केको छ । अब सूचना त हात हातमा पुगेको छ तर त्यो कति सत्य हो र कति मिथ्या भन्ने छ्यानब्यान गर्न मुश्किल पर्दैै गएको छ । यसले समग्र सामाजिक सम्बन्धका पक्षहरू र अन्तत: तर्कपूर्ण तथा ऐतिहासकितासँग मेलखाने विचारधारात्मक बहसहरूलाई ओझेलमा पारिदिएको छ । तर यो अर्धसत्य मात्र हो र यसलाई पूरा सत्य मानेर चल्दा थप गलत निष्कर्षमा पुगिने डर हुन्छ ।

यस्तो गञ्जागोल ल्याउन सहयोग गरेकोमा प्रविधिलाई दोष दिन सत्ताधारी र यथास्थिति कायम राख्न चाहनेहरू प्रतिस्पर्धा गरिरहेका छन् । साँचो हो कि डिपफेक र अल्गोरिदमको दुरुपयोग गरिएको छ तर यस्तो दुरुपयोग मुनाफामा आधारित प्रविधि अर्बपतिहरूको हित रक्षाका लागि शासकहरूले नै दिएका अनुकूलतामा आधारित छ । यी नियन्त्रण र नियमन गर्न नसकिने क्षेत्रहरू होइनन् । प्रश्न खालि यसको मापदण्ड कसले निर्धारण गर्छ, के नैतिक हो र के अनैतिक हो भन्ने सिमा कोर्नु हो । के केसम्म गर्न पाइने हो र नपाइने हो भन्ने कुराका निर्धारण अन्य सार्वजनिक वस्तु तथा सेवाको झैं सार्वजनिक हितका पक्षबाट गर्न सक्नुपर्छ । प्रविधि आफंै मानव समाज विरोधी हुनसक्दैन ।

०००

आधुनिक युगको आरम्भ भएदेखि नै राजनीति मूलत: वर्गहरूको स्वार्थ प्रतिनिधित्व गर्ने भिन्न समूहहरूका बीच हुने बहस, आम जनताले आफ्नो वर्गीय हित हेरेर लिने निर्णयमा आधारित थियो । सामाजिक क्रान्तिहरू त्यसकै उपज थिए । एउटै वर्गको प्रतिनिधित्व पनि भिन्न भिन्न शक्ति या दलहरूले गर्न सक्ने भएकोले राजनीतिक प्रणाली प्राय: बहुपार्टीका बीचको अन्तरक्रियालाई व्यवस्थापन गर्ने औजारका रूपमा संगठित हुने गरेको छ । पूँजीपतिहरूका भिन्न गुटका भिन्न स्वार्थहरू बाझिंदा उही वर्गका धेरै पार्टी हुनुलाई स्वाभाविक मानिन्छ । मजदुर र मध्यमवर्गका हित हेर्नेहरूका पनि भिन्न समूह हुनुलाई सामान्य ठानिन्छ ।

चुनाव आउनु भनेको आम नागरिकले यो या त्यो दलले लिने आर्थिक नीतिहरू, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक न्याय तथा समावेशीकरणका अरू प्रश्नहरू तथा आन्तरिक शान्ति तथा समृद्धिलाई बल पुग्ने वैदेशिक सम्बन्ध सम्बन्धी दृष्टिकोणका बीच छनोट गर्ने अवसर पाउनु भनेर बुझिन्थ्यो । स्पष्ट छ यी प्रश्न सम्बन्धी धारणामा वामपन्थी, मध्यमार्गी र दक्षिणपन्थी विचारधाराको प्रतिनिधित्व झल्किन्थ्यो । जस्तो नेपालमा कांग्रेसलाई उदारवादी बुर्जुवा वर्गको हितको प्रतिनिधित्व गर्ने र कम्युनिष्टहरूलाई मध्यम तथा श्रमिक वर्गको पार्टीका रूपमा चिनिन्थ्यो ।

दल या उम्मेदवारका धारणाहरूलाई दलको संगठन तथा प्रचार संयन्त्रले आम नागरिकहरूको बीचमा बहस गर्न लैजान्थ्यो । विचारधारात्मक रूपले कसका धारणाले आफ्नो हित गर्छ भन्ने विषयमा मतदाताले चिन्तन गर्न पाउँथ्यो । मानिसहरूसँग छनोटका अवसर सीमित भए पनि उसले आफ्नो स्वार्थ तौलन पाउँथ्यो । नेपालको विगत ३५ वर्षका निर्वाचनको इतिहास हेर्दा कुनै पनि दलले निरन्तर दोस्रो पटक सरकार बनाउने बहुमत प्राप्त गर्न नसकेको मतदाताले आफ्ना हितहरू हेरेकै कारणले हो । यसप्रकारको छनोटलाई दलहरूले विचारधाराको लेप दिएर ल्याउने कार्यक्रमहरूले प्रभावित गरेका हुन्थे ।

अर्थशास्त्रमा एउटा मान्यता छ: बजारमा उपलब्ध वस्तु तथा सेवामध्ये कुन खरिद गर्दा आफूले अधिकतम सन्तुष्टि प्राप्त गर्न सकिन्छ भन्ने बारे उपभोक्ताले सचेततापूर्वक निर्णय गर्छ । जसरी उपभोक्ताले आफूसँगको पैसा अधिकतम प्रतिफल आउने गरी खर्च गर्छ त्यसरी नै हरेक नागरिक या मतदाताले आफूलाई अधिकतम लाभ दिनसक्ने नेता या दल छानेर मत दिन्छ । यो मूलत: विज्ञान तथा प्रविधिमा आएका प्रारम्भिक चरणको औद्योगिक क्रान्तिमा आधारित थियो ।

अहिले कृत्रिम बौद्धिकतामा आधारित चौथो औद्योगिक क्रान्ति र क्वान्टम भौतिकीको समय हो । उत्पादनका क्षेत्रमा आइरहेका यावत् परिवर्तन र प्रविधिले दिएका सुविधामा आधारित नयाँ समयचेतले नयाँ मान्छेहरू पनि उत्पादन गरिरहेको छ । उसको समाजसँगको सम्बन्ध र अन्तरक्रिया, उत्पादनका औजार र उत्पादन प्रक्रियामा व्यक्तिको संलग्नता, पूँजी र श्रम बीचको सम्बन्धका परम्परागत भाष्यका भौगोलिक तथा मनोवैज्ञानिक सीमाहरू भत्केका छन् । यसले समाजशास्त्रीय अध्ययनका नयाँ ढोका उघारेको छ तर त्यसको पर्याप्त सैद्धान्तिकीकरण भइसकेको छैन ।

यही अलमलका बीच आफ्नो अस्तित्वका शर्तहरू गुजमुजिएको देखिरहेको र असुरक्षित अनुभव गरिरहेका नागरिकका चिन्ताहरू आक्रोश र भय सहित सञ्जालमा पोखिने गरेका छन् । छिटो रिसाउने, लामो समय पर्खने धैर्य नभएको र गन्तव्य निश्चित नभएको नागरिक चेत अहिलेको वास्तविकता बनेको छ । पुराना विचारधाराहरूले आफूलाई नयाँ समयको चेतना अनुरूप पुनर्पुष्टि गर्नुपर्ने भएको छ ।

कतिपय समाजले दक्षिणपन्थी या वामपन्थी रुझानका आधारमा आफूलाई पुनर्व्याख्या र पुनर्पुष्टि गर्दै गएका छन् । हामीकहाँ खासगरी दलहरूको नेतृत्व र पात्रहरूका प्रतिको घृणा र आक्रोश विचारधाराकै खिलाफमा व्यक्त हुने गरेको छ । नेपाली समाजमा देखिएको यो संक्रमणकालीन अवस्था विभिन्न रूपमा व्यक्त हुँदै गर्दा फागुन २१ पनि भदौ २४ को नयाँ संस्करणका रूपमा आउने सम्भावना रहेको छ ।

समाजको यो चलायमान गतिलाई अल्गोरिदमहरूले केही हदसम्म प्रभावित गरिरहेको छ । सँगसँगै यसले सूचनाका स्रोतहरूलाई एलिटहरूको हातबाट जनसाधारणका हातसम्म पुर्‍याएको छ । सूचना र संवादको स्पेशमा सर्वसाधारणको पहुँच बढाइदिएको छ । यसैगरी धेरैजसो घटनामा समग्र समाजको विचारधारात्मक अन्तरक्रियालाई गहन दार्शनिक या सैद्धान्तिक विश्लेषणको क्षेत्रबाट लतारेर साना–साना घटनाहरूको विद्रुप प्रस्तुति र त्यसको पक्ष या विपक्षमा हुने टिप्पणीमा झारिदिएको छ ।

केही दिन पहिले नेकपाका अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाललाई दुरुपयोग गरेर बालेनहरूले शक्ति आर्जन गरिरहेको भन्दै असन्तोष व्यक्त गरे । साथै उनले यस्ता सञ्जालको दुरुपयोगले विचारधारात्मक बहसलाई रोकेको छ भन्ने गुनासो पनि गरेका थिए ।

यहाँ उनले नबुझेको कुरा के हो भे जस्तो सुकै प्रविधि पनि जस्ताका हातमा पर्‍यो उस्तै प्रयोग हुने हो । जसरी बन्दुकले लक्ष्य निर्धारण गर्दैन त्यसरी नै सञ्जालले पनि विषय निर्धारण गर्ने होइन । शक्तिशालीहरुले विचारधारात्मक बहसलाई म्यानिपुलेशन गर्न पैसा, प्रविधि, गुप्तचर संयन्त्रहरुको प्रयोग पहिले पनि गर्थे अहिले पनि गरेकै छन् । वैचारिक रूपले काम गर्नुपर्नेहरूले यसको प्रयोग गर्न नसक्दा यसको दुरुपयोग गर्नेले फाइदा लिएको मात्र हो ।

त्यसलाई विचारधारात्मक रूपले समाजमा बहस सिर्जना गर्न पनि प्रयोग गर्न सकिन्छ । आफू त्यसमा चुक्ने र दुरुपयोग गर्नेलाई गाली गरेर मात्र समाधान निस्कने होइन । गम्भीर विषयमा विचार विमर्श, प्रस्ताव, खण्डन, तथ्यमा आधारित रहेर सूचनाहरूको विभिन्न कोणबाट विश्लेषणले मात्रै मानिसहरूलाई कसका विचारको समर्थन गर्ने र विरोध कसको गर्ने भन्ने निर्णय लिन मद्दत गर्थ्यो । सञ्जालहरू यसका साधन हुनसक्छन् ।

०००

भदौ २४ को घटना २३ सँग जोडिन्छ र २३ को घटनाको तात्कालिक सम्बन्ध सामाजिक सञ्जालमाथि प्रतिबन्धसम्म तन्किन्छ । तर यस अगाडि देखिनै समाज चरम निराशा र आक्रोशमा थियो । समाजमा शासकहरूप्रति रहेको तीव्र घृणा, मानिसको जीवनलाई कष्टकर बनाउँदै लगेको आर्थिक मन्दी, आर्थिक अवसरहरू या महिना धान्न पुग्ने आम्दानीको अभाव जस्ता कुराले पिरोलिएका सीमान्तकृत नागरिकहरूमा रहेको आक्रोशको अत्यधिक प्रज्वलनशील झुलोमा चकमक रगड्ने काम यस्ता प्रचार सामग्रीहरूले अवश्य गरेका थिए ।

गत साता ख्यालख्यालमै यसअघि कहिल्यै जान नपाएको ऐतिहासिक नगरी खोकनातिर घुम्ने अवसर मिल्यो । म्युजिकल फेष्ट पनि चलिरहेको थियो । उपत्यकाका युवायुवतीहरू संस्कृतिको पुनर्जागरणका प्रति सक्रिय देखिए । रैथाने फुड फेष्ट जस्तो सडकमा चलिरहेको । यसैक्रममा चिया खाँदै गरेको बेला केही जेनजी युवायुवतीहरू भेटिए । राजनीतिमा के ठिक हो र के बेठिक भनेर खुट्याउन बल गरिरहेका र समकालीन समाजबारे सचेत धारणा बनाउँदै गरिरहेका जागरुक थिए उनीहरू । उनीहरू आफूलाई आशावादी देखाउन जबर्जस्ती प्रयास गरिरहेका देखिन्थे ।

एक जना अमेरिकाबाट अर्थशास्त्रमा माष्टर्स गरेर यता आएकी । भन्दै थिइन् लोकल इकोनोमी बारे पढाउँछु कलेजमा । नेपालमा आउँदाको उत्साह सेलाउँदै गएको र दोधारमा रहेकी । उनले कुराका सन्दर्भमै पत्रकार मित्र सीताराम बराललाई प्रश्न गरिन्: नेपालमा बसेर गरिने कमाइले जीवनका आवश्यकता पूरा गर्न सकिएला र ?

अर्थात् हामीले युवायुवतीहरू सामाजिक सञ्जालले गर्दा विचारविहीन भए भन्दै गर्दा दुईथरी कुरा भुल्न हुँदैन । पहिलो उनीहरू केवल असन्तुष्टि पोखिरहेका या विरोध गरिरहेका होइनन् प्रश्न गरिरहेका छन् । यस्तो प्रश्न स्वाभाविक रूपमा देश बनाउँछु भनेर राज्य सञ्चालनको तहमा पुगेकाहरूलाई नै गरिन्छ । निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका दल र भावी प्रधानमन्त्रीको दाबी गरिरहेका उम्मेदवारले सोच्नुपर्छ किन उनीहरू यस्ता प्रश्न गरिरहेका छन् ?

दोस्रो, हेर्नुस् त अहिलेको अनिश्चितता । बेरोजगारी । न्यून र अनिश्चित आयस्ता । उपचार, शिक्षा र यातायातको अवस्था । जलवायु परिवर्तनले निम्त्याइरहेको संकट । राजनीतिक अस्थिरता । कमजोर राज्य प्रणाली । वर्षेनि हुने बाढीपहिरो र घरबास छाड्नुपर्ने बाध्यता । जिउनकै लागि कठोर श्रम गर्न विदेशिनुपर्ने ऋण काढीकाढी । यस्तो बेला उनीहरूले आक्रोश पोखे भनेर हुन्छ ? अल्गोरिदमले बरालेको जवाफ दिएर हुन्छ ?

एउटा लोक कथा छ । घरमा खानेकुरा केही हुन्न । बालबच्चा खाना मागेर आमालाई हैरान पार्छन् । अँगेनामा लोहोरो घुसारेर आम भन्छिन् यो पाकेपछि खाने हो पख है । लोहोरो कहिले पाक्छ भनेर बच्चाहरू रुँगीबस्छन् र निदाउँछन् ।

के हामीले अझै लोहोरो पोलेर खान आम युवायुवतीलाई पर्खिन लगाउन सक्छौं । २००७ सालदेखिको पर्खाइ, २०४७ र २०६५ पछिको पर्खाइ कतिसम्म तन्कने हो ? अल्गोरिदमलाई गाली गर्ने कि युवायुवतीलाई देशका चुनौतीबारे खुला बहसमा सामेल गराउने, चित्त बुझाउने, उनीहरूलाई सँगै लिएर रूपान्तरणका लागि लिएर हिंड्ने ?

सञ्जालले नकारात्मकता र उत्तेजना फैलाउने काम गर्छ । यसले धेरैलाई मिथ्या सूचनाको शिकार पनि बनाउँछ । पपुलिष्टहरूलाई क्षणिक फाइदा पनि हुन्छ । तर मूल प्रश्न समाज कहाँनिर छ र के प्रश्न गरिरहेको छ भन्ने हो । यी प्रश्नको जवाफ चित्तबुझ्दो गरी दिनसक्नेले नै देशको नेतृत्व गर्ने हो ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?