+
+
Shares
विचार :

एमालेको डिपस्टेट र द ग्याङ अफ गुण्डु इल्याबोरेटेड

भान्सेको सिटमा ओली छन् । कमरेडहरू शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र राजन भट्टराई भान्सामा उक्लने उपाध्यायहरू हुन् । यो समूह नै आजको एमालेको डिपस्टेट हो ।

झलक सुवेदी झलक सुवेदी
२०८२ मंसिर २३ गते १३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिपस्टेट भनेको अनिर्वाचित, जनता र संसदप्रति उत्तरदायी नहुने तर राज्य र सरकारका नीति प्रभावित गर्ने शक्तिकेन्द्र वा व्यक्तिहरूको समूह हो।
  • नेकपा एमालेमा कमरेड केपी शर्मा ओली नेतृत्वमा पाँच सदस्यीय ग्याङ अफ फाइभले पार्टीको वास्तविक निर्णय गर्ने डिपस्टेटको भूमिका खेलेको छ।
  • एमालेमा ब्राह्मणवादी संरचना, समावेशी प्रतिनिधित्वको अभाव र सामूहिकताको समाप्ति पार्टी कमजोर बनाएको लेखकले उल्लेख गरेका छन्।

परिभाषा

डिपस्टेट राजनीतिशास्त्रको निकै कान्छो शब्द हो । यसको प्रचलन सन् १९९० पछि मात्र शुरु भएको हो । देखिने शासकभन्दा नदेखिने तर राज्यका नीतिलाई प्रझावित गर्ने शक्तिकेन्द्र या व्यत्तिहरूको भूमिकाका सन्दर्भमा यसको प्रयोग हुन्छ ।

सामान्यतः डिपस्टेट भनेर अनिर्वाचित या जनता र संसद्प्रति उत्तरदायी हुनु नपर्ने तर राज्य र सरकारका नीति र दैनिक निर्णयहरूलाई प्रभावित गर्ने समूह, नेता, उपल्लो तहका नोकरशाह, व्यापारी, सैन्य तथा सुरक्षा अधिकारी, न्यायाधीश र धर्मगुरुहरू समेतको अदृश्य समूहलाई चिनिन्छ ।

पञ्चायतकालमा सूर्यबहादुर थापाले भन्ने गरेको भूमिगत गिरोहलाई पनि डिपस्टेटको रूपमा बुझ्न सकिन्छ । यो परिभाषालाई नेतृत्वमा रहेका केही प्रभावशाली व्यक्तिहरूसँग भिडाएर यहाँ एमालेको डिपस्टेटको चर्चा गरिनेछ ।

धन्यवाद

विषय प्रवेश गर्नु पहिले म कमरेड महेश बस्नेतलाई धन्यवाद दिन चाहन्छु जसले कमरेड केपी शर्मा ओली र उहाँकी धर्मपत्नी कमरेड राधिका शाक्यका लागि वृद्धाश्रम (ओली कुटी) बनाउन पहल गरेका छन् ।

वृद्धावस्थामा घर छाडेर काशी या देवघाटतिर गएर कुटी या धर्मशालामा बस्ने चलन आर्य हिन्दु परम्पराका खासगरी ब्राह्मण, क्षत्री, महात्मा र योगी संन्यासी पुरुष र महिलाहरूमा रहँदै आएको छ । कमरेड ओलीले आफ्नो यौवनावस्थाका १४ वर्ष कठोर यातना सहित बन्दीका रूपमा बिताए ।

तीन वर्ष भूमिगत जीवन र त्यसपछि सदावहार राज्य सञ्चालनका क्षेत्रमा रहेर मेकियावेलियन/शकुनि (उनी पारिवारिक वैयक्तिक जीवनशैलीका दृष्टिमा वान्नावी एरिष्टोक्र्याट र राजनीति तथा संगठनको कार्यव्यापारका दृष्टिले दासयुगीन पुरा कथाका पात्र शकुनि र सामन्तीयुगको सन्ध्याकालका कूटनीतिज्ञ तथा लेखक मेकियावेलीका अनुयायी जस्ता लाग्छन्) चाल चलेर देश सेवा गरे ।

अहिले संन्यासी सरह (संन्यासभित्र एउटा भेद छ भोग संन्यासको) भएका छन् । कमरेड राधिकाले युवावस्थामा तत्कालीन माले निर्माणमा र पछि देशको केन्द्रीय बैंकको अधिकृतका रूपमा आफ्नो उमेर देश सेवामा लगाएकी हुन् । अहिले आफ्ना व्यस्त तर दीर्घरोगी पतिको सेवामा समर्पित छिन् ।

उहाँहरूले आफ्नो वृद्धावस्था सम्मानजनक रूपमा, आफूले आर्जन गरेका ज्ञान–गुनका कुरा नयाँ पुस्तासँग शेयर गर्दै शान्तिपूर्वक बिताउन पाउनुपर्छ । उहाँले अब पार्टी र सरकारका दैनिक कार्यबाट विश्राम लिएर कुटीमा बस्ने बेला भएको भन्ने सन्देश त उहाँहरूका पुत्रसमान कमरेड महेशले यो कुटी बनाएर दिएकै छन् ।

मार्क्सवादको अभ्यास पनि छाडेको उदारवादी नैतिकतालाई पनि पालन नगरेको पार्टीमा नेता–कार्यकर्ताका बीच समानता र कमरेड्ली सम्बन्ध हुँदैन, प्याट्रोन–क्लाइन्ट सम्बन्ध खोजिन्छ । असहमतिलाई सहज रूपमा लिइन्न या भक्त हुन्छ या शत्रु ।

मेरो शुभकामना यो छ कि आगामी महाधिवेशनमा प्रतिनिधि बनेर आउने देशभरका कमरेडहरू, विशेषतः कमरेड ओलीका छोराछोरीहरूले उहाँलाई अध्यक्षबाट विदा गरेर ससम्मान विश्राम गर्ने अवसर दिनेछन् । कमरेड महेशले जे गरे त्यसका लागि उनलाई हार्दिक धन्यवाद !

स्पष्टीकरण

अघिल्लो लेखमा मैले एमालेभित्र नीति निर्णय र शक्ति अभ्यासमा निर्णायक भूमिकामा रहेको समूहलाई लक्षित गर्दै ग्याङ अफ गुण्डुको चर्चा गरेको थिएँ । कतिपयले यसलाई सिधै महेश बस्नेतसँग मिसाएर बुझेछन् जसले यसको वास्तविक अर्थ बंग्याउँछ । त्यसपछि केही पाठकहरूले यसबारे विस्तारमा बताए हुन्थ्यो भनेर चासो राखेकोले यहाँ थप चर्चा गर्न लागिएको हो ।

म बबुरो लेखनजीवीले यस्तो शक्तिशाली ग्याङबारे लेखेर जोखिम उठाउनु व्यावहारिक जीवनमा खासै काम नलाग्ने मूर्खता हो भन्ने मलाई थाहा छ । तैपनि पाठकहरूसँग जोडिएको आफ्नो रोजीरोटी गुमाउन मन लागेन । यति स्पष्टीकरणपछि चैं विषय प्रवेश गरौं ।

ग्याङ अफ फाइभ

मलाई लाग्छ कमरेड ओलीको नेतृत्वमा नेकपा एमालेले लिएको विचार अनुदारवाद हो । मार्क्सवादबाट यो धेरै पर गइसकेको छ । जबजलाई यसको सारबाट अलग्याइएको छ । मदन भण्डारी समेत अब निकै परबाट चियाउन विवश छन् । एमालेको वैचारिक धार पुरातनवादी दक्षिणपन्थ अर्थात् कन्जर्भेटिजमतिर ढल्केको छ ।

कमरेड ओलीबाट पशुपतिमा अर्पित जलाहारी, ठोरीमा निर्माण गर्दै गरिएका राम, पुरा कथाका पात्र र सन्दर्भहरूलाई विश्वसनीय रूपमा इतिहासका पात्र झैं पार्टी दस्तावेजमै गरिने चित्रण र नेपाललाई ऋषिमुनिहरूको तपोभूमिका रूपमा गरिएको अपुष्ट व्याख्याले उनलाई समकालीन विश्वले निर्माण गरेका ज्ञान, विज्ञान र दर्शनसँग रुचि छैन भन्ने जनाउँछ । उनका परिभाषित व्याख्यानहरू ऐतिहासिक भौतिकवादका अवधारणा विरुद्ध सुनिन्छन् ।

समाजलाई उनी परम्परा र नैतिकताको पाठ पढाउनमा रुचि राख्छन् । संस्कृति, मान्छे–मान्छे बीचका सम्बन्ध र विचारधारा उत्पादन सम्बन्धकै विस्तारित रूप हुन् भन्ने मान्दैनन् । उत्पादन पद्धतिमा आएको परिवर्तन, नयाँ प्रविधिले ल्याएका नयाँ संस्कृति र वर्चस्वशाली वर्गले निर्माण गर्ने भाष्यले समाजको विचारधारालाई निर्देशित र नियन्त्रित गर्छ भन्ने कुरासँग चासो छैन ।

समाजमा वर्गहरू छन्, वर्गका बीच संघर्ष छ र पार्टीहरू वर्गकै प्रतिनिधि हुन् भन्ने मार्क्सेली भाष्य स्वीकार गर्न खासै रुचि छैन । उनी समाजलाई गतिहीन ठान्छन्, नियन्त्रित र सामन्ती अनुशासनमा बाँध्न चाहन्छन् । समयचेत र उनको चाहनामा कहींकतै भेट हुँदैन । विज्ञानमा भन्दा (अन्ध) विश्वासमा आस्था राख्छन् । पार्टीको सुपरस्ट्रक्चर (विचार र शक्ति अभ्यास सहितको वर्चस्व) लाई मार्क्सवादीहरूबाट खोसेर बाहुनवादीहरूकहाँ लगेका छन् ।

पहाडे ब्राह्मण परिवारमा जन्मेकोले म बाहुनहरूको दैनिक व्यवहारमा हुने श्रेणीगत आचार व्यवहार बारे थोरबहुत जानकार छु । हाम्रो घरमा हामी हुर्कंदा चुल्होसँग जोडिएको एउटा भान्सा हुन्थ्यो । त्यो अँगेना वरपरको भाग भन्दा अलिकति उचाइमा हुन्थ्यो । ब्रतवन्ध गरेका उपाध्याय बाहुनहरू मात्र त्यहाँ बसेर खाना खान पाउँथे । हामी ब्रतवन्ध नगरेकाहरू डीलमुनि पर्थ्यौं । क्षत्री र वैश्यहरूले मझेरीसम्म प्रवेश पाउँथे । दलितहरूलाई ढोकाभित्र प्रवेश निषेध थियो । उनीहरू पिंढी या आँगनमा बसेर खाना खान्थे । यसरी चार श्रेणी खाना खाने बेलामै छुट्टिन्थ्यो ।

विष्णु पौडेल, पीएस गुरुङ, हिक्मत कार्की, गुरु बरालहरू डीलमुनिसम्म, बाँकी सबै मझेरीदेखि पिंढी र बलेंसी बाहिर आँगनमा बस्न पाउनेहरू हुन् । निर्णय प्रक्रियामा यिनीहरूको सहभागिता फट्के किनाराका साक्षीसरह हो ।

तहगत विभाजनमा सबैभन्दा माथि ब्राह्मण र सबैभन्दा तल दलित । बाहुनहरूमै पनि श्रेणी थियो । आजको एमालेको शक्ति र स्रोतमाथि नियन्त्रण र पहुँचका दृष्टिले यो भान्सादेखि पिंढी या आँगनसम्म बाँडिएका श्रेणीहरूमा आधारित छ । यसैले पनि एमालेलाई ब्राह्मणवादी पार्टी भन्दा फरक पर्दैन ।

नेकपा एमलेका नयाँ पुराना भित्रियाहरूसँगको संवादबाट मैले पाएको सूचना अर्थात् सुनिजानेको र अब्जर्भेसनबाट बुझे अनुसार एमालेका सबैजसो नीति र निर्णयमा सहभागी हुन पाउने ओली बाहेक पाँच जना मात्र छन् । भान्सेको सिटमा ओली छन् । कमरेडहरू शंकर पोखरेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र राजन भट्टराई (र यी सबै मेरा मित्रहरू हुन्, कुनै समयका सहकर्मीहरू । यसमानेमा म खुशी छु कि उनीहरू पार्टी र देशको निर्णायक ठाउँमा सक्रिय छन्) भान्सामा उक्लने उपाध्यायहरू हुन् ।

यो समूह नै आजको एमालेको डिपस्टेट हो । यो टिमलाई सहयोग गर्ने पार्टी ब्युरोक्रेसी, दाता र पेशागत समूहहरू पनि डिपस्टेटकै अंग हुन् । डिपस्टेट किन भनेको भने पार्टीका औपचारिक फोरमहरू केन्द्रीय सचिवालय, स्थायी कमिटी या केन्द्रीय कमिटीले गर्ने निर्णय केवल औपचारिक र वैधानिकताका स्रोत बनाइएका छन् ।

वास्तविक निर्णय उपरोक्त ग्याङले गर्छ । विष्णु पौडेल, पीएस गुरुङ, हिक्मत कार्की, गुरु बरालहरू डीलमुनिसम्म, बाँकी सबै मझेरीदेखि पिंढी र बलेंसी बाहिर आँगनमा बस्न पाउनेहरू हुन् । निर्णय प्रक्रियामा यिनीहरूको सहभागिता फट्के किनाराका साक्षीसरह हो ।

महेश बस्नेतहरू चैं बाहिरी घेराबाट डिपस्टेटको रक्षा गर्ने आदेश पालकहरू हुन् । उनीहरू डिपस्टेटको रक्षा र प्रतिपक्षीहरूलाई मनोवैज्ञानिक त्रासमा राखिरहन अत्यन्त आवश्यक सुरक्षा संयन्त्रका चालकहरू भएकोले यो पंक्तिलाई खुशी राख्न डिपस्टेट पनि बाध्य हुन्छ । उनीहरूका कतिपय आवाज र माग सुनिन्छन् । तर मझेरीबाट भित्र जान दिइन्नँ ।

पार्टी स्थायी समिति सदस्य रहेका महेशले भने उस्तै परे ग्याङ अफ फाइभका सदस्यहरूलाई पनि धम्क्याउन सक्छन् । किनभने उनको मुख्य उत्तरदायित्व ओलीप्रति छ । जसरी चीनमा ग्याङ अफ फोरले आफ्नो नीति लागू गराउन रेडगार्डवाला केटाकेटी प्रयोग गर्थ्यो यहाँ त्यसरी नै कहिले युथ फोर्स र कहिले भोलेन्टियर्स फोर्स प्रयोग हुन्छ । कमरेड ओलीको देवत्वकरण गरेर सेन्टिमेन्टल ब्ल्याकमेलिङ पनि गरिरहन्छ ।

कुनै समय कमरेड विद्या भण्डारी, ईश्वर पोखरेल र विष्णु पौडेल, सुरेन्द्र पाण्डेहरू पनि डिपस्टेटमा पर्थे । केही बिचौलिया र व्यापारिक घरानाहरू एमालेका कतिपय नीतिमा लामो समयदेखि प्रभाव पार्छन् । ठूला व्यापारी, मेडिकल व्यवसायीदेखि विद्यालय सञ्चालकहरूसम्म यसमा छन् भन्ने कतिपयको बुझाइ रहेको छ ।

एमालेमा यस्तो ग्याङ बन्नु र पार्टी निर्णयमा वर्चस्व स्थापना गर्नुमा मलाई व्यक्तिगत रूपमा खासै समस्या छैन । तर यसले एमालेलाई सामूहिकतामा लैजान रोकेको छ । यो समूह निर्णायक बन्दा देशको लोकतान्त्रिक पद्धति, शासन प्रणाली र स्वाधीनतामा समेत नकारात्मक असर गरिरहेको छ ।

यही समूहले सामाजिक सञ्जाल खासगरी फेसबुकका कारण आफ्नो पार्टीको आलोचना बढेको र रवि, बालेन अनि हर्क साम्पाङ जस्ताले फाइदा लिएको भन्दै सञ्जालहरू बन्द गर्न जबर्जस्ती निर्णय गराउँदा भदौ २३ र २४ का अकल्पनीय घटनाहरू घटेका हुन् जसले देशको सार्वभौम सत्ताको अक्षुण्णतामा जोखिम बढाइदिएका छन् ।

यसैले यस्ता अपारदर्शी र कसैप्रति उत्तरदायी हुनु नपर्ने भूमिगत गिरोहहरू कुनै पनि दलमा प्रभावशाली नबनून् भन्ने मात्र मेरो कामना हो । साथै मित्रहरू भएको कारणले ग्याङका मेम्बर रहेका प्रिय कमरेडहरूलाई मेरो सुझाव पनि छ कि यसरी नचल्नुस् ।

यसले परम्परा र संस्कृतिको रूप लिंदै जाँदा कमरेड ईश्वर पोखरेल या विद्या भण्डारी वा योगेश, गोकर्णहरू नेतृत्वमा आउनासाथ एकैपटक भान्साबाट बलेंसीमा पुग्नुपर्ने तपाईंहरूले नै हो । हामी सडकवासीहरूका लागि तपाइँ सत्ता चलाउनुस् कि अर्को समूह चलाओस् कुनै फरक पर्ने हैन । त्यसैले डिपस्टेटलाई होइन विधि, पद्धति, लोकतन्त्र या जनवादलाई प्रोत्साहित गर्नुस् । आफैं ज्ञानी हुनुहुन्छ कति भनौं र !

थप चर्चा ग्याङ अफ फोरको

ग्याङ अफ फोर चिनियाँ कम्युनिष्ट पार्टीभित्रको शक्ति संघर्षमा आफ्नो हात माथि पार्न माओले अघि सारेका मध्यमस्तरका क्याडरहरूको एउटा समूह थियो । माओ पत्नी चियाङ छिङ, वाङ हुङवेन, चाङ चुनचियाओ र याओ वेनयेन यसका सदस्य थिए । उनीहरूलाई माओले क्रेन लगाएर उचाल्दै लगेका थिए र पार्टीका सिनियर नेताहरू ल्यु शाओ ची र तङ सियाओ पिङ लगायत लङ मार्चदेखि अघि पार्टीको नेतृत्वमा पुगेका सिनियरहरूलाई शक्तिको घेराबाहिर धकेल्न प्रयोग गरेका थिए ।

चार जनाको गुट आफ्नो योग्यताले भन्दा पनि माओको आशीर्वादले हताकर्ता भएको थियो । राज्य र पार्टीका निर्णयहरू उनीहरूले गर्थे । जे निर्णय गर्थे त्यो माओको आदेश अनुसार भएको भनेर प्रचार गर्थे । माओको विचार र नेतृत्वको रक्षा अनिवार्य छ भन्थे । वृद्धावस्थाका माओ पनि सबै सूचनाका लागि उनीहरूसँग भरपर्थे ।

शिक्षा, उद्योग, व्यापार र शान्ति सुरक्षाका क्षेत्र अस्तव्यस्त भएका थिए । पार्टी र सरकारको प्रोपोगाण्डा मेसिनरी उनीहरूले कब्जा गरेका थिए । सिनियर नेताहरूको या त हत्या गरियो या सत्ताबाट खसालेर जेल या दूरवर्ती इलाकाका श्रम शिविरमा पठाइयो । युवाहरूलाई गाउँमा श्रम गर्न पठाइन्थ्यो । वर्तमान महासचिव सी चिन फिङ पनि यसरी गाउँ पठाइएका किशोरहरूमध्ये एक जना हुन् ।

कमजोरहरू जब हैसियत भन्दा माथि जान पाउँछन् अनि सक्षम र योग्यहरूसँग तिनको चिडचिडाहट हुन्छ । वरपर चाकरहरू मात्र आउन् भन्ने चाहन्छन् । तिनलाई विधि–विधानसँग झर्को लाग्छ । उनीहरू जिल्ला र पालिकास्तरका कमिटीदेखि जनसंगठनसम्म प्रतिस्पर्धा र योग्यतालाई होइन गुट र भक्तिलाई प्रोत्साहित गरिरहन्छन् ।

एमालेको अहिलेको ग्याङ पार्टीका वरिष्ठ नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, पीएस, योगेश, गोकर्णहरूलाई पाखा लगाएर निर्माण भएको हो । कमरेड विद्या भण्डारीलाई पार्टीमा आउन नदिनमा पनि ग्याङ अफ फाइभको दबाब थियो । यो समूहलाई विद्या भण्डारीसँग प्रतिस्पर्धा गर्न सकिनेमा विश्वास छैन । र ओलीलाई आफ्नो अस्तित्वमाथिको प्रश्न स्वीकार्य छैन भन्नेबारे यो समूह जानकार छ ।

समावेशिता विरोधी चरित्र

एमालेको अर्को विशेषता पार्टी सत्तामा स्थायी रूपमा पहाडे बाहुन पुरुषहरूको कब्जा हुनु हो । कमरेड ओलीको संरक्षणमा रहेको एमाले र यो ग्याङलाई समावेशी प्रतिनिधित्व खासै मन पर्दैन । महिलाहरूले आफ्नो प्रतिनिधित्वको कुरा उठाउँदा यसले एनजीओको ट्याउँट्याउँ, फेमिनिस्ट अभियान ठान्छ । जनजातिहरूले पहिचानको कुरा उठाए मार्क्सवाद विरोधी विखण्डनकारी भन्दिन्छ, आफूले उहिल्यै छाडेको र अश्लील व्याख्या गर्न थालेको भए पनि पहिचानको कुरा आयो कि वर्गको कुरा झिक्छ । मधेशले अधिकार माग्दा, राष्ट्रियतामा खतरा देख्छ । छोरीहरूले आफ्नो नाममा नागरिकता माग्दा र विदेशी नागरिकसँग बिहे गरेर यता घरजम गर्न पाउँ भन्दा देश सकिन्छ भनेर व्याख्या गर्छ ।

जनजातिबाट सिनियर पदमा पुगेका अशोक राई मझेरीमै परे । बाहिरबाट ठूला मान्छे देखिने कमरेड सुभाष नेवाङ जहिले पनि मझेरीमै रहे, दिएको खाने तहमा । पानी नपार्ने तर बेलाबेला गड्याङगुडुङ गर्ने बादलको के कुरा सेठहरूका पनि सेठ कमरेड महासेठ पनि बाहुनहरूको घेरा तोडेर माथि उक्लन सक्ने छैनन् । ओलीको जति बचाउ गरे पनि कमरेड पीएसले पोष्ट पाउने छैनन् ।

खुबै पाए विभागीय जिम्मेवारी खासै नहुने उपाध्यक्ष या उपमहासचिवसम्म । कमरेड छविलाल विकको पनि उस्तै अवस्था हो । नेपाली कांग्रेस मूलतः क्षत्रीहरूको पार्टी बनेको छ एमाले बाहुनहरूको । यहाँ गैरबाहुन कर्णेल हुन पाउँछ, फिल्ड कमाण्डर पनि तर जर्नेल हुन पाउँदैन । पाइहाले पनि भ्याली पृतनाको कमाण्ड पाउँदैन ।

रक्त शुद्धता बाहुनवादको अर्को विचारधारा हो । जातिवादीहरू जहाँका या जुनसुकै समुदायका भए पनि रक्त शुद्धताका पक्षपाती हुन्छन् । बाहुनहरूले बिहे गर्दा सजातीय खोज्नुपर्छ । आफ्नो जातभन्दा तलको बिहे गरे त्यसबाट प्राप्त सन्तानको जात तल झर्छ । कुनै कुनै त जात नमिलेको छ भने बिहेपछि पुरुष या स्त्री दुवैको जात झर्छ । भान्सामा जान पाउँदैनन् । दलितसँग बिहे गरेपछि त आवतजावतै बन्द हुन्छ ।

हालै मैले एक जना ओलीपक्षीय नेतासँग कुराकानीको क्रममा महाधिवेशन प्रतिनिधिहरू मनोनीत गर्दा के के शर्तहरू छन् भनेर सोधेको थिएँ । उनले विना हिच्किचाहट उत्तर दिए, मनोनयनको पहिलो शर्त ओलीलाई मत दिने हुनुपर्छ ।

विद्या–ईश्वर समूहको हो भने जतिसुकै योग्य भए पनि, जस्तो योगदान र इतिहास भए पनि ऊ मनोनितको श्रेणीमा पर्दैन । ऊ एक तह जात झरेको सरह हो भन्ने यसको अर्थ हुन्थ्यो । पार्टीभित्र स्पष्टसँग विभेद हुर्काइएको छ । हामी र अरूहरू ।

वी एण्ड दे । असहमतहरूको राक्षसीकरण र परायाकरण । ओलीको हुनु पार्टी पक्षधर हुनु, फरक मत राख्नु पार्टी विरोधी हुनु । यो सन् २००१ मा जर्ज बुशले हाम्रो पक्षमा नआउनेहरू आतंककारीका पक्षधर हुन् भनेर घोषणा गरेको जस्तो अहंकारी शैली हो ।

पुरा कथाहरूमा सुन्दर कन्या छ भने दासीपुत्री भए पनि ब्राह्मण पुरुषले पत्नी स्वीकार गर्न हुन्छ भनेर उल्लेख छ । त्यसरी गरिएको बिहेबाट जन्मने सन्तानले जात पाउन सक्छ । नेपालका खसहरू बाहुनले जात दिएर क्षत्री बनेका हुन् । अर्थात् विद्या–ईश्वर समूहबाट कसैले ओली समूहमा प्रवेश गरेको सार्वजनिक घोषणा गर्छ भने उसले मनोनयनको आशा गर्न सक्छ । ब्राह्मणवादले देखाउने मुक्तिको मार्ग यही हो । विभीषण मार्ग । तत्कालीन माले र पछि एमालेमा रक्तशुद्धता र ब्राह्मणवादको यो प्रयोग २०४९ को गडबडी प्रकरणदेखि नै हुँदै आएको छ । त्यसको शिकार मौका अनुसार सबै भएका छन्, हुने गरेका छन् र भइरहने छन् ।

सामूहिकताको समाप्ति

कमरेड ओलीको संरक्षणमा ग्याङ अफ फाइभले गरेको अर्को काम सामूहिकताको अन्त्य हो । ५–६ जना मिलेर गर्ने निर्णय पनि सामूहिक भन्न सकिएला तर यो पार्टीको वैधानिक निर्णय प्रक्रिया बाहिरको कुरा हो । वैधानिक फोरममा बहस, छलफल र अल्पमत–बहुमतका आधारमा निर्णय गर्ने परिपाटीलाई मात्र सामूहिक निर्णय भनिन्छ; जनवादी अभ्यास मानिन्छ ।

कमरेड ओली नेतृत्वमा आएपछि सामूहिकताको परम्परालाई साउनको ठुटे हलो जस्तो बनाएर कान्लामा फालिएको जस्तो देखिन्छ । सामूहिकताको अभाव र व्यक्ति हावी हुँदा ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, विष्णु पौडेल, पीएस गुरुङ, योगेश भट्टराई र गोकर्ण विष्ट, रघुवीर महासेठ, छविलाल विक जस्ता नेताहरूको भूमिका गौण भएको छ । यिनीहरू ओलीको सेपमा परेर ठिम्मरिएका छन् ।

अध्यक्ष ओली र डिपस्टेटका मेम्बरहरूलाई विधि र विधान मातहत ल्याएर सामूहिकताको अभ्यास थाल्ने वित्तिकै यी सबैको शिर उठ्छ, माङ्गेना हुन्छ, स्याइ स्याइ हुन्छ, सायराम हुन्छ । पार्टीलाई बहुपदको सोपानमा लैजानु भन्दा महासचिव प्रमुख रहेको सचिवालयमा बदल्नु उपयुक्त हुन्छ । यसो भएमा सचिवालयका सदस्यका रूपमा गुरुङ, लिम्बू, आले, पुन, महासेठ, विक, परियार या यादव अनि महिला पुरुष सबै समान हैसियतका बनेर पार्टीका निर्णय प्रक्रियामा सहभागी हुन पाउँछन् । यसतर्फ महाधिवेशनको ध्यान जाओस् भन्ने मेरो शुभकामना छ ।

निर्णय प्रक्रियामा जबसम्म पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी भन्दा डिपस्टेट वर्चस्वशाली हुन्छ तबसम्म एकताबद्ध पार्टी निर्माण गर्न असम्भव हुन्छ । यसै पनि वैचारिक दिवालियापनको शिकार भएको एमालेलाई कमजोर सदस्यहरूको ग्याङले चलाउन थालेपछि यो धोद्रो हुँदै गएको छ ।

बाहिरबाट हेर्दा आजको एमालेको अर्को प्रमुख समस्या वैचारिक हो । विचारधारा सही नभएपछि अरू सबै गञ्जागोल हुनु स्वाभाविक हो । पहिले लेनिनवादबाट बाहिरियो पछि जबजबाट र विस्तारै मार्क्सवादबाट । यो अहिले न उदारवादको फ्रतिनिधि हो न समाजवादको । अर्को समस्या संगठनको जनवादीकरणको साटो नेतृत्वले लिएको आत्मकेन्द्रित व्यक्तिवाद हो ।

यस्तो व्यत्तिवादले अरूलाई समकक्षी र कमरेड देख्दैन, सहयोद्धा देख्दैन, आफूलाई विशिष्ट ठान्छ अरूलाई साधारण । मार्क्सवादको अभ्यास पनि छाडेको उदारवादी नैतिकतालाई पनि पालन नगरेको पार्टीमा नेता कार्यकर्ताका बीच समानता र कमरेड्ली सम्बन्ध हुँदैन प्याट्रोन क्लाइन्ट सम्बन्ध खोजिन्छ । असहमतिलाई सहज रूपमा लिइन्न या भक्त हुन्छ या शत्रु ।

हालै महाधिवेशन प्रतिनिधि चयनमा गरिएको षड्यन्त्रमूलक अभ्यासले एमाले कुनै पनि स्वीकृत नैतिक मानदण्ड (समाजवादी या उदारवादी) अपनाउँदैन भन्ने प्रमाणित गर्छ । कम्युनिष्ट विचारधारा अपनाए पार्टीलाई मार्क्सवादी (सर्वहारा) नैतिकताको बाटोमा हिंडाउनुपर्छ । लिवरल बाटो समाते बुर्जुवा नैतिकताको घोषित बाटोमा हिंडाउनु र सामन्तवादी नैतिकताको अन्धकारबाट मुक्त गर्नुपर्छ । अहिले एमालेको गति न बकुल्लाको चाल न हाँसको चाल, न सर्वहारा नैतिकता न बुर्जुवा नैतिकताको अवस्थामा छ ।

निर्णय प्रक्रियामा जबसम्म पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी भन्दा डिपस्टेट वर्चस्वशाली हुन्छ तबसम्म एकताबद्ध पार्टी निर्माण गर्न असम्भव हुन्छ । यसै पनि वैचारिक दिवालियापनको शिकार भएको नेकपा एमालेलाई कमजोर सदस्यहरूको ग्याङले चलाउन थालेपछि यो धोद्रो हुँदै गएको छ । मेरो शुभकामना छ कि एमालेको आसन्न महाधिवेशनका प्रतिनिधिहरूले गलत अभ्यासलाई सच्याएर पार्टीलाई सामूहिक नेतृत्व, समावेशिता र जनवादको बाटोमा हिंडाउने यत्न गरुन् ।

यसैमा नेकपा एमाले, त्यसका नेता कार्यकर्ता, नेपालको लोकतन्त्र र राष्ट्रिय हितहरूको प्रवर्धनको उज्यालो बाटो खुलाउने रहस्य लुकेको छ ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?