१९ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्री पदबाट बिदा भएर निर्वाचनमा होमिएका आफ्ना क्याबिनेटका मन्त्रीहरूबारे स्पष्टीकरण दिएकी छिन् । सोमबार राष्ट्रिय सभालाई पहिलो पटक सम्बोधन गर्न पुगेकी प्रधानमन्त्री कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे स्पष्ट पारेकी हुन् ।
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्बाट कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ता पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् ।
प्रधानमन्त्रीका अनुसार, उनीहरूले मन्त्री बन्नुअघि नै राजनीतिमा लाग्ने बताएका थिए । सोही अनुसार, आफूले बिदा गरेर पठाएको उनको भनाइ छ ।
‘नजानेहरू बसे, हामीलाई थाहा छ यसलाई इन्ट्रेस्ट छ भन्ने थाहा हुँदाहुँदै जेनजीको प्रेसरमा उनीहरू आएका हुन । आए गए । अहिले सम्पर्क छैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनीहरूले मात्रै चिया खाएर काम गरेका छन् ।’
साथै, उनीहरूलाई दोष नलगाउन पनि प्रधानमन्त्री कार्कीको आग्रह थियो ।
उनले थप प्रष्ट पार्दै भनिन्, ‘खासमा दोष लगाउने हो भने मलाई लगाउनुस्, उनीहरूलाई नलाउनुस् । किनभने मैले त्यतिखेर सरकार बनाउनैका लागि पनि भनेको थिएँ, जुन दिन तपाईंहरू जाने हो त्यो दिन बिदाइ गर्छु । तपाईंहरू जानुस् भनेको पनि हो । मलाई लाग्दैन कि उनीहरूले बेइमानी गरे भन्नु बेकार छ ।’
उनीहरूलाई त्यतिबेला मन्त्री बनाउन जेनजीहरूको ठूलो प्रेसर रहेको उनले बताइन् ।
‘उनीहरूको आफ्नो जीवन हो, उनीहरूको उमेर छ, उनीहरूको आफ्नो संस्कार छ । त्यसकारण मैले आज खुलाएँ कि मैले नै वचन दिएँ । जेनजीको प्रेसर थियो ल्याउनैपर्ने, उनीहरूको प्रेसर थियो हामी चाहेको बेलामा निस्केर जान्छौं भने । आजसम्म उनीहरूको कुनै सम्पर्क मन्त्रिपरिषद्सँग छैन,’ प्रधानमन्त्री कार्कीको प्रष्टोक्ति छ ।
प्रतिक्रिया 4