+

एन्फामा विधान विपरीत गतिविधि बढेको भन्दै उपाध्यक्ष खतिवडाको आपत्ति

२०८२ माघ  १९ गते १७:२३ २०८२ माघ १९ गते १७:२३
एन्फामा विधान विपरीत गतिविधि बढेको भन्दै उपाध्यक्ष खतिवडाको आपत्ति

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधान विपरीतका गतिविधि र बढ्दो बेथितिप्रति गम्भीर आपत्ति जनाउनुभयो।
  • खतिवडाले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बहुमतको आडमा विधानविपरीत निर्णय अघि बढाइरहेको आरोप लगाउनुभयो।
  • उपाध्यक्ष खतिवडाले एन्फाको निर्वाचन निर्देशिकाविपरीत जिल्ला निर्वाचन बेवास्ता गरिएको र अदालतको अन्तरिम आदेश पालना नगरिएको बताउनुभयो।

१९ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दीपक खतिवडाले संघभित्र विधान विपरीतका गतिविधि र बढ्दो बेथितिप्रति गम्भीर आपत्ति जनाएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले एन्फाको वर्तमान नेतृत्वले संस्थागत पद्धति र विधानको मर्मविपरीत काम गरिरहेको आरोप लगाए।

खतिवडाले आफूले लामो समयदेखि नेपाली फुटबलको विकासका लागि रचनात्मक सुझाव दिँदै आए पनि अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले बहुमतको आडमा विधानविपरीत निर्णय अघि बढाइरहेको बताए। पटक–पटक सचेत गराउँदा पनि सुनुवाइ नभएपछि सत्य तथ्य सार्वजनिक गर्न बाध्य भएर प्रेस मिट गर्नुपरेको उनको भनाइ छ।

उनले एन्फाले अघि सारेको ‘अर्ली इलेक्सन’ निर्वाचन निर्देशिकाविपरीत रहेको दाबी गरे। निर्देशिकाअनुसार केन्द्रको निर्वाचन अघि जिल्लास्तरको निर्वाचन अनिवार्य भए पनि त्यसलाई बेवास्ता गरिएको उनले बताए।

त्यस्तै, २०८१ वैशाख २६ गते काभ्रेको धुलिखेलमा सम्पन्न एन्फाको साधारण सभाले सदस्य संस्थाहरूको निर्वाचन प्रक्रिया पूरा गरेपछि मात्र केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने निर्णय गरेको स्मरण गराउँदै, सो निर्णय उल्ट्याउने प्रयास अवैधानिक र अलोकतान्त्रिक भएको उनको आरोप छ।

उपाध्यक्ष खतिवडाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र पाटन उच्च अदालतको निर्देशनसमेत पालना नगरिएको भन्दै चिन्ता व्यक्त गरे। अदालतले निर्वाचन प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा समेत नेतृत्वको अटेरीले नेपाली फुटबल फिफा प्रतिबन्धको जोखिममा परेको उनको भनाइ छ।

साथै, आफू निर्वाचित उपाध्यक्ष हुँदाहुँदै पनि आफ्ना सुझाव र आवाज दबाइने गरेको आरोप लगाउँदै एन्फामा नीति र विधिभन्दा व्यक्तिवादी निर्णय हाबी भएको बताए।

उपाध्यक्ष खतिवडाले नेपाली फुटबलको भविष्य, खेलाडीहरूको करिअर र समर्थकको भावना जोगाउन बेथितिविरुद्ध आवाज उठाउनु आफ्नो कर्तव्य भएको स्पष्ट पारे।

एन्फा एन्फामा बेथिति दीपक खतिवडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय