News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ।
- प्रतियोगितामा रत्नराज्य क्याम्पसले ९ स्वर्ण र ५ रजत पदकसहित प्रथम स्थान हासिल गरेको छ भने महेन्द्ररत्न क्याम्पस दोस्रो स्थानमा रहेको छ।
- प्रतियोगितामा ३८ आङ्गिक क्याम्पसका १,३६८ खेलाडी, १९० भन्दा बढी निर्णायक तथा प्राविधिक कर्मचारी र १०० भन्दा बढी स्वयंसेवक सहभागी भएका थिए।
१९ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजित त्रिवि उपकुलपति कप राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
माघ १४ देखि १८ गतेसम्म काठमाडौँमा सञ्चालन भएको प्रतियोगितामा रत्नराज्य क्याम्पस समग्रमा प्रथम भएको छ । समापन समारोह निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा रत्नराज्य क्याम्पसले ९ स्वर्ण र ५ रजत पदकसहित प्रथम स्थान हासिल गरेको हो । महेन्द्ररत्न क्याम्पस, ताहाचलले ५ स्वर्ण र ४ रजत पदकसहित दोस्रो स्थान प्राप्त गर्यो । विभिन्न क्याम्पसबीच भएको प्रतिस्पर्धाले त्रिवि स्तरको खेलकुदको क्षमता र सम्भावनालाई उजागर गरेको आयोजकले जनाएको छ ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष, नेपाल कराते महासंघका महासचिव तथा नेपाल कराते संघका अध्यक्ष दावा गुरुङले विजेता खेलाडी तथा टिमहरूलाई पदक, ट्रफी र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगितामा त्रिविका ३८ वटा आङ्गिक क्याम्पसको सहभागिता रहेको थियो । १,३६८ खेलाडी विद्यार्थी, १९० भन्दा बढी निर्णायक तथा प्राविधिक कर्मचारी, ३८ व्यवस्थापक र १०० भन्दा बढी स्वयंसेवकसहित कुल १,८५६ जनाको सहभागिता रहेको थियो ।
भलिबल, बास्केटबल (नयाँ विधा), एथलेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी पाँच खेल विधामा प्रतियोगिता आयोजना गरिएको थियो । खेलहरू जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, दशरथ रंगशाला, मर्लियोन जिम्नेजियम लाजिम्पाट, भूकम्प स्मृति डल्लु कभर्ड हल र लैनचौर कभर्ड हलमा सम्पन्न भएका थिए ।
समापन समारोहमा बोल्दै डा. पराजुलीले प्रतियोगिताले क्याम्पसस्तरमै खेलाडी पहिचान, नेतृत्व विकास र खेल अनुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको बताए । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले आगामी विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ मा त्रिविको प्रतिनिधित्व गर्नेछन् ।
प्रतिक्रिया 4