+
+
Shares

चुनावै चुनावको वर्ष जहाँ एआई क्लोनदेखि जातीय तनावसमेत देखियो

सन् २०२४ का संसारभर भएका निर्वाचनहरूले समान्य रूपमा के पुष्टि गर्छन् भने हामी लोकतन्त्रको ‘पोस्ट ट्रुथ युग’ मा प्रवेश गरेका छौं । एआईको मुख्य खतरा यसले एउटा झुटलाई विश्वास दिलाउनु मात्र होइन, बरु यसले सत्यको अस्तित्वलाई नै धरापमा पार्न सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते ८:०८

सन् २०२४ को वर्षलाई अनेक विशेषताले चिन्न सकिएला । तर त्यस वर्षलाई ‘सुपर इलेक्सन इयर’ अर्थात् महा-निर्वाचन वर्षको रूपमा मानिसहरूले चिन्ने छन् ।

त्यस समय विश्वका ६० भन्दा बढी देशका ४ अर्बभन्दा बढी मानिसहरू मतदानका लागि योग्य थिए। लोकतन्त्रको वैधानिकतालाई अझ व्यापक बनाउनुसँग यी सङ्ख्याहरूले अवश्य योगदान गरेका थिए । तर यो सँगसँगै हामीले सिक्काको अर्को पाटोलाई वेवास्ता गर्न सक्दैनौं ।

त्यो सिक्काको अर्को पाटो भनेको विशेषज्ञहरूले नाम दिएको विश्वव्यापी इन्फोडेमिक ( सूचनाको महामारी ) निर्वाचनको धरातलमा वास्तविक भएर अवतरित भयो । पहिलो पटक जेनेरेटिभ एआई एउटा सैद्धान्तिक खतराबाट हटेर राजनीतिक युद्धको मैदानमा एक तीव्र वेगको हतियारको रूपमा देखा पर्‍यो ।

उक्त खतरा यस सीमासम्म पुगेको थियो कि, जहाँ एउटा डीपफेकले नै चुनावी नतिजा उल्ट्याउने अनुमान सम्म गरिएको थियो । यो एआई एपोक्लिप्सको अर्को उदाहरण थियो । तर यस हदसम्मको अनुमान अनुसार नतिजा नदेखिए पनि एआईले ‘स्लो-ड्रिप’ (सुस्त तर निरन्तर) शैलीमा भ्रम फैलाएर मतदाताहरूको साझा यथार्थलाई विकृत भने बनाइदियो ।

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको चुनाव

लगभग एक दशक अघि नै ट्रम्पले फेसबुकबाट ५ करोडभन्दा बढी डेटाहरूको दुरुपयोग गरी आफ्नो पक्षमा सकारात्मक छवि निर्माण गर्न अल्गोरिदमको प्रयोग गरिएको थियो ।

तर, २०२४ को चुनाव भने योभन्दा भीषण रुपले प्रविधिको दुरूपयोग गरियो । एआईको प्रयोगबाट असत्य समाचारहरूको प्रसारण मात्र गरिएन, विद्यमान जातीय र राजनीतिक विभाजनहरूलाई थप गहिरो बनाउने काम समेत गरियो ।

एआई क्लोनहरूको व्यापक प्रयोग

सन् २०२४ को जनवरीमा, राष्ट्रपति जो बाइडेनको आवाजसँग हुबहु मिल्ने एआई-निर्मित ‘क्लोन’ आवाज प्रयोग गरी न्यू ह्याम्पशायरका करिब २५,००० मतदातालाई फोन गरियो ।

उक्त आवाजले बाइडेनको शैलीमा बोल्दै समर्थकहरूलाई ‘आफ्नो भोट नोभेम्बरको चुनावका लागि जोगाउन’ र प्राइमरी चुनावमा घरमै बस्न आग्रह गर्‍यो । यो अमेरिकी इतिहासमा प्रत्यक्ष मतदाताको विवेकमाथिको नियन्त्रणको लागि एआईको पहिलो उच्चस्तरीय प्रयोग थियो । संघीय सञ्चार आयोग (एफसीसी) ले तुरुन्तै रोबोकलमा एआई आवाजको प्रयोगलाई अवैध घोषणा गर्‍यो । तर, यसले ५०० डलरभन्दा कम खर्चमा ठूलोस्तरको गर्न सकिन्छ भन्ने नजिर स्थापना गरिदियो ।

जुलाई २०२४ मा, एउटा अत्यन्तै परिष्कृत एआईद्वारा निर्मित भिडियो सार्वजनिक भयो । जसमा कमला ह्यारिसको वास्तविक चुनावी विज्ञापनलाई तोडमोड गरिएको थियो ।

उक्त भिडियोमा उनको वास्तविक आवाजलाई एआईद्वारा बनाइएको नक्कली आवाजसँग प्रतिस्थापित थियो । यस भिडियोमा ह्यारिसले आफूलाई ‘विविधताको कोटाबाट नियुक्त भएको’ भनेको र ‘आफूलाई देश चलाउनेबारे केही पनि थाहा नभएको’ बताएको देखाइएको थियो ।

साथै, उक्त एआई आवाजले राष्ट्रपति बाइडेनको ‘स्मरणशक्ति कमजोर भएको’ कुरा बाहिर आएकाले मात्र आफू उम्मेदवार बनेको दाबी समेत गरेको थियो ।

एलन मस्कले एक्समा सेयर गरेपछि यो भिडियो व्यापक रूपमा फैलियो । कुनै स्पष्टीकरण आउनुअघि नै यसलाई १३ करोड भन्दा बढी पटक हेरिसकिएको थियो ।

यो भिडियो बनाउने क्रिएटर यूट्युबर ‘मिस्टर रेगन’ ले यसलाई एउटा व्यङ्ग्यको रूपमा उल्लेख गरेका थिए । तर आलोचकहरूकाअनुसार जब यो भिडियो कुनै चेतावनीविना ठूला व्यक्तिहरूद्वारा पुनः सेयर गरियो तब धेरै दर्शकहरूका लागि यो वास्तविक हो कि भ्रामक सूचना हो भनेर छुट्याउन असम्भव भएको थियो ।

फैलिएको जातीय प्रोपगाण्डा

एआईको प्रयोग जातीय प्रोपगाण्डाका लागि पनि प्रयोग गरिएको थियो । सामाजिक सञ्जालहरू एआई-निर्मित न्यून गुणस्तरका तर अधिक संख्याका तस्वीरहरूले भरिएका थिए ।

डोनाल्ड ट्रम्पलाई काला जातिका समर्थकहरूसँग हाँसिरहेको देखाइएको फेक तस्बिरहरू बनाइयो । यी तस्बिरहरूमा हातका औंलाहरू छ वटा हुने वा पृष्ठभूमि बिग्रिएको जस्ता एआईका त्रुटिहरू त थिए ।

यद्यपि तिनको उद्देश्य प्राविधिक रूपमा परिष्कृत हुनु भन्दापनि अल्पसंख्यक समूहहरूमा ट्रम्पको लोकप्रियता बढ्दैछ भन्ने भ्रमपूर्ण माहोल सिर्जना गर्नु थियो ।

त्यस्तैगरी आप्रवासीहरूलाईलाई नकारात्मक आलोकमा चित्रण गर्ने काम पनि एआइबाट प्रशस्त रुपमा भएको थियो ।

२० सेकेन्डको एउटा भिडियो जसमा हाइटीका एक आप्रवासीले जर्जियामा कमला ह्यारिसका लागि धेरै पटक मतदान गरेको झुटो दाबी गरिएको देखाइएको थियो ।

व्यापक रूपमा फैलाइएको यो भिडियो निर्वाचनको निष्पक्षतामाथि शङ्का उत्पन्न गराउने र जातीय तनाव भड्काउने एउटा बृहत् प्रयासको हिस्सा थियो ।

लायर्स डिभिडेन्ड

यस निर्वाचनमा एआइको सबैभन्दा हानिकारक प्रभावको रूपमा नक्कली समाचार मात्र थिएन । यसबाट साँचो समाचारलाई पनि झुटो भनेर खण्डन गर्ने लुपहोल पनि प्राप्त भएको थियो ।

दुवै प्रमुख दलहरूले ‘लायर्स डिभिडेन्ड’ को प्रयोग गरे जसमा राजनीतिज्ञहरूले आफ्ना विरुद्धका वास्तविक र नकारात्मक फुटेजहरूलाई एआई-निर्मित भन्दै पन्छिने मौका पाए ।

यसले जनतामा एउटा यस्तो निराशावादी सोच पैदा गरिदियो कि, यदि सबै कुरा नक्कली हुन सक्छ भने कुनै पनि जानकारीको सत्यतामा विश्वास गर्ने आधार नै रहेन ।

भारत: बृहत्‌स्तरको प्रयोगशाला

भारतको सन् २०२४ को आम निर्वाचन राजनीतिक एआईको प्रयोगको सन्दर्भमा विश्वकै सबैभन्दा ठूलो प्रयोग बन्यो । विशाल जनसंख्या र सक्रिय ह्वाट्सएप संस्कृतिका कारण प्रोपागान्डाको स्तर अभूतपूर्व देखियो ।

राजनीतिक दलका ‘आईटी सेल’हरूले विपक्षी नेताहरूले नबोलेका कुराहरू बोलेको देखाउने डिपफेक भिडियोहरू बनाए ।

अत्यन्तै संवेदनशील जातीय र सामाजिक मुद्दाहरूमा पनि डिपफेक भिडियोहरू बनाइए । भाजपाका नेता एवम् गृहमन्त्री अमित शाहको भिडियोलाई तोडरोड गरी उनी पिछडिएका जातिहरूको आरक्षण (कोटा) समाप्त गर्न चाहन्छन् भन्ने देखाइयो ।

दक्षिण भारतमा डीएमके पार्टीले सन् २०१८ मा निधन भएका नेता एम. करुणानिधिको एआई अवतार प्रयोग गरी उनका छोरा एम.के. स्टालिनको पक्षमा समर्थन जनाउन लगायो । पार्टीले यसलाई भावनात्मक सम्बन्धको संज्ञा त दियो । तर यसले मृतकको सहमतिको हक र यस्ता डिजिटल प्रेतहरूलाई साम्प्रदायिक प्रोपागान्डामा प्रयोग गर्न सकिने नैतिक प्रश्नहरू खडा गर्‍यो ।

एआईलाई धार्मिक तनाव बढाउन पनि प्रयोग गरियो । प्रमुख मुस्लिम नेताहरूले हिन्दू विरोधी टिप्पणी गरिरहेको जस्तो सुनिने डिपफेक अडियोहरू स्थानीय र्‍यालीहरूमा फैलाइयो । यी अडियोहरूलाई एआई-डिटेक्टरले चिन्न नसक्ने गरी कम गुणस्तरको बनाएर ग्रामीण मतदाताहरूलाई लक्षित गरिएको थियो ।

भारतका केही मुस्लिम र धर्मनिरपेक्ष नेताहरूले ‘हिन्दूहरूको आरक्षण खोसेर मुस्लिमलाई दिने’ बोलेको भनी दाबी गरिएका अडियो क्लिपहरू ह्वाट्सएप ग्रुपहरूमा भाइरल बनाइएका थिए ।

पाकिस्तानको चुनावमा एआई राज्य प्रायोजित भ्रमको साधन

पाकिस्तानमा फेब्रुअरी २०२४ को चुनावमा एआई राजनीतिक अस्तित्व रक्षा र राज्य-प्रायोजित भ्रम दुवैको हतियार बन्यो ।

पूर्व प्रधानमन्त्री इमरान खान जेलमा र सञ्चारमाध्यममा प्रतिबन्धित हुँदा पनि उनको पार्टी पीटीआईले एआई भ्वाइस-क्लोनिङ प्रविधि प्रयोग गरी युट्युब र भर्चुअल र्‍यालीहरूमा उनको भाषणहरू प्रस्तुत गर्‍यो। यसले उनलाई भौतिक रूपमा अनुपस्थित भएर पनि चुनावी मैदानमा ‘जीवित’ राख्यो ।

यसको विपरीत चुनावको अघिल्लो रात खानले चुनाव बहिष्कार गर्न आह्वान गरेको एउटा डिपफेक अडियो सार्वजनिक गरियो । यो अन्तिम समयमा गरिएको षड्यन्त्र थियो जसको उद्देश्य उनका समर्थकहरूलाई अलमलमा पार्नु थियो ।

स्लोभाकियामा ४८ घन्टे टर्निंङप्वाइन्ट

स्लोभाकियामा २०२४ मा सम्पन्न चुनाव एआईको प्रयोगबाट मतदाताहरूको मनस्थिति कसरी सानो समय अवधिमै परिवर्तन गर्न सकिन्छ भन्ने कुराको डरलाग्दो उदाहरण बन्यो ।

चुनावको ठीक दुई दिन अगाडिको मौन अवधिमा स्लोभकियामा एउटा एआई निर्मित अडियो सामग्री सार्वजनिक भयो ।

अडियोमा उदारवादी दलका नेता मिचाल सिमेक्काले चुनाव धाँधली गर्ने र वियरको मूल्य बढाउनेबारे छलफल गरिरहेको जस्तो सुनिन्थ्यो ।

मौन अवधिका कारण सिमेक्काले कानुनी रूपमा टेलिभिजन वा पत्रपत्रिकामा यसको खण्डन गर्न पाएनन् । अडियो टेलिग्राम र फेसबुकमा भाइरल भयो ।

चुनावी सर्वेक्षणमा अगाडि देखिएको उनको पार्टीले अन्ततः झिनो अन्तरले पराजय भोग्यो । एआईकै कारण पराजय भएको पुष्टि गर्न नसकिए तापनि यसले चुनावी अन्तिम ४८ घण्टामा उम्मेदवारलाई कसरी असहाय बनाउन सकिन्छ भन्ने कुरालाई भने प्रष्ट रूपमा प्रस्तुत गरेको थियो ।

बेलायतको निर्वाचनमा एआई उम्मेदवार

जुलाई २०२४ को बेलायतको चुनावमा एआई पर्दा पछाडिबाट सिधै मतपत्रमै पुग्यो । मानौं कि, राजनीति राजनीतिज्ञहरूको लागि मात्र छाड्नु अत्यन्त गम्भीर कुरा हो भन्ने उद्दरणलाई सिद्ध गर्नका लागि एआई उम्मेदवार चुनावमा खडा भएको थियो ।

स्टिभ इन्डाकोट नामका एक उम्मेदवार ‘एआई स्टिभ’ को रूपमा चुनाव लडे । उनको प्रतिनिधित्व एक एआई एभटारले गर्थ्यो जसले मतदाताहरूसँग २४ सै घण्टा अन्तर्क्रिया गर्थ्यो। उसले मतदाताहरूको प्रतिक्रियाका आधारमा संसदमा भोट हाल्ने वाचा गरेको थियो ।

बेलायत सरकारले रुस र चीनमा आधारित ‘बोट-फार्म’ हरूको अनुसन्धान गर्‍यो, जसले एआई प्रयोग गरी अध्यागमनका विषयमा उग्र टिप्पणीहरू फैलाएका थिए । यी अकाउन्टहरूले जातीय विभेदका कथाहरूलाई बढवा दिँदै देशमा नागरिक अशान्ति हुन लागेको भ्रम सिर्जना गरेका थिए ।

पोस्ट ट्रुथ युग र निर्वाचन

सन् २०२४ का संसारभर भएका निर्वाचनहरूले समान्य रूपमा के पुष्टि गर्छन् भने हामी लोकतन्त्रको ‘पोस्ट ट्रुथ युग’ मा प्रवेश गरेका छौं । एआईको मुख्य खतरा यसले एउटा झुटलाई विश्वास दिलाउनु मात्र होइन, बरु यसले सत्यको अस्तित्वलाई नै धरापमा पार्न सक्छ । जब मतदाताहरू साँचो र झुटो छुट्याउन नसकेर क्लान्त हुन्छन्, तब उनीहरू कि त आफ्नै पुरानो पूर्वाग्रहमा अडिन्छन् वा लोकतान्त्रिक प्रक्रियाबाटै अलग हुन्छन् ।

यी चुनावहरूको सर्सर्ती हेर्ने हो भने भ्रामक सूचनाविरुद्धको लडाईं अब ‘तथ्य-जाँच’ बाट ‘प्रि-बन्किङ’ अर्थात् षड्यन्त्रका रणनीतिहरूका बारेमा पहिल्यै सुचित गराउने तर्फ मोडिएको छ । (एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?