+
+
Shares

पुल बनेको आठ महिना बितिसक्दा निर्माण व्यवसायीले भुक्तानी पाएनन्

पनाहा खोलामा निर्माण गरिएको यो पुल धुर्कोट गाउँपालिकाको दक्षिणी क्षेत्रका नयाँँगाउँ, पिपलधारा तथा उत्तरी क्षेत्रका वस्तु र बरबोट क्षेत्रका नागरिकलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ ।

अनिल खत्री अनिल खत्री
२०८२ माघ २१ गते ८:४६

२१ माघ, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–१ र वडा नम्बर–४ लाई जोड्ने पनाहा खोला पक्की पुल बनेर सञ्चालनमा आएको आठ महिना बितिसक्दा निर्माण व्यवसायीले भुक्तानी नपाएको गुनासो गरेका छन् ।

४५ मिटर लामो उक्त पक्की पुल धुर्कोट गाउँपालिकाबाट ठेक्का भएर निर्माण गरिएको हो । पुल निर्माणको जिम्मा श्रेष्ठ अञ्जना जेभी, तम्घासले लिएको थियो ।

कुल तीन करोड ९७ लाख २६ हजार १११ रुपैयाँ लागतमा निर्माण गरिएको पुल गत जेठ महिनामै सम्पन्न भइसकेको छ । पुल निर्माण सम्पन्न भएपछि हाल सो पुलबाट सवारी साधनको नियमित आवत–जावतसमेत भइरहेको छ ।

तर, प्रयोगमा आइसकेको पुलको ९५ लाख रुपैयाँभन्दा बढी भुक्तानी नपाएको श्रेष्ठ–अञ्जना जेभीका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।

‘काम सकिएर पुल सञ्चालनमा आइसकेको आठ महिना भन्दा बढी भयो । भुक्तानीका लागि आवश्यक सबै प्रक्रिया पूरा गरिसक्यौँ,’ श्रेष्ठले भने,‘तर अहिलेसम्म रकम नपाउँदा व्यवसाय सञ्चालनमै समस्या आएको छ ।’ समयमै भुक्तानी नहुँदा आर्थिक दायित्व व्यवस्थापन गर्न कठिनाइ भइरहेको उनले बताए ।

धुर्कोट गाउँपालिकाका योजना अधिकृत खड्कबहादुर थापाले पनि पुल निर्माण सम्पन्न भए पनि भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरे । संघीय सरकारबाट प्राप्त हुनुपर्ने रकम समयमै नआएकाले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न नसकिएको उनले बताए ।

‘संघीय सरकारबाट बजेट निकासा ढिला हुँदा समस्या आएको हो,’ थापाले भने ‘भुक्तानीका लागि विभिन्न समयमा संघीय सरकारलाई पत्राचार तथा जानकारी गराउने काम भइरहेको छ ।’ संघबााट रकम प्राप्त भए तुरुन्तै भुक्तानी गरिने उनले जानकारी दिए ।

पनाहा खोलामा निर्माण गरिएको यो पुल धुर्कोट गाउँपालिकाको दक्षिणी क्षेत्रका नयाँँगाउँ, पिपलधारा तथा उत्तरी क्षेत्रका वस्तु र बरबोट क्षेत्रका नागरिकलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?