+
+
Shares

विद्युतीय सवारीमा ‘लुकेका ह्यान्डल’ प्रतिबन्ध लगाउने चीन विश्वकै पहिलो देश

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते ११:५९

२२ माघ, काठमाडौं । चीनले विद्युतीय सवारीसाधन (ईभी) मा लोकप्रिय मानिने ‘लुकेका ढोकाका ह्यान्डल’ प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो निर्णयसँगै चीन यस्तो कदम चाल्ने विश्वकै पहिलो प्रमुख अटोमोबाइल बजार बनेको छ ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको नयाँ नियमअनुसार, अबदेखि गाडीको ‘टेलगेट’ (डिक्की) बाहेक सबै ढोकाहरूमा अनिवार्य रूपमा मेकानिकल (यान्त्रिक) रिलिज सिस्टम हुनुपर्नेछ ।

पछिल्ला वर्षहरूमा भएका केही गम्भीर दुर्घटनाहरूमा विद्युत् आपूर्ति बन्द हुँदा इलेक्ट्रोनिक ढोका नखुलेको र यात्रुहरू भित्रै थुनिएका घटनाहरू सार्वजनिक भएपछि सरकारले यो कडा कदम चालेको हो। विशेष गरी एलन मस्कको टेस्लाले लोकप्रिय बनाएको यो ‘रिट्र्याक्टेबल’ डिजाइनले सुरक्षा जोखिम निम्त्याएको भन्दै नियामकहरूले चासो देखाएका थिए।

यो नियम १ जनवरी २०२७ देखि पूर्ण रूपमा लागू हुनेछ। पहिले नै स्वीकृति पाइसकेका र बजारमा रहेका मोडलहरूलाई डिजाइन परिवर्तन गर्न १ जनवरी २०२९ सम्मको समय दिइएको छ।

नयाँ नियमअनुसार, बाहिरी ह्यान्डलमा कम्तीमा ६ से.मी. × २ से.मी. × २.५ से.मी. आकारको खाली ठाउँ हुनुपर्नेछ, जसले गर्दा आपतकालीन समयमा हातले ह्यान्डल समातेर सजिलै ढोका खोल्न सकियोस्।

कुन-कुन गाडी प्रभावित हुनेछन् ?

यो नियमबाट टेस्लाको मोडल वाई र मोडल ३, बीएमडब्लुको आईएक्स-३ का साथै चिनियाँ ब्रान्डका कैयौँ प्रिमियम ईभीहरू प्रभावित हुनेछन्। ओम्डियाका वरिष्ठ विश्लेषक क्रिस लिउका अनुसार, चीनको यो निर्णयले विश्वभरका कार निर्माताहरूलाई महँगो ‘रि-डिजाइन’ गर्न बाध्य पार्नेछ।

चीनले यो सुरक्षा मापदण्ड औपचारिक रूपमा लागू गरेपछि अब युरोप र अन्य देशका नियामकहरूले पनि यसलाई पछ्याउन सक्ने अनुमान गरिएको छ।

टेस्लाका ढोका ह्यान्डलहरू अमेरिकामा पनि अनुसन्धानको घेरामा छन्। गत वर्ष अमेरिकी राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले टेस्लाका इलेक्ट्रोनिक ह्यान्डलहरूले काम नगरेको उजुरीका आधारमा अनुसन्धान सुरु गरेको थियो। कतिपय घटनामा गाडीभित्र फसेका बालबालिकालाई निकाल्न झ्याल फुटाउनुपरेको रिपोर्टहरू समेत सार्वजनिक भएका थिए।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?