+
+
Shares

हुम्लामा ४८ सालदेखि मत फेरबदल

उम्मेदवारहरू मत माग्दै घरदैलोमा पुगेका छन् । तर हुम्लाका मतदातामा चुनावप्रति खासै उत्साह देखिएको छैन ।

नरजन तामाङ नरजन तामाङ
२०८२ माघ २२ गते १६:१५
अघिल्लो निर्वाचनमा हेलिकप्टरबाट हुम्ला सदरमुकमा सिमकोट पुर्‍याइएको मतपेटिका । तस्वीर : रासस

२२ माघ, हुम्ला । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनले हुम्लालाई पनि छोइसकेको छ । उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो पुग्न थालेका छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा विशेषगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जस्ता पुराना दलहरू चुनावी अभियानमा सक्रिय भएका छन् । यी तीनै दलका उम्मेदवारहरूले सिमकोट गाउँपालिका-५, को तल्लो गाउँ चौपाडीबाट चुनावी अभियान सुरु गरेका छन् ।

यता, आफूलाई वैकल्पिक शक्ति बताउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि जनताको घरदैलोमा पुग्न थालेको छ । रास्वपा हुम्लाकी उम्मेदवार टासी ल्हाजोमले दक्षिण हुम्लाको ताजाँकोटबाट आफ्नो पक्षमा मत माग्दै चुनावी अभियान थालेकी छिन् ।

उम्मेदवारहरू मत माग्दै घरदैलोमा पुगे पनि हुम्लाका मतदातामा भने चुनावप्रति खासै उत्साह देखिएको छैन ।

मत फेरबदल

२०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएका संसदीय निर्वाचनहरूमा हुम्ली जनताले पटकपटक मत परिवर्तन गर्दै आएका छन् ।

हुम्लामा संयुक्त जनमोर्चा नेपालका उम्मेदवारदेखि स्वतन्त्रसम्म अनि नेपाली कांग्रेसदेखि माओेवादी र एमालेसम्मले चुनाव जितेका छन्।

बहुदल प्राप्तिपछिको पहिलो आम निर्वाचन २०४८ मा हुम्लाबाट संयुक्त जनमोर्चा नेपालका उम्मेदवार छक्कबहादुर लामा ४ हजार ६९५ मत ल्याएर निर्वाचित भएका थिए ।

उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका चक्रबहादुर शाही ४ हजार ६८७ मत ल्याउँदै ८ मतले पराजित भएका थिए ।

यसैगरी २०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका चक्रबहादुर शाही ७ हजार ८८७ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार अंगबहादुर लामाले ६ हजार ९९० मत पाएका थिए । नेकपा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७१९ मत पाएका थिए।

दुई पटक पराजित भएका एमालेका बोगटीले २०५६ सालमा भने बाजी मारे । उनी ११ हजार ८७१ मतसहित निर्वाचित भएका थिए ।

यो निर्वाचनमा कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवार बनेका चक्रबहादुर शाहीले ७ हजार ६६२ मत प्राप्त गरे । राष्ट्रिय जनमोर्चाका सोनाम गुरुङले ९६२ मत प्राप्त गरेका थिए।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका कर्णजित बुढाथोकी १३ हजार ३१८ मत ल्याई निर्वाचित भए।

उनका निकटतम प्रतिदन्द्वी नेपाली कांग्रेसका जीवनबहादुर शाहीले ५ हजार १९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २९० मत ल्याएका थिए।

२०७४ सालमा भने हुम्लाबाट स्वतन्त्र उम्मेदार छक्कबहादुर लामाले जिते । ८ हजार ४९१ मत ल्याउँदै लामा निर्वाचित हुँदा निकटतम प्रतिदन्द्वी कांग्रेसका मंगलबहादुर शाहीले ८ हजार ४४४ ल्याएका थिए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भयो । जसमा माओवादी केन्द्रका छिरिङ दम्डुल लामा (कार्चेन) १४ हजार ३७१ मत ल्याएर निर्वाचित भए । यो निर्वाचनमा एमालेका दल रावलले ९ हजार ५१६ मत ल्याएका थिए ।

गत निर्वाचनमा समानुपातिकतर्फ कांग्रेसले ८ हजार १९२, माओवादी केन्द्रले ७ हजार ३६३, नेकपा एमालेले ५ हजार ९०७ र एकीकृत समाजवादीले १०२१ मत पाएका थिए ।

कसले मार्ला बाजी ?

प्रत्येक निर्वाचनमा मत फेरबदल गर्दै आएका हुम्लाका जनताले आगामी निर्वाचनमा कसलाई मत देलान् भन्ने सर्वत्र चासो छ ।

२१ फागुनको निर्वाचनमा हुम्लामा कांग्रेस, एमाले र नेकपालाई बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । तर ती दललाई रास्वपा र प्रलोपाले चुनौती दिएका छन् ।

कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा. दीपेन्द्र रोकाया र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार छन् ।

यसैगरी प्रगतिशील प्रजातन्त्र पार्टी (प्रलोपा) ले जटिल कार्की, नेत्रविकम चन्द निकट माओवादीले कुम्भ बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीले छक्क बुढालाई उम्मेदवार बनाएको छ ।

हुम्लाको प्रदेश (क) मा १९ हजार ४१९ र प्रदेश (ख) मा १४ हजार ९५३ मतदाता रहेका छन् ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?