+
+
Shares

‘भ्यालेन्टाइन्स डे’ मा साढे ४ लाख गुलाफको माग, ७० प्रतिशत भारतकै भर

बजारमा गुलाफको माग उच्च रहे पनि प्रतिकूल मौसमका कारण आन्तरिक उत्पादनले नधान्दा यस वर्ष पनि नेपाल गुलाफमा परनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा फेब्रुअरी ७ देखि १४ सम्म प्रेम दिवस सप्ताहका लागि करिब ४ लाख ५० हजार स्टिम गुलाफको माग हुने अनुमान छ।
  • जाडो मौसमका कारण आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मात्र माग धान्ने हुँदा बाँकी ७० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपर्ने छ।
  • प्रेम दिवस सप्ताह अवधिमा गुलाफको व्यावसायिक कारोबार करिब ५ करोड ६२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ।

२२ माघ, काठमाडौं । प्रेमको उत्सव मानिने ‘प्रणय दिवस’ (भ्यालेन्टाइन्स डे) सप्ताहका लागि नेपालमा करिब साढे ४ लाख स्टिम गुलाफको माग हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार फेब्रुअरी ७ देखि १४ सम्म चल्ने प्रेम दिवस सप्ताहमा ४ लाख ५० हजार स्टिम गुलाफ (डच रोज) खपत हुने अनुमान छ ।

बजारमा गुलाफको माग उच्च रहे पनि प्रतिकूल मौसमका कारण आन्तरिक उत्पादनले नधान्दा यस वर्ष पनि नेपाल गुलाफमा परनिर्भर हुनुपर्ने बाध्यता देखिएको छ ।

जाडो मौसममा गुलाफको फूल फुल्ने प्रक्रिया ढिलो हुने र उत्पादन कम हुने भएकाले आन्तरिक उत्पादनले बजारको करिब ३० प्रतिशत मागमात्र धान्ने फ्यानले जनाएको छ । बाँकी ७० प्रतिशत माग पूरा गर्न भारत लगायत देशबाट गुलाफ आयात गर्नुपर्ने अवस्था छ ।

फ्यान महासचिव हिरामणि शर्माका अनुसार नेपाल सामान्य अवस्थामा गुलाफमा आत्मनिर्भर उन्मुख भए पनि फेब्रुअरीको जाडोमा माग धान्न नसकिने स्थिति छ ।

‘भ्यालेन्टाइन्स डेबाहेक अरू बेला हामी आत्मनिर्भर नै छौं,’ महासचिव शर्माले भने,  ‘तर, यो एक साताको अत्यधिक माग र जाडोले उत्पादन घट्ने हुँदा आयातको विकल्प छैन ।’

मौसमी प्रतिकूलता जितेर बाह्रै महिना पूर्ण आत्मनिर्भर हुन ‘हाइटेक ग्रिनहाउस’ प्रविधि आवश्यक छ, जुन अहिलेको अवस्थामा पर्याप्त नभएको उनी बताउँछन् ।

उनका अनुसार वैज्ञानिक र उच्च प्रविधियुक्त खेती प्रणाली नभएसम्म यो सिजनमा आयात रोक्न कठिन छ ।

मूल्यवृद्धि : एउटै गुलाफलाई १५० रुपैयाँसम्म

आयातित गुलाफमा निर्भर हुनुपर्दा र अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेका कारण यस वर्ष उपभोक्ताले गुलाफका लागि केही महँगो तिर्नुपर्ने छ ।

फ्यानका अनुसार यस वर्ष प्रतिस्टिम गुलाफको उपभोक्ता मूल्य १ सयदेखि १ सय ५० रुपैयाँसम्म पुग्ने अनुमान छ । गत वर्ष यो मूल्य ९० देखि १ सय २० रुपैयाँ हाराहारी थियो ।

महासचिव शर्माले मूल्यवृद्धिको मुख्य कारण भारतमा बढेको मूल्यलाई औँल्याएका छन् । ‘समयक्रमसँगै वस्तुको मूल्य बढ्नु स्वाभाविक हो, तर यसपालि भारतमै पनि गुलाफको मूल्य करिब २० प्रतिशतले बढेको छ,’ शर्माले भने, ‘उतैबाट महँगोमा आएपछि यहाँ पनि मूल्य बढ्ने भयो, साथै सजावट र प्याकेजिङमा हुने भ्यालु एडले पसलपिच्छे मूल्यमा केही फरक पर्न सक्छ ।’

तथापि, आयातित र नेपाली गुलाफको गुणस्तरमा भने खासै फरक नरहेको फ्यानको दाबी छ ।

साढे ५ करोड बढीको कारोबार हुने

बजारमा गुलाफको सहज आपूर्ति भए प्रेम दिवस सप्ताह अवधिभरि करिब ५ करोड ६२ लाख रुपैयाँ बराबर व्यावसायिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

गत वर्ष सोही अवधिमा करिब ४ लाख २५ हजार स्टिम गुलाफको कारोबार भएको थियो । तर, कारोबारको ७० प्रतिशत हिस्सा आयातमा निर्भर रहेकाले ठूलो रकम विदेशिने निश्चित छ ।

यसको अर्थ, प्रणय दिवस अवधिमा हुने कुल कारोबारमध्ये करिब ३ करोड ९३ लाख ४० हजार रुपैयाँ बराबर कारोबार आयातित (भारतीय) गुलाफको हुनेछ ।

काठमाडौं उपत्यकामा सर्वाधिक खपत

कुल मागमध्ये ६० प्रतिशत अर्थात् २ लाख ७० हजार स्टिम गुलाफ काठमाडौं उपत्यकामा खपत हुनेछ । बाँकी ४० प्रतिशत (१ लाख ८० हजार स्टिम) पोखरा, धरान, चितवन, विराटनगर लगायत सहरमा खपत हुने अनुमान छ । सामान्य दिनमा भने नेपालमा दैनिक ८ देखि १२ हजार स्टिम गुलाफको माग रहने गरेको छ ।

हाल नेपालमा काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) सहित चितवन, काभ्रेपलाञ्चोक र रुपन्देहीमा गुलाफको व्यावसायिक खेती हुँदै आएको छ भने अन्य जिल्लामा पनि खेती विस्तार हुने क्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?