२३ माघ, काठमाडौं । उम्मेदवारका अघिपछि हिडिँरहेका समर्थकहरू आफ्नो मोबाइल दायाँबायाँ हल्लाइरहेका छन् । उनीहरू मोबाइलबाटै घण्टीको आवाज गाउँघरका मतदातासम्मलाई सुनाइरहेका छन् । सामाजिक सञ्जालमा भाइरल बनिरहेका यी दृश्य राष्ट्रिय स्वतन्त्र पार्टीसँग जोडिन्छ ।
केही हप्तादेखि चलेको यो ट्रेन्डले व्यापकता पाइरहेको छ । त्यसको कारण हो, घण्टी डट वेबसाइट ।
रास्वपा शुभचिन्तक कसैले बनाएको यो साइट गत २३ जनवरीमा रजिस्ट्रर भएको देखिन्छ । एक वर्षको लागि लिइएको यो डोमेन खोल्दा निलो पृष्ठभूमिमा सेतो गोलाकार भित्र घण्टी छ । निलो रङको घण्टी छुनासाथ आवाज आउँछ । जब दायाँबायाँ मोबाइल फोन हल्लाइन्छ, बज्न थाल्छ– टिङ् टिङ् टिङ् …।
यसरी आउने आवाज वास्तविक घण्टी बजाए जस्तै सुनिन्छ । घण्टी चुनाव चिह्न भएका रास्वपा कार्यकर्ता यही देखाउँदै मत मागिरहेका छन् । उम्मेदवारका अघिपछि हिँड्दा यही फोनको डिजिटल घण्टी बजाइरहेको दृश्य समाजिक सञ्जालमा देखिन्छ । रास्वपाका नेता/कार्यकर्ता जहाँ पुग्छन्, घण्टी बजाउन छाड्दैनन् । यसमा थप सहज बनाएको छ, घण्टी डट वेबसाइटले ।
डिजिटल भूगोलदेखि मतदाताको घरसम्म चुनावी अभियान चलाइरहेका दलहरूबीच अरोप–प्रत्यारोप पनि कम छैन । जस्तो, नेपाली कांग्रेसका सभापति गगन थापामाथि पछिल्लो समय सबैभन्दा धेरै प्रहार हुने शब्द हो– बाख्रा । उनले बाख्रा पालनको लागि अनुदान लिएर पैसा खाएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहलाई विपक्षीहरूले आधार बनाइरहेका छन् ।
सञ्जालभरि बाख्रा/मटनकाजी उपनामले निन्दा हुन थालेपछि थापाले पटकपटक यसबारे दिएको स्पष्टीकरणले कुनै काम गरेन । अफवाह फैलन छाडेन । अझ चुनावी रन्कोमा उनीमाथिको यो ट्यागलाई झन् छाड्ने कुरै भएन । त्यसैले गगन थापाका समर्थकले यसैलाई ‘राजनीतिक पूँजी’मा विकास गर्ने गरी व्याङ्यात्मक उपाय सोचेको देखिन्छ ।
त्यसैले गत १६ जनवरीमा गगन थापा समर्थकले डोमेन लिन्छन्– मटन डट वर्ल्ड । एक वर्षको लागि रजिस्ट्रर गरिएको उक्त डोमेन त्यसपछि २१ जनवरीमा अपडेट भएको छ । उक्त साइट खोल्दा ‘मटनकाजीलाई भोट किन दिने ?’ भन्दै थापाका एजेन्डा राखिएको थियो । त्यस्तै, अंग्रेजीमा गोट (G.O.A.T) लाई यसकारण मत दिनुहोस् भन्दै थापाका विगतका इतिहास र भविष्यका योजना राखिएको थियो ।
यद्यपि, अहिले यो साइट अपडेट भएको छ । त्यसअघि राखिएका कुराहरू हटाएर नयाँ आवरणमा खुल्छ । अहिले तपाईंले मटन डल वर्ल्ड खोल्दा ‘नयाँ नेपालको लागि गगन थापा’ लेखिएको छ । गगन थापाको व्यक्तिगत विवरण राखिएको छ । अरू विषयमा नयाँ कन्टेन्ट हालिए पनि ‘ह्वाइ गगन थापा इज द गोट (G.O.A.T)’ यथावत छ । तर यसमा गोटलाई अर्थ्याइएको छ– ग्रेटेस्ट अफ अल टाइम ।
गगन थापाको प्रचारको लागि बनाइएको यो वेबसाइटको ट्याब–टाइटलमा पनि लेखिएको छ– गोट अफ नेपाल, गगन थापा । यसरी थापाका समर्थकले उनीमाथि आइरहने बाख्रा उपनामलाई पनि व्याङ्यात्मक शैलीमा ‘राजनीतिक पूँजी’मै रुपान्तरण गर्न खोजेको देखिन्छ ।
अन्य उम्मेदवारका तुलनामा पृथक शैली अपनाएका देखिन्छन्, गगन थापा निकट मानिएका काठमाडौं–४ का उम्मेदवार सचिन तिमिल्सेना । अन्य प्रचारप्रसारमा उस्तै शेली देखिए पनि उनले केही दिन यता चलाइरहेको क्याम्पेन हो– सचिनसँग संवाद ।
उक्त कार्यक्रमअन्तर्गत सचिन हरेक साँझ आफ्ना क्षेत्रका मतदातासँग फोन संवाद गर्छन् । मतदाताका गुनासा सुन्छन्, प्रश्नको जवाफ दिन्छन् । आफ्नो कार्यालयबाट यस्तो अभियान चलाइरहेका सचिनले मतदाताका सबै कुरा डायरीमा नोट गर्छन् र त्यसलाई सम्बोधन गर्ने वाचा गर्छन् ।

काठमाडौं–५ का उम्मेदवार रास्वपा सस्मित पोखरेल पनि सिर्जनशील देखिन्छन् । जस्तो, अन्य उम्मेदवारभन्दा फरक देखिने उनको भ्लग हो । कतै यात्रा गरिरहँदा सस्मितले भ्लगमा जसरी कुरा गर्ने, आफ्ना आइडिया सुनाउने गरेको देखिन्छ । अझ रोचक, भ्लगमा उनलाई प्रश्न सोध्ने उनकै श्रीमती सुस्मिता अधिकारी हुन् ।
जस्तो, कतै जाँदा गाडीमा सुस्मिताले सस्मितलाई सोध्छिन्– तिमीले अरू सांसदले नगरेको भन्दा के फरक गर्छौ ?
जवाफमा सस्मित भन्छन्– म सांसद भइसकेपछि जे विधेयक संसद्मा आउँछ, राम्रो एउटा लिगल टिम बनाएर काम गर्छु । दफादफा केलाएर हरेक लुपहोलबारे अध्ययन गर्छु । एउटा सांसदको भूमिका के हुनुपर्छ र त्यसको गरिमा कस्तो हुन्छ भन्ने उदाहरण म देखाउन चाहन्छु ।’
यसरी पोखरेल दम्पतीले विभिन्न विषयमा कुरा गर्दै गाडी भित्रै भ्लग बनाउँछन् र सामाजिक सञ्जालमा पोस्ट गर्छन् । उनीहरूको यो तरिकालाई मतदाता र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि रुचाएको देखिन्छ ।
यस्ता पृथक प्रचारप्रसारमा छुटाउनै नहुने अर्को नाम हो, महावीर पुन । म्याग्दीबाट स्वतन्त्र उम्मेदवार रहेका उनी ‘मत देऊ’ भन्दै जाँदैनन् । ‘मन लागे देऊ, मभन्दा अर्को राम्रो भए उसैलाई देऊ’ भन्दै मतदाताका घरदैलोमा जान्छन् । ताक परे आफ्नो आत्मवृत्तान्तले भरिएको किताब नै बेच्न भ्याउँछन् । पुनले घोषणा नै गरेका छन्, ‘म मत माग्न आउँदा किताब पनि किन्न पाइन्छ ।’
महावीर पुनको यो शैली सामाजिक सञ्जालमा पनि चर्चामा छ । सामान्य खादा र मालामा गाउँगाउँ गएका उनले सिधै भन्छन्, ‘म केही वाचा गर्दिनँ होइ । तर म सकेको गर्छु । मैले मेरो फाइदाको लागि आजसम्म केही काम गरेको छैन ।’
यसरी पुन बोल्दै गर्दा मतदाता केही भन्न खोजे जस्ता सुनिन्छन् । त्यसपछि आफूलाई अरूसँग तुलना नगर्न भन्छन् । ‘एक–एक वटा पर्चा समात । राख । आफ्नो साथीभाइलाई पनि देऊ । र, मलाई विश्वास लाग्छ भने भोट देऊ,’ पुनले भन्ने गरेका छन् ।
यसरी उम्मेदवारहरूले आफ्नो शैली पृथक देखाइरहँदा प्रविधिको प्रयोग पनि व्यापक गरेका छन् । यतिसम्म कि, भिडियोग्राफी वा अन्य प्रयोजनमा प्रयोग हुने ड्रोनबाट पनि अनेक गतिविधि गरेका देखिन्छन् । जस्तो, शालिक पन्थीले पाँच दिनअघि एउटा भिडियो पोस्ट गरेका छन्, जसमा नेपाली कांग्रेसको झन्डा ड्रोनमा बाँधेर उडाइएको छ । हावामा रुख चिह्न भएको सेतो झन्डा ड्रोनको सहायतामा उडाइएको उक्त दृश्य अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
रास्वपाको तरिका पनि उस्तै छ । यसका समर्थकले त अझ ड्रोनमै घण्टी बाँधेर उडाएका छन् । झन्डा पनि उसैगरी उडाएका छन् । हुँदाहुँदा आफ्नो बाइकमा घन्टी नै झुन्ड्याएर हिँडेको दृश्य समाजिक सञ्जालमा देखिन्छ ।
अर्को शिव भिडियो मिक्सिङ भन्ने टिकटक ह्यान्डलबाट भएको पोस्टमा त ड्रोनमाथि बालेनको फोटो बाँधिएको छ । काँधमा झन्डा ओडेर नमस्ते गरिरहेको बालेनको फोटो बाँधेर ड्रोन उडाइएको उक्त भिडियोको स्क्रिनमा लेखिएको छ– अबकी बार, बालेन सरकार ।
यसरी ड्रोनदेखि रिल्ससम्म, वेबसाइटदेखि साइबर समूहसम्म बनाएर नेता/कार्यकर्ता चुनावी क्याम्पेनमा व्यस्त छन् । युवाहरूले यस्ता प्रचारबाजी शैली रोजिरहँदा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भने पुरानै शैलीमा पृथक शैली अपनाइरहेका देखिन्छन् ।
कोइरालाले आफ्नो क्षेत्रका नेता, कार्यकर्ता तथा मतदाता सबैलाई पत्र लेख्न भ्याए । पार्टीको क्रियाशील सदस्यसहित करिब ६ हजार ५०० जनालाई छुट्टाछुट्टै पत्र पठाए । पत्रमा उनले विगतमा आफूलाई सहयोग गरेकोमा धन्यवाद दिए । तर आफूले भने न्याय गर्न नसकेको भन्दै क्षमा पनि मागे ।
‘मलाई नि:स्वार्थ भावबाट यसरी राष्ट्रिय जिम्मेवारीमा पठाउँदा मैले यस क्षेत्रका आफ्ना प्यारा दाजुभाइ, दिदीबहिनीहरूप्रति न्याय गर्न सकेको छैन भने म अन्तस्करणबाट क्षमाप्रार्थी छु,’ उनले पत्रमा भनेका छन् ।
सँगसँगै यस पटकको चुनावमा आफूलाई पुन: विजयी गराउन अनुरोध गरेका कोइरालाको यो शैलीलाई पनि निकै मन पराइएको देखिन्छ । यसरी नेताहरू चुनाव नजिकिएसँगै क्षमताले भ्याएसम्म पृथक शैली अपनाएर मत माग्न व्यस्त देखिन्छन् ।
प्रतिक्रिया 4