+
+
Shares

महिला उम्मेदवारी खुम्च्याएर देश बदल्न हिंडेका पार्टी

दलहरू यति निरङ्कुश बन्दै गइरहेका छन् कि, उनीहरूले चुनौती लिने अवसरबाट पनि महिलाहरूलाई बञ्चित गरिदिए ।

बिनु सुवेदी बिनु सुवेदी
२०८२ माघ २२ गते २२:२०

२२ माघ, काठमाडौं । फागुन २१ गते हुने निर्वाचनमा कुल मतदाता मध्ये ९२ लाख ४० हजार १ सय ३१ जना महिला छन् । मतदाता पुरूषको संख्या छ- ९६ लाख ६३ हजार ३ सय ३८ । कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ४३ मध्ये करिब ४९ प्रतिशत महिला र ५१ प्रतिशत पुरूष मतदाता छन् ।

सामान्यतः मतदाताकै अनुपातमा उम्मेदवारी हुनपर्ने हो । तर, पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवारको संख्या हेर्ने हो उदेक लाग्दो छ । प्रत्यक्षतर्फ ३ हजार ८८ जना पुरूष उम्मेदवार हुँदा महिला उम्मेदवारको संख्या भने ३ सय ८८ मात्रै छ । यसमा पनि स्वतन्त्र उम्मेदवारको संख्या १५७ छ ।

ठूला राजनीतिक दलहरूको उम्मेदवारी भने न्यून छ । आन्दोलनका मोर्चाहरूमा, नेताहरूका भाषणहरूमा जहिले पनि अग्रपंङ्तिमा हुने महिला अवसरमा त पछि पारिएकै छन् ।

तर हाम्रा दलहरू यति निरङ्कुश बन्दै गइरहेका छन् कि उनीहरूले चुनौति लिने अवसरबाट पनि महिलाहरूलाई बञ्चित गरिदिए । फलस्वरूप नेपाली कांग्रेसले सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा जम्मा ११ जना महिलालाई उम्मेदवारी दियो ।

नेकपा एमालेले जम्मा १० र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जम्मा ११ ठाउँमा उम्मेदवारी दियो । महिलाप्रति अनुदार देखिनेमा आफूलाई नयाँ र वैकल्पिक राजनीतिक धारको मियो मान्ने रास्वपा पनि फरक देखिएन ।

रास्वपाले १६ जना महिला उम्मेदवारहरूलाई टिकट दिएको छ । महिला नेताहरू नै नभएर या भएका पनि प्रभावशाली नभएर दलहरूले महिलालाई उम्मेदवार नबनाएका होइनन् ।

Unveiling the ongoing debate surrounding women in politics - OnlineKhabar English News

दलका शीर्ष नेताहरूमा भएको पितृसत्तात्मक चिन्तनका कारण महिलाहरूले पाउनै पर्ने स्पेस पनि नपाएका हुन् । समाजशास्त्री डा. मीना पौडेल दलहरू राजनीतिक रूपले लोकतान्त्रिक भए पनि लैंगिक रूपमा लोकतान्त्रिक हुन नसक्नुको परिणाम निर्वाचनहरूमा देखिने बताउँछिन् ।

‘मुख्य कुरा त पार्टीहरू लैंगिक संवेदनशील छैनन्,’ पौडेलले भनिन्, ‘महिलाहरूलाई दिने भन्ने बित्तिकै दोस्रो खर्चिलो छ र तेस्रो हिंस्रक पनि छ ।’ दलहरू महिलालाई उम्मेदवारी दिने भन्ने बित्तिकै हच्किन्छन् । उनीहरूले महिलालाई उम्मेदवार बनाउने भन्ने बित्तिकै सबैभन्दा पहिले त हार्ने ठाउँहरु नै खोजेका उदाहरण बग्रेल्ती छन् ।

सांगठनिक आधार बलियो भएको र जित्ने निश्चित भएको क्षेत्रमा पार्टीका शीर्ष नेताहरू नै उम्मेदवार बन्ने र लगभग हार्ने टुंगो भएका क्षेत्रमा महिला उम्मेदवार उठाउने चलन पुराना दलमा मात्रै होइन नयाँ दलमा पनि ब्यापक छ । नेकपाका नेता पम्फा भुसालका अनुसार कतिपय अवस्थामा महिला आफैं पनि अनिच्छुक हुन्छन् भने कतिपय अवस्थामा उनीहरूलाई दलका शीर्ष नेताहरूले टिकट दिन इच्छा देखाउँदैनन् ।

समाजशास्त्री डा. मीना पौडेल

चुनाव एकदमै खर्चिलो पनि छ । धेरैले अहिले उठ्न पनि खोज्दैनन्,’ उनले भनिन्, ‘दोस्रो रोल्पा, रूकुमजस्तो जित्ने ठाउँमा टिकट पाउन सक्दैनन् ।’

उनले प्रत्यक्षमा उठेर रिस्क लिनभन्दा समानुपातिक पनि पाइहाल्छु भन्ने धारणाले पनि महिला उम्मेदवार हुन कठिन भइरहेको बताइन् । तर दलहरूको अवस्था ठ्याक्कै उनले भनेको जस्तै पनि होइन । जीवनका उर्वर समय राजनीतिमै बिताएका जो कोहीले पनि आफूलाई जनताको बीचमा परीक्षण गर्न धक मान्ने भन्ने हुँदैन ।

एउटा निर्वाचन क्षेत्रमा एकजना सक्षम महिला नहुने भन्ने पनि हुँदैन । एमालेको भगिनी संगठन अखिल नेपाल महिला संघले प्रत्यक्ष निर्वाचन लड्न सक्ने भन्दै १६५ जना महिला नेताको सूचि पार्टी सचिवालयलाई बुझाएको पनि थियो । तर त्यही पार्टीले जम्मा १२ जनालाई प्रत्यक्ष उम्मेदवार बनायो । पार्टीकै सचिव पदमा अर्याल र अनेमसंघका अध्यक्ष टुका हमाल स्वयंले पनि प्रत्यक्ष भन्दा समानुपातिकको सजिलो बाटो रोजे । उसो त अहिलेको निर्वाचन प्रणाली नै खर्चिलो छ । निर्वाचन लड्दा जिते पनि हारेपनि उम्मेदवारले लाखदेखि करोडसम्मको ऋणको भारी बोक्नै पर्छ । यति धेरै पैसा खर्च गर्न सक्ने सामार्थ्य महिलामा हुँदैन ।

‘निर्वाचन एकदमै खर्चिलो छ । महिला उम्मेदवारहरूले घडेरी बेचेर वा भैंसी बेचेर चुनाव लड्न सक्ने अवस्था पनि छैनन,’ समाजशास्त्री डा. मीना पौडेलले भनिन्, ‘दोस्रो खर्चिलोमात्रै हैन, हिंस्रक पनि छ ।’ यद्यपी यी कारणहरू पुरक कारणमात्रै भएको पौडेलको विश्षलेषण छ । दलहरू संघीयता, धर्म निरपेक्षता,मानवअधिकारजस्ता विषयमा लोकतान्त्रिक देखिए पनि लैंगिक रूपमा भने लोकतान्त्रिक नदेखिएको उनले बताइन् ।

जित अनिश्चित भएपछि बल्ल उम्मेदवारी निश्चित

दलहरूले एक त कम महिलालाई उम्मेदवार बनाएका छन् । दोस्रो उनीहरूले महिलालाई टिकट दिएको कुनै पनि त्यस्तो निर्वाचन क्षेत्र छैन जहाँ पार्टीको पकड बलियो होस् । प्रमुख राजनीतिक दलहरूले तेस्रो पनि बदमासी गरेका छन्, उनीहरूले अर्को राजनीतिक दलका शीर्ष नेता चुनावी प्रतिष्पर्धा गरेको ठाउँमा महिलालाई उम्मेदवार तय गरेका छन् ।

विघटित प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये मात्र ११ जना महिलाहरूलाई संसदीय याताका लागि उम्मेदवार बनाएको छ ।

एमालेले देशभर १२ जना महिलालाई चुनावी प्रतिष्पर्धाका लागि अवसर दिँदा नेकपाले ११ जना महिलालाई मात्रै दलका तर्फबाट उम्मेदवार बनाएको छ । रास्वपाका उम्मेदवार पनि १६ जनामात्रै छन् ।

कांग्रेसले कोशी प्रदेशबाट झापा–२ मा सरिता प्रसाईं र झापा–५ मा मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ । मधेश प्रदेशबाट कांग्रेसका तर्फबाट महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादवले टिकट पाएका छन् ।

बागमती प्रदेशबाट काठमाडौं– ८ र ९ बाट क्रमशः सपना राजभण्डारी र नानु बास्तोला उम्मेदवार बनेका छन् ।यस्तै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङले टिकट पाएका छन् । उपाध्याय निवर्तमान सहमहामन्त्री हुन भने थिङ विघटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक थिइन् ।कांग्रेसले चितवन–२ बाट मीनाकुमारी खरेल, रूकुम पूर्व (लुम्बिनी प्रदेश) बाट कुसुमदेवी थापामगर र दैलेख–१ (कर्णाली)बाट बासना थापालाई टिकट दिएको छ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा विजयी एकमात्र महिला सांसद सीता गुरूङलाई भने कांग्रेस यसपल्ट दिएन । कांग्रेसमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट कुनै पनि महिलालाई उम्मेदवार नै बनाएन ।

यस्तै एमालेले सुनसरी–३ मा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापालाई उम्मेदवार बनाएको छ । एमालेबाट धनुषा–३ का लागि जुलीकुमारी महतो, बारा–३ का लागि ज्वालाकुमारी साह, पर्सा–२ का लागि रिमाकुमारी यादव र तनहुँ–१ का लागि भगवती न्यौपाने चुनावमा प्रतिष्पर्धा गर्दैछन् ।

एमालेबाटै बाग्लुङ–२ मा मञ्जु शर्मा चालिसे, बर्दिया–२ मा विमला विकको उम्मेदवारी परेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेकपामा पनि संसदीय निर्वाचनका लागि पुरूष उम्मेदवारहरूसँग प्रतिष्पर्धा गर्ने अवसरमात्र ११ जना महिलाले टिकट पाएका छन् ।

Women in politics: Redefining representation and empowering others - OnlineKhabar English News

नेकपाले झापा–२ बाट धर्मशीला चापागाईं, संखुवासभाबाट सरिता खड्का थापा, सुनसरी–२ बाट रामकुमारी चौधरी र सप्तरी–४ बाट रुबी कर्णलाई उम्मेदवार बनाएको छ ।

यस्तै रौतहट–३ मा पुनम देवी, काठमाडौं–१ मा मेनका भण्डारी, काठमाडौं–५ मा कल्पना शर्मा र चितवन–३ मा रेणु दाहाल पनि नेकपाबाट उम्मेदवार बनेका छन् । मनाङमा यशोदा सुवेदी गुरूङ, नवलपरासी (पश्चिम)– १ मा डा. सिन्धु जलेशा र कञ्चनपुर–३ मा बिना मगरलाई पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् ।

नयाँ र वैकल्पिक धारको राजनीति गरिरहेको बताउने रास्वपाले पनि प्रत्यक्षतर्फ जम्मा १६ महिला उम्मेदवार बनाएको छ ।

रास्वपाले पूर्व उपसभामुख इन्दिरा रानामगरलाई झापा–२ बाट उम्मेदवार बनाएको छ भने झापा–१ बाट यसअघि समानुपातिक सांसद रहेकी १ निशा डाँगीलाई उम्मेदवार बनाइएको छ ।

रास्वपाबाट सुनसरी–१ मा सरिन तामाङ , मोरङ–५ मा आशा झा र मोरङ ६ मा रुविना आचार्यलाई रास्वपाले उम्मेदवार भएका छन् ।

यस्तै सप्तरी–१ मा पुष्पा चौधरी, धनुषा–१ मा किशोरी साह, महोत्तरी ४ मा गौरीकुमारी यादव र सर्लाही–१ मा नितिमा कार्की उम्मेदवार भएका छन् । सामाजिक अभियन्ता आशिका तामाङ धादिङ–१ बाट प्रतिस्पर्धी बनेकी छन् ।

काठमाडौं–१ मा रञ्जु दर्शना उम्मेदवार बनिन् । समानुपातिकतर्फ उम्मेदवारको सूचीबाट हटाएर उनलाई प्रत्यक्षको उम्मेदवार बनाइएको छ । गत निर्वाचनमा काठमाडौं–२ मा निर्वाचित सोविता गौतमले चितवन–२ बाट उम्मेदवार बनेकी छिन् । यस्तै कास्की–३ विना गुरूङ उम्मेदवार भएकी छिन् ।

यस्तै, हुम्लामा टासी ल्हाजोम र जुम्लामा विनिता कठायत उम्मेदवार बनेका छन् । वातावरणको क्षेत्रमा कार्यरत टासीको नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्षमा उठाइएको हो ।

विघटित संसदमा समानुपातिक सांसद रहेकी कठायत प्रत्यक्षमा उठेकी छन् यस्तै कैलाली–१ बाट कोमल ज्ञवाली उम्मेदवार बनेकी छिन् । यी कुनै पनि निर्वाचन क्षेत्र सांगठनिक र राजनीतिक हिसाबले ती दलहरूका लागि बलियो क्षेत्र होइनन् ।

‘बदलिएको’ कांग्रेसले नबदलेको मति

नेपाली कांग्रेसले माघ ४ गते विशेष महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्‍यो । सभापतिमा गगनकुमार थापा निर्वाचित भएपछि उनले पार्टीको लेटरप्याडमा माघ ९ गते पहिलो विज्ञप्ति निकाले ‘बदल्यौं कांग्रेस बदल्छौं देश ।’

तर यस्तो संकल्प र विज्ञप्ती निकाल्दा उनले कांग्रेस बदल्न साझेदार बनेका महिलाहरूलाई बिर्सिए । देश बदल्न महिला साझेदार हुनुपर्छ भन्ने पनि बिर्सिए । नयाँ कांग्रेस बनाउने गगन थापाको संकल्पमा कुल २ हजार ४ सय ८८ हस्ताक्षरकर्तामध्ये ७५० जना महिला थिए ।

बदलिएको कांग्रेसका सभापति थापाले पनि महिला उम्मेदवार बनाउन कञ्जुस्याँई गरे । त्यतिमात्रै होइन, प्रतिष्पर्धी दलहरू नेकपा एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षहरू उम्मेदवार भएको ठाउँमा महिलालाई टिकट दियो । कांग्रेसले पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा-५ मा मन्धरा चिमरिया, रास्वपा अध्यक्ष रवि लामिछाने उम्मेदवार रहेका चितवन-३ मा मीना खरेल र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको रूकुम पूर्वमा कुसुमकुमारी थापा मगरलाई उम्मेदवार बनायो । यसले महिलालाई हेर्ने दृष्टिमा खोट रहेको पुष्टि हुन्छ ।

यद्यपी कांग्रेस प्रवक्ता देवराज चालिसे भने समयको चापका कारण धेरै महिलाई उम्मेदवार बनाउन नसकिएको दाबी गर्छन् । ‘हामीले महिला उम्मेदवार बढाउने अधिकतम कोसिस गरेका हौं । तर एकैछिनमा हुँदो रहेनछ । लामो प्रोसेस गर्न पर्ने रहेछ,’ चालिसेले भने, कतिपय ठाउँमा पुरूष साथीहरू पनि उदार हुनुभएन । कतिपय ठाउँमा महिला नेता अनिच्छुक पनि हुनुभयो । तर अर्को पटकदेखि हामीले यो कमजोरी हटाउनेछौं ।’

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?