+
+
Shares

पाटन अस्पताललाई स्वास्थ्य बीमाको रकम सरकारले तिर्न नसके हामी तिर्छौं : मेयर महर्जन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २३ गते १४:४६

२३ माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले सो रकम तिर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको बताए ।

मेयर महर्जनले कथं कदाचित भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने बताए । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पिएको खण्डमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पारे ।

‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर । बीमाको बारेमा कुरा गर्दा मन्त्रीज्युसँग रिंगटा लागे लागे जस्तो भयो । कर्थ कदाचित यो स्वास्थ्य केन्द्र नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली मैले खानुपर्ने रहेछ,’ मेयर महर्जनले भने, ‘पाटन हस्पिटललाई गर्नुपर्ने भुक्तानी समयमै गरिदिनुस् । उहाँहरूको समस्या परिरहेको छ । कथं कदाचित नेपाल सरकारले अहिलेको निमित्त ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर नेपाल सरकारले एउटा पत्र दियो भने म चाहीँ भुक्तानी गरिदिन्छु । जे पर्ला पर्ला ।’

मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिए ।

‘पाटन अस्पतालकै सुझाव र सल्लाह बमोजिमको फ्यासालिटीहरू इन्स्टल गरेको एउटा अर्को स्वास्थ्य केन्द्र बनाइरहेका छौँ । निकट भविष्यमै खोल्न गइरहेका छौं । त्यो खोलिसकेपछिको अवस्थामा राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत हामीले धेरै राम्रो सेवा प्रवाह गर्नसक्छौँ,’ उनले भने, ‘यो मुलुकको ७५३ वटा स्थानीय पालिकाहरूमध्येमा ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर जुन काम अघि बढाएका छौँ, यो सम्पूर्ण पालिकाका लागि एउटा असल अभ्यास हुन गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?