२४ माघ, स्याङ्जा । स्याङ्जामा क्रियाशील पत्रकारहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वासयोग्य बनाउन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले सदरमुकाममा आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूले जिम्मेवार र तथ्यपरक समाचार सम्प्रेषणमार्फत निर्वाचन सफल बनाउन सहयोग गर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको उल्लेख गरे । “प्रतिनिधिसभा निर्वाचन निष्पक्ष र पारदर्शी बनाउन पत्रकारहरू पूर्ण रूपमा आचारसंहितामा बाँधिनेछौं’, उनले भने ।
मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले पत्रकारमार्फत प्रवाह हुने सूचना नागरिकका लागि अत्यन्त विश्वासिलो हुने भन्दै सही र सन्तुलित सूचनाको अपेक्षा व्यक्त गरे । सबै पक्षको सहकार्य भएमा मात्र निर्वाचन सभ्य र सफल हुने उनको भनाइ थियो ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शान्तिपूर्ण र भयरहित निर्वाचन सम्पन्न गर्न पत्रकारको भूमिका निर्णायक हुने बताए । प्रशासन र सञ्चारकर्मीबीचको सहकार्यले निर्वाचन प्रक्रिया अझ सहज हुने उनको धारणा थियो ।
छलफलमा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत ऋषि पौडेल, निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदी, प्रहरी प्रमुख दधिराम न्यौपाने, पत्रकार महासंघ स्याङ्जाका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन आचारसंहिता २०८२ मा उल्लेखित व्यवस्थाहरूको पूर्ण पालना गर्दै स्वतन्त्र, निष्पक्ष र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा गरी २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर १ मा एक स्वतन्त्रसहित १२ जना र क्षेत्र नम्बर २ मा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।
जिल्लामा कुल २ लाख ४८ हजार ८१६ मतदाता रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १ लाख ३० हजार ८८६ र निर्वाचन क्षेत्र नं २ मा १ लाख १७ हजार ९३० मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार पुरुष मतदाता १ लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य समूहका एक जना मतदाता छन् । स्याङ्जामा १९९ मतदानस्थलअन्तर्गत ३२२ मतदान केन्द्रबाट मतदान हुने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया 4