+
+
Shares

खोटाङमा बिहे भोज खाएका बेहुला-बेहुलीसहित १०० जना बढी बिरामी

भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेका छन् ।

दमन राई दमन राई
२०८२ माघ २४ गते २३:०४

२४ माघ, खोटाङ । खोटाङमा बिहेको भोज खाएकाहरू बिरामी परेका छन् । जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका करिब साढे एक सय जना बिरामी परेका हुन् ।

भोज खाएपछि ‘फुडपोइजन’ भएको आशंका छ । बिरामी परेका स्थानीयको दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचारको प्रबन्ध मिलाइएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।

माघ २१ गते विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका हुन् । भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने समस्या देखिएको छ ।

बेहुला र बेहुलीसमेत बिरामी परेका छन् । बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय र जनप्रतिनिधिको टोली खटिएका छन् ।

बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधि सहितको जनशक्ति मगाइएको उपाध्यक्ष खड्काले बताए । उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको प्रवन्ध मिलाएको हो ।

गाउँपालिकाका अनुसार भोज खाएका जति सबै स्थानीय बिरामी परेका छन् । बिरामी परेकामध्ये केही गम्भीर रहेका छन् ।

स्वास्थ्यमा समस्या आएका स्थानीय उपचारका लागि आउने र जानेक्रम अहिले पनि जारी छ । धेरैजसो बिरामी उपचारपछि घर फर्किएका छन् ।

३५ जनाको अहिले पनि स्लाइनपानी, जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको छ । उपाध्यक्ष खड्काका अनुसार भोज खाएर फर्किएका उदयपुर, काठमाडौं लगायतका पाहुना समेत बिरामी परेको खबर आएको छ ।

‘फुडपोइजन’को कारण पत्ता लगाउनका लागि प्रदेशबाट ‘स्याम्पल’ संकलन गर्न टोली मगाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?