२५ माघ, सिरहा । सिरहामा स्थानीय तहका जनप्रतिनिधिले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ । लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी र लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले सरकारी गाडी प्रयोग गरी आफ्नै पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचार-प्रसार तथा मत माग्ने कार्यमा संलग्न भएको आरोप लागेको हो ।
यस विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले सम्बन्धित मेयर र गाउँपालिका अध्यक्षलाई पत्राचार गरेर सोध्ने बताएका छन् ।
स्थानीय रञ्जित यादवका अनुसार लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी स. १ झ ५१० नम्बरको सरकारी गाडी प्रयोग गरी चुनावी सभामा सहभागी भएका थिए । चौधरीले सरकारी गाडी प्रयोग गरी नेपाली कांग्रेसका सिरहा क्षेत्र–१ का उम्मेदवार रामसुन्दर चौधरीलाई मतदान अपिल गरेका थिए ।
त्यसैगरी, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष ठाकुरले पनि स. १ झ ५०६ नम्बरको सरकारी गाडी प्रयोग गरी लक्ष्मीपुर पतारी गाउँपालिका–५ सितापुरमा आयोजित चुनावी कार्यक्रममा सहभागिता जनाएका थिए । तर अध्यक्ष ठाकुर आफ्नै पालिकाभित्रै नेपाली कांग्रेसको प्रचारमा सहभागी भएका हुन् ।
निर्वाचन आचारसंहिताले चुनावी कार्यक्रममा सरकारी सवारीसाधन प्रयोग गर्न रोक लगाएको छ । निर्वाचन आचारसंहिताको परिच्छेद ३, दफा ५ (क) को उपदफा (४) अनुसार स्थानीय तहका पदाधिकारीहरूले आफू बहाल रहेको स्थानीय तहबाहेक अन्य स्थानीय तहमा मात्र पार्टीको प्रचारमा संलग्न हुनसक्ने व्यवस्था छ ।
मेयर चौधरीले भने- सरकारी गाडी नचढेर कुन गाडी चढ्ने ?
यस विषयमा सोधिएको प्रश्नमा नगर प्रमुख चौधरीले पार्टीको प्रचार नभई मेयरको कामका लागि गएको दाबी गरेका छन् । तर कार्यक्रममा पार्टीका उम्मेदवारको पक्षमा मत मागिरहेको दृश्य सार्वजनिक भएका छन् ।
अनलाइनखबरकर्मीले सरकारी गाडी प्रयोग गरेर उम्मेदवारको प्रचार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न गर्दा नगर प्रमुख चौधरीले, मेयर सरकारी गाडी नचढेर कुन गाडी चढेर जान्छ ? भन्ने प्रतिक्रिया दिएका थिए । साथै मन्त्री कार्यक्रम जाँदा सरकारी गाडी चढ्दैन र ? भन्दै उनले प्रतिप्रश्नसमेत गरेका छन् ।\
अध्यक्ष ठाकुरले भने- आजदेखि त्यस्तो गल्ती हुनेछैन
यता, लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरले कार्यक्रमस्थलमा पुगेको स्वीकार गरे पनि प्रचार-प्रसारमा संलग्न नभएको दाबी गरेका छन् । उनले भने, ‘कहिलेकाहीँ पत्रकार साथीहरूले व्यवहारिक रूपमा पनि बुझिदिनुपर्छ । आचारसंहिता विपरीत काम भएको हो, तर आजदेखि त्यस्तो गल्ती हुने छैन ।’
यस विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले राजनीतिक वा पार्टीका कुनै पनि कार्यक्रममा सरकारी गाडी प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयबाट सूचना जारी गरिसकिएको जानकारी दिए ।
सहायक प्रजिअ भन्छन्- सम्बन्धित मेयर र अध्यक्षलाई पत्र काटिन्छ
सूचना जारी हुँदाहुँदै पनि आचारसंहिता उल्लंघन भएको विषयमा पत्राचार गरेर सोधिने उनले बताए । उनले भने, ‘आचारसंहिता विपरीत कार्य भएको छ । सम्बन्धित मेयर र अध्यक्षलाई पत्र काटिन्छ । त्यसको आधारमा अनुगमन गरी प्रतिवेदन पेश गरिन्छ र निर्वाचन आचारसंहिता ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।’
बरालले निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सबैलाई आग्रहसमेत गरेका छन् ।
प्रतिक्रिया 4