नेपाली कांग्रेस र नेकपा एमालेको रिसले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड‘को योजनामा मुलुक जलेको भनेर नेपाली कम्युनिस्ट पार्टीकै नेता वर्षमान पुनले बोलेको दाबीसहित एउटा तस्बिरसहितको पोस्ट फेसबुकमा फैलिएको छ।
तर हामीले गरेको तथ्य जाँचमा नेपाली कम्युनिस्ट पार्टीका नेता पुनको अभिव्यक्तिलाई तोडमोड गरेर भ्रम फैलाएको पुष्टि भएको छ।
के हो दाबी ?
१४ हजार फलोअर्स रहेको निर्मला रोकाय रेग्मी नामका फेसबुक प्रयोगकर्ताले फेब्रुअरी ४ मा एउटा पोस्ट गरेकी छिन्। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनको फोटो रहेको पोस्टमा पहिलो पटक सत्य बोलेको लेखिएको छ।
फोटोमा उनले कांग्रेस र एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाएको र अहिले पनि जेन्जी भन्दै हिँडेको भनेर उल्लेख छ।
यो तथ्य जाँच गर्ने समयसम्ममा यो पोस्टमा ३१० पटक रियाक्ट भएको छ भने ४१ पटक कमेन्ट र ३३ पटक सेयर भएको छ ।
हेर्नुहोस् निर्मला रोकाय रेग्मी नाम गरेका फेसबुक प्रयोगकर्ताले गरेको पोस्टको स्क्रिन सट

निर्मला रोकाय रेग्मीले गरेको पोस्टको ओरिजिनल लिङ्क यहाँ छ भने अर्काइभ लिङ्क यहाँ छ ।
के हो तथ्य ?
यो तथ्य जाँच गर्नुभन्दा पहिले हामीले निर्मला रोकाय रेग्मीको फेसबुक पोस्टलाई राम्रोसँग नियालेर हेर्यौँ। ग्राफिक्सको शीर्ष भागमा २०८२ साल माघ १५ गते बिहीबार लेखिएको छ ।
वर्षमान पुनभन्दा थोरै तल अरू कसैको लोगो छोपिएको देखिन्छ । ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले‘ लाइन एउटा फन्टमा लेखिएको छ भने ‘को रिसले प्रचण्डको योजनामा हो, अहिले पनि जेनजी भन्दै हिँडिरहेका छन्‘ लाइन अर्को फन्टमा लेखिएको छ।
त्यसपछि हामीले भाइरल पोस्टको ग्राफिक्सलाई गुगल रिभर्स इमेज सर्च गरेर हेर्यौँ। त्यसको नतिजामा ७६ हजार फलोअर्स रहेको बिहानी अनलाइनखबर नामको फेसबुक पेजमा जनवरी २९ को दिन वर्षमान पुनको भनाई तस्बिरसहित पोस्ट भएको भेटियो ।
यो पोस्टमा बिहानी अनलाइन खबरको लोगो स्पष्टसँग देखिने गरी राखिएको देखिन्छ । वर्षमान पुनको नाम लेखिएको भन्दा अलि तल लेखिएको छ, ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन् ।‘
स्क्रिनसट हेर्नुहोस्

बिहानी अनलाइन खबर पेजको ओरिजिनल लिङ्क यहाँ छ भने अर्काइभ लिङ्क यहाँ छ ।
अहिले भाइरल भएको निर्मला रोकाय रेग्मीको फेसबुक पोस्ट र बिहानी अनलाइन खबर नामक पेजमा भएको पोस्ट तुलना गर्दा यस्तो देखियो ।
हामीले त्यो पोस्टलाई मात्रै विश्वास गरेर निष्कर्षमा पुग्न सकेनौँ । ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन्‘ भनेर वर्षमान पुनले बोलेको कुरा समाचारको रूपमा प्रकाशित छ कि छैन भनेर यही शीर्षकलाई ‘की वर्ड‘ बनाएर गुगल एडभान्स सर्च गरेर खोज्यौँ । नतिजामा माघ १२ गते सोमबार शिलापत्र डटकममा ठ्याक्कै यही शीर्षकमा समाचार प्रकाशित भएको भेटियो ।
शिलापत्रले प्रकाशित गरेको समाचारको स्क्रिन सर्ट हेर्नुहोस्

शिलापत्रको ओरिजिनल लिङ्क यहाँ छ भने अर्काइभ लिङ्क यहाँ छ ।
यो समाचारलाई अझै पुष्टि हुने गरी अरू थुप्रै अनलाइनले माघ १२ गते नै यही शीर्षकमा समाचार प्रकाशित गरेको भेटियो । नेपाल न्युज डटकमले ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन हो‘ शीर्षकको वर्षमान पुनको तस्बिरसहितको समाचार त्यही दिन प्रकाशित गरेको भेटियो ।
नेपाल न्यूजको स्क्रिन सट हेर्नुहोस्

नेपाल न्यूजको ओरिजिनल लिङ्क यहाँ छ भने अर्काइभ लिङ्क यहाँ छ ।
तथ्य जाँच
दाबी : वर्षमान पुनले ‘कांग्रेस–एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाइएको‘ भनेर बोलेको
दाबीकर्ता : निर्मला रोकाया रेग्मी नामको फेसबुक प्रोफाइल
तथ्य : भ्रामक सूचना । वर्षमान पुनले २०८२ सालको माघ १२ गते सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा ‘मुलुक जल्नुको मुख्य कारण कांग्रेस एमाले गठबन्धन र केपी शर्मा ओली हुन्‘ भनेर बोलेका थिए । तर यसलाई तोडमोड गरेर वर्षमान पुनले ‘कांग्रेस र एमालेको रिसले प्रचण्डको योजनामा मुलुक जलाएको‘ भनेर बोलेको भनेर भ्रम फैलाएको पुष्टि भएको छ ।
(अनलाइनखबर र नेपाल फ्याक्ट चेकको सहकार्य)
प्रतिक्रिया 4