२७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् ।
मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् ।
सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप नि:शुल्क रुपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो ।
उनले सो खोप अभियान काठमाडौं महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गरिन् ।
‘अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौ । या भनौ–पहिलो चाहीँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले निशुल्क यो भ्याक्सिनेशन प्रोग्राम स्कुलस्कुलमा भइरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस् भन्ने पनि चाहन्छौं,’ उनले भनिन्, ‘र यो कार्यक्रम महानगरभरीको सबै स्कुलहरुमा लागू भइरहेको छ । त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रुपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।’
सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन नि:शुल्क रुपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।
सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया 4