News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी-२० विश्वकपमा पहिलो पटक विश्वकप खेल्दै हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।
- हाल भारत र श्रीलंकामा संयुक्त रुपमा भइरहेको टी-२० विश्वकपमा नेपालले पहिलो खेलमा इंग्ल्याण्डसँग ४ रनले पराजित भए पनि उत्कृष्ट प्रदर्शन देखाएको छ।
- नेपाल र इटलीबीच १३ वर्षअघि ५० ओभरको खेलमा नेपालले इटलीलाई ८ विकेटले हराएको थियो र अहिले इटली टी-२० विश्वकपमा डेब्यु गर्दैछ।
२८ माघ, मुम्बई । सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टी-२० विश्वकपमार्फत नेपालले क्रिकेटको विश्वकपमा डेब्यू गरेको थियो ।
त्यसबेला नेपालको समूहमा थियो आयोजक बंगलादेशसहित अफगानिस्तान र हङकङ । अफगानिस्तान र हङकङ नेपालका लागि चिरपरिचित प्रतिद्वन्दी थियो ।
सन् २०१४ मार्च १६ । चितागोङस्थित जहुर अहेमद चौधरी स्टेडियममा नेपालको पहिलो खेल थियो हङकङसँग । पहिलो खेलमै नेपालले हङकङलाई ८० रनले हराएर विश्वकप डेब्यूलाई शानदार बनाएको थियो । त्यसपछि नेपाल बंगलादेशसँग पराजित भयो । तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले स्तब्ध पार्दै पहिलो सहभागितामै २ खेल जितेको थियो ।
नेटरनरेटमा पछि परेपछि नेपाल बंगलादेश भन्दा तल रहँदा सुपर १२ मा पुग्न सकेन । तर डेब्यु विश्वकपलाई नेपालले सानदार बनाएको थियो । त्यहीबाट नेपाली क्रिकेटबारे विश्व जगतले बुझ्ने मौका पाएका थिए । नेपालका युवा खेलाडीहरू क्रिकेटर बन्दै भविष्यमा विश्वकप खेल्ने लक्ष्यका साथ क्रिकेटमा लागेका थिए ।
पहिलो विश्वकप खेलेपछि नेपालले दुई पटक टी२० विश्वकपमा छनोट भयो । अहिले भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भएको टी-२० विश्वकप खेलिरहेको छ । यो नेपालका लागि लगातार दोस्रो र समग्रमा तेस्रो विश्वकप सहभागिता हो ।
यसबीचमा नेपालले विश्वकपमा खेलेका खेलहरूमा उत्कृष्ट प्रदर्शन, टेष्ट टिमसँग खेलको अनुभवदेखि टेस्ट टिमलाई हराउन निकै नजिक समेत पुग्यो ।
तर नेपाललाई अहिले खड्किरहेको कुरा भनेको सन् २०१४ मा मार्च २० मा बंगलादेशमा अफगानिस्तानलाई हराएपछि नेपालले टी-२० विश्वकपमा कुनै खेल जित्न सकेको छैन ।
सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा भएको टी-२० विश्वकपमा समूह चरणको चार मध्ये तीन वटा खेलमा नेपाल पराजित भएको थियो भने एक खेल वर्षाका कारण हुन सकेन ।
अहिले भइरहेको विश्वकपमा पहिलो खेल नेपालले मुम्बईस्थित वानखेडे स्टेडियमा दुई पटकको टी-२० विश्वकप विजेता इंग्लयाण्डसँग खेलेको थियो र जितको निकै नजिक पुगेर ४ रनले पराजित भयो ।
अब नेपालले समूह सी मा आफ्नो दोस्रो खेल बिहीबार इटलीसँग खेल्दैछ । यो खेल खेल्दा नेपाल १२ वर्षपछि फेरि जित निकाल्ने योजनामा हुनेछ ।
किनभने तुलनात्मक रुपमा इटली वरियतामा यो विश्वकप खेल्ने भन्दा सबैभन्दा तलको टोली हो । इटली २७औं स्थानमा छ । अनी इटलीको यो डेब्यू टी-२० विश्वकप हो । यस संस्करणमा डेब्यु गर्ने एक मात्र टोली इटली पहिलो पटक विश्वकप खेल्दै इतिहास रचेको छ ।
फिफा विश्वकपमा चार पटक उपाधि जितिसकेको इटलीले क्रिकेटमा पनि विश्वकपमा डेब्यु गरिसकेको छ तर पहिलो खेलमा स्कटल्याण्डसँग पराजित हुँदा हारबाट विश्वकपको यात्रा सुरु गर्न बाध्य भएको थियो ।
आइतबार इंग्ल्याण्डसँग ४ रनको हारपछि इटलीसँग दोस्रो खेल खेल्नुअघि नेपालका कप्तान रोहित पौडेल मंगलबार वानखेडे स्टेडियममा प्रि म्याच कन्फेरेन्समा उपस्थित भएका थिए । जहाँ रोहितले पहिलो खेलबाट दबाबलाई सम्हाल्न र कठिन परिस्थितीमा निर्णय गर्न सिकेको बताएका थिए ।
इंग्लयाण्ड विरुद्ध पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेको नेपालले विश्वभरबाट प्रशंसा पाएको थियो । पहिलो खेलको प्रदर्शनपछि नेपाली टोलीले यस्तै प्रदर्शन गरे इटलीलाई हराउने समर्थकहरूको विश्वास छ । नेपालले आफ्नो समूहको सबै खेल वाङ्खेडे स्टेडियममै खेल्ने भएकोले पनि यहाँ नेपाली समर्थकहरूको राम्रै उपस्थिति र समर्थन हुनेछ ।
नेपाली टोलीले विश्वमा जहाँ गएर खेलेपनि त्यहाँ नेपाली समर्थकहरूको बाक्लो उपस्थित हुनेछ । पहिलो खेलपछि नेपाली टिमका सदस्य नन्दन यादवले यसलाई नेपाली टिमप्रति समर्थकको मायाको रूपमा प्रतिक्रिया दिएका थिए ।

इटलीसँग १३ वर्षअघिको त्यो खेल
नेपाल र इटली टी-२० आई क्रिकेटमा अहिलेसम्म खेलेका छैनन् । टी-२० फर्म्याटमा नेपालका लागि इटली नयाँ प्रतिद्वन्दी हो । तर नेपाल र इटलीबीच यसअघि पनि खेल भने भएका छन् । ५० ओभरको खेलमा नेपालले इटलीसँग १३ वर्षअघि पछिल्लो पटक खेलेको थियो ।
जसमा नेपाल ८ विकेटले सहजै विजयी भएको थियो । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३ अन्तर्गत बर्मुडाको सेन्ट डेभिड्स क्रिकेट क्लब ग्राउण्डमा भएको खेलमा इटलीले दिएको १२८ रनको लक्ष्य नेपालले १४.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।
ओपनर सुवास खकुरेलले सर्वाधिक ४७ रन बनाउँदा अर्का ओपनर प्रदिप ऐरी ४२ रनमा अविजित थिए । कप्तान पारस खड्काले २२ रन योगदान गर्दा ज्ञानेन्द्र मल्लले २ बलमै अविजित १० रन बनाएका थिए ।
इटलीले पहिले ब्याटिङ गर्दै ५० ओभर पूरा खेल्दा ९ विकेट गुमाएर १२७ रन बनाएको थियो । इटलीका कार्ल सान्ड्रीले सर्वाधिक ३९ र पिटर पेट्रिकोलाले ३१ रन बनाएका थिए ।
इटलीलाई कम स्कोरमा समेट्न नेपाली बलरहरूले शानदार बलिङ गरेका थिए । सन्जम रेग्मी र राहुल विश्वकर्माले समान ३, शक्ति गौचनले ३ तथा बसन्त रेग्मीले १ विकेट लिएका थिए । त्यसबेला यी चरा स्पीनरले नै ४० ओभर बलिङ गरेका थिए भने कप्तान पारस खड्काले १० ओभर बलिङ गरेका थिए ।
राहुलले १० ओभरमा ३ मेडन राख्दै २८ रन खर्चिए । सन्जमले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए । शक्तिले सबैभन्दा किफायती बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै १५ रन मात्र खर्चिए ।
पारसले १० ओभरमा ३ मेडन राख्दै ३४ रन खर्चिए पनि विकेट लिन सकेनन् । पारस हाल नेपाल क्रिकेट संघ क्यानको सचिव पदमा छन् ।
बर्मुडामा खेलेको डिभिजन थ्री प्रतियोगितालाई नेपाली क्रिकेटमा सधैं सम्झिइनेछ । किनभने त्यसबेला नेपालले आफ्नो सुरुवाती दुई खेल हारेर पनि त्यसपछि सानदार कमब्याक गर्दै अन्तिमममा डिभिजन थ्री को उपाधि नै जितेको थियो । जसलाई ‘मिराकल अफ बर्मुडा’ भनेर पनि चिनिन्छ ।
युगान्डा र अमेरिकासँग पराजित भएको नेपालले त्यसपछि बर्मुडा, ओमान, इटलीलाई हराउँदै ६ टिम सहभागि प्रतियोगितामा शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनायो ।
फाइनलमा युगान्डा विरुद्ध बदला लिँदै उपाधि जितेको नेपाल डिभिजन टु मा समेत उक्लिएको थियो ।
प्रतिक्रिया 4