+

इटलीका कप्तान र प्रशिक्षक भन्छन्- वाङ्खेडेमा नेपाली दर्शकसामू खेल्न उत्साहित छौं

२०८२ माघ  २८ गते १७:५८ २०८२ माघ २८ गते १७:५८
इटलीका कप्तान र प्रशिक्षक भन्छन्- वाङ्खेडेमा नेपाली दर्शकसामू खेल्न उत्साहित छौं

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटलीका कप्तान वायन म्याड्सेनले नेपालसँगको खेलअघि वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताए।
  • म्याड्सेन स्कटल्यान्डविरुद्धको चोटका कारण नेपालविरुद्धको खेलमा अनुपस्थित रहने र उपकप्तान ह्यारी मानेन्तीले कप्तानी सम्हाल्नेछन्।
  • नेपाल र इटलीबीच २९ माघ वाङ्खेडे स्टेडियममा टी–२० विश्वकप २०२६ अन्तर्गत खेल हुँदैछ र दुवै टोली पहिलो जितको खोजीमा छन्।

२८ माघ, मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालसँगको खेलअघि इटलीका कप्तान वायन म्याड्सेन र प्रशिक्षक जोन डेभिसनले वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

बुधबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान म्याड्सेनले वाङ्खेडे विश्व क्रिकेटकै प्रतिष्ठित मैदान भएको भन्दै यहाँ भरिपूर्ण दर्शकसामू खेल्न पाउनु ठूलो अवसर भएको बताए । उनले नेपाली समर्थकको उपस्थितिले वातावरण विशेष बन्ने विश्वास व्यक्त गरे ।

तर म्याड्सेन भने स्कटल्यान्डविरुद्धको पहिलो खेलमा बोकेको चोटका कारण नेपालविरुद्धको खेलमा खेल्ने छैनन् । उनले स्क्यान रिपोर्ट सकारात्मक देखिए पनि थप ४८–७२ घण्टा आराम आवश्यक भएकाले आफू मैदानबाहिर रहने जानकारी दिए । उनको अनुपस्थितिमा उपकप्तान ह्यारी मानेन्तीले टोलीको कप्तानी सम्हाल्नेछन् ।

इटली पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । पहिलो खेल अपेक्षाअनुसार नजाँदा टोली निराश भए पनि अब पुनः केन्द्रित भएर प्रदर्शन सुधार्ने लक्ष्य रहेको म्याड्सेनले बताए । ‘हामीसँग बलियो टोली छ । सबै खेल जित्न सक्षम छन् । पहिलो खेलपछि हामी पुनः केन्द्रित भएका छौं र अब राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’ उनले भने ।

डेभिसनले टी–२० क्रिकेटमा कुनै पनि टोलीले एक–दुई उत्कृष्ट प्रदर्शनबाट खेल जित्न सक्ने भएकाले नेपालविरुद्ध आत्मविश्वासका साथ मैदान उत्रिने बताए । इंग्ल्यान्डविरुद्ध नेपालले दिएको टक्कर बारे प्रशिक्षक डेभिसनले भने, ‘टी–२० क्रिकेटमा एक–दुई उत्कृष्ट प्रदर्शनले खेल जित्न सकिन्छ । नेपाल मात्र होइन, अन्य एसोसिएट टोलीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ।’

इटलीका खेलाडीहरू विभिन्न पेशासँग जोडिएका भए पनि विश्वकपमा खेल्नु उनीहरूका लागि विशेष अवसर भएको म्याड्सेनले बताए । टोलीले यसलाई सिकाइ र विकासको महत्वपूर्ण चरणका रूपमा लिएको उनले बताए । साथै भारतमा खेल्दा इटलीमा क्रिकेटको विकास र लोकप्रियता बढाउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल समर्थकको ठूलो उपस्थितिबारे बोल्दै म्याड्सेनले त्यस्तो वातावरण विरलै पाइने भएकाले खेलाडीलाई त्यसलाई आत्मसात् गर्दै रमाएर खेल्न निर्देशन दिएको बताए । ‘ठूलो भीडको सामना गर्नु हाम्रो लागि नयाँ होइन । यस्तो वातावरण विरलै पाइन्छ, त्यसैले खेलाडीलाई रमाएर खेल्न भनेका छौं’ प्रशिक्षक डेभिसनले पनि थपे, ‘खाली रंगशालाभन्दा ३५ हजार नेपाली समर्थकमाझ खेल्नु अझ राम्रो अनुभव हो।’

इटली क्रिकेटको भविष्यबारे म्याड्सेनले घरेलु संरचना, प्रशिक्षण, सुविधा र ग्रास पिचको विकास आवश्यक रहेको बताए । ओलम्पिकमा क्रिकेट समावेश भएपछि देशभित्र क्रिकेट पूर्वाधार विस्तार गर्ने योजनामा काम भइरहेको उनले जानकारी दिए ।

नेपाल र इटलीबीच बिहीबार दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियममा खेल हुँदैछ । नेपाल पनि पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएकाले दुवै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन् ।

प्रशिक्षक डेभिसनले टोलीको तयारी राम्रो भएको र अवसर पाए जित निकाल्ने विश्वास व्यक्त गरे ।

इटली क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय