+
+
Shares

सशस्त्रका आईजीपीको निर्देशन – निर्वाचन सहयोगका लागि आदेश लिइरहनु पर्दैन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते ७:३३

२९ माघ, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनको सहयोगका लागि आदेश लिइरहन नपर्ने बताएका छन् ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा निर्वाचन सुरक्षा स्थिति बुझ्ने क्रममा महानिरीक्षक अर्यालले भूकम्प जस्ता प्रकोपमा स्वतः परिचालन भएजस्तै निर्वाचनको समयमा पनि अन्य निकायका सुरक्षाकर्मी र निर्वाचनमा खटिएका कर्मचारीलाई आवश्यक परेको खण्डमा स्वतः परिचालित हुन र परिचालन पश्चात मुख्यालयमा जानकारी गराउन निर्देशन दिएका हुन् ।

‘आदेशको पर्खाइमा नबस्नुहोस्, सुरक्षात्मक कारबाहीका लागि तत्काल परिचालन भएर जानकारी गराउनुहोस्, आदेश कुर्नु पर्दैन, यही स्थायी आदेश हो ‘, आईजीपी अर्यालले भने ।

अर्यालले सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की मातहत परिचालन हुने निर्वाचन प्रहरीहरुलाई समेत पूर्ण आत्मविश्वासकासाथ निर्वाचनमा परिचालन भई निर्वाचन सुरक्षामा खटिनु पर्नेमा जोड दिएका थिए ।

उनले स्याङजा र पाल्पा जिल्लाका सशस्त्र प्रहरी बल नेपालका युनिटहरुमा पनि पुगेर निर्वाचन सुरक्षाबारे जानकारी लिएका थिए ।

निर्वाचन विथोल्न खोज्नेहरुको प्रयास विफल बनाउन सबै सुरक्षा निकायका सुरक्षाकर्मीबीच समन्वय र सहकार्य जरुरी रहेको बताउँदै उनले निश्पक्ष निर्वाचन र मतदाताको सुरक्षामा कुनै कमीकमजोरी नगर्न निर्देशन दिए ।

सोही क्रममा स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जिल्लामा नै आएर शान्ति सुरक्षा बारे जानकारी लिएकोमा सुरक्षा व्यवस्थापनमा थप उर्जा मिलेको बताए ।

यसैगरी महानिरीक्षक अर्यालले स्याङजा वालिङ्गस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म र निर्वाचन सुरक्षा बेश गल्याङ पुगेर निर्वाचन तयारीबारे जानकारी लिनुकासाथै आवश्यक निर्देशन दिए । उनले सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गुल्म पाल्पा पुगेर निर्वाचनको तयारीबारे जानकारी लिएका छन् ।

सो क्रममा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले निर्वाचन सुरक्षा बारे जानकारी गराउनुका साथै प्रमुख जिल्ला अधिकारी विनु बज्रचार्य कुँवरलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग जिल्लाको शान्ति सुरक्षा र निर्वाचन सुरक्षाबारे जानकारी समेत लिएका थिए ।

यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सुदूरपश्चिम प्रदेश अन्तर्गत नं. ७ बाहिनी मातहत सशस्त्र प्रहरी बल नेपालका युनिटहरुको अनुगमन गरी निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?