+
टी-२० विश्वकप २०२६ :

सुध्रन नसकेको मिडल अर्डर ब्याटिङ

२०८२ माघ  २९ गते २२:३४ २०८२ माघ २९ गते २२:३४
सुध्रन नसकेको मिडल अर्डर ब्याटिङ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले टी-२० विश्वकपमा इटलीसँग १० विकेटले पराजित भएको छ र ब्याटिङमा निरन्तर समस्या देखिएको छ।
  • कप्तान रोहित पौडेलले १२३ रनको योगफल अपेक्षाअनुसार नभएको स्वीकार गर्दै आगामी खेलमा सुधारको आशा व्यक्त गर्नुभयो।
  • नेपालले बाँकी दुई खेल जित्नैपर्ने दबाबमा पुगेको छ र आइतबार वेस्ट इन्डिजसँगको खेल महत्वपूर्ण हुनेछ।

२९ माघ, मुम्बई । नेपाली क्रिकेट टोलीले ब्याटिङमा संघर्ष गर्न थालेको धेरै समय भयो । पहिल्यैदेखि नेपाली क्रिकेटको बलियो पक्षका रूपमा बलिङ रहँदै आएको छ ।

नेपालले धेरै खेलहरू ब्याटिङ राम्रो नगर्दा नगर्दै पनि बलिङको भरोसामा जितेको उदाहरणहरू छन् । तर सधैं बलिङकै भरोसामा पनि खेल जित्न सकिँदैन, कन्डिशनदेखि पिचसम्म सबै कुरा मिलेको हुनुपर्छ ।

टी-२० विश्वकपअन्तर्गत बिहीबार भएको इटलीसँगको खेलमा पनि नेपालको फितलो ब्याटिङपछि बलिङमा केही चमत्कार गर्छ कि भन्ने आशाले समर्थकहरू मैदानबाट बाहिर निस्किएका थिएनन्, अन्तिम बलसम्म पनि कुरिरहे तर कुनै जादु भएन ।

नेपालले इटलीविरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । धेरैको अनुमान थियो, इटली कमजोर छ नेपालले राम्रो योगफल बनाएर डिफेन्ड गर्छ भन्ने । तर त्यो दुवै हुन सकेन । नेपालले न राम्रो योगफल बनायो, न डिफेन्ड नै गर्‍यो ।

वाङ्खेडेजस्तो ब्याटिङ फ्रेन्डली मैदानमा नेपालले २० ओभर पनि खेल्न सकेन, ३ बल बगावै १२३ रनमा अलआउट भयो । यो औसतभन्दा पनि कम योगफल हो ।

इटलीको स्पीन बलिङमा फसेको नेपाली टोलीले दोस्रो इनिङमा भने आफ्नो स्पीन जादु देखाउन सकेन । नेपालले कुनै विकेट पनि लिन सकेन, खेल १० विकेटले गुमायो ।

आज फेरि पनि नेपालको ब्याटिङ फितलो देखियो अनि त्यसमाथि पनि मिडल अर्डरमा त जिम्मेवारी नै देखिएन । यो समस्या हल नभएमा नेपालले आगामी खेलमा पनि संघर्ष गर्ने देखिन्छ ।

गैरजिम्मेवार शट सेलेक्सन

नेपाली टोलीले आज पावरप्लेमै राम्रो सुरुवात गर्न सकेको थिएन । सुरुवाती ३ ओभरमा १० रन मात्र जोडेको नेपालले त्यसपछिको ३ ओभरमा ३६ रन जोडेर १ विकेट गुमाउँदा पावरप्लेमा ४६-१ अवस्थामा थियो ।

त्यसपछि थप ३ रन जोड्दा कप्तान रोहित पौडेल र आसिफ शेख पनि आउट भएपछि नेपाल ४९-३ को अवस्थामा पुगेको थियो । त्यहँबाट दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ४४ रनको साझेदारी गर्दै नेपाललाई सम्हाले पनि त्यसपछि नेपालको ब्याटिङ कोल्याप्स भयो ।

९३-३ को अवस्थाबाट नेपाल १०२-८ को अवस्थामा पुग्यो । नेपालको मिडल अर्डर पूर्णरूपमा धराशायी देखियो । खेलाडीहरूले साझेदारी बनाउने प्रयास नै नगरी ठूलो शटतर्फ मात्र ध्यान दिँदा नेपालले निरन्तर विकेट गुमाएको थियो ।

खेलपछि कुरा गर्दै नेपालका ब्याटर आरिफ शेखले आज राम्रो खेल्न नसकेको स्वीकार गरे । ‘हामी आज राम्रो खेल्न सकेनौं, हाम्रो स्तर यो होइन । हामीले बीचमा धेरै विकेट गुमायौं, १८० रन सम्म बनाउनु पर्ने थियो’ आरिफले खेलपछि भनेका थिए ।

यस्तै कप्तान रोहित पौडेलले पनि अपेक्षाअनुसार ब्याटिङ गर्न नसकेको स्वीकार गरे । ‘आज इटलीले हामीलाई भन्दा राम्रो खेल्यो। विशेषगरी ब्याटिङमा हामी चुकेका छौं। १२३ रनको विकेट होइन जस्तो लाग्यो, हामी १६०–१७० वरिपरि पुग्ने सोचमा थियौं तर निकै खराब ब्याटिङ गर्‍यौं, यसलाई स्वीकार्न लाज मान्नु पर्दैन’ रोहितले खेलपछि भने ।

खेलाडीले ब्याटिङ अपेक्षाअनुसार गर्न नसकेको भनेर खेलाडीले भनिरहँदा लामो समयदेखि समस्याका रूपमा रहेको नेपालको मिडल अर्डर ब्याटिङ सुध्रने संकेत भने देखिएको छैन ।

आरिफले प्रशिक्षकबाट नेचुरल गेम खेल्ने सुझाव भएको र बीचमा एक विकेट गएपछि नेपाल सम्हालिन नसकेको बताए । इटलीलै कन्डिशनको राम्रो प्रयोग गरेको भन्दै आरिफले इटलीले गरेको प्रदर्शनको प्रशंसा गरे ।

यस्तै लेगस्पीनर सन्दीप लामिछानेले पनि इटलीले राम्रो क्रिकेट खेलेको र नेपालको खराब दिन रहेको टिप्पणी गरे । नेपालले सन् २०२१ मा टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध ११७ रन डिफेन्ड गरेको प्रसंगबारे जवाफ दिँदै सन्दीपले कन्डिशन त्यहाँ अर्कै रहेको र वाङ्खेडेमा त्यस्तो परिस्थिति नरहेको बताए ।

बाँकी दुई खेल जित्नैपर्ने दबाब

पहिलो खेलमा इंग्ल्यान्डसँग शानदार ब्याटिङ गरेर चर्चा कमाएको नेपालले दोस्रो खेलमा भने सोही लय दोहोर्‍याउनै सकेन । यसकारण नेपालको अब सुपर ८ मा पुग्ने सम्भावना कमजोर बनेको छ ।

इटलीसँग पराजित भएपछि नेपाल अब बाँकी दुवै खेल जित्नैपर्ने दबाबमा पुगेको छ । समूह ‘सी’ मा जितविहीन नेपाल मात्र रहँदा सबै टोलीले कम्तीमा एक जित निकालेका छन् ।

इटलीले नेटरनरेटमा इंग्ल्यान्डलाई पनि पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । वेस्ट इन्डिज लगातार दुई जितसहित शीर्षस्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छ ।

नेपालले अब आगामी आइतबार वेस्ट इन्डिजसँग खेल्दै छ । वाङ्खडेमै हुने उक्त खेल नेपाललाई जित्नैपर्ने दबाब रहनेछ । नेपालले त्यसपछिको अन्तिम खेल पनि जितेर अन्य नतिजामा पनि भर पर्नुपर्ने अवस्था बनिसकेको छ ।

आरिफले आगामी खेलमा कमजोरी सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

नेपाली क्रिकेट टोली
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय