+
+
Shares

बंगलादेशमा बीएनपीको पुनरोदय, जिया परिवारमा फर्किँदै सत्ताको बागडोर

को हुन् तारिक रहमान ?

तारिक रहमानले आयात प्रतिबन्धहरू खुकुलो पार्दै उद्योगहरूलाई सुचारु गर्ने, निर्यात बढाउने र वैदेशिक लगानी भित्र्याउने चुनौती भोग्नुपर्नेछ ।

कञ्चन कुमार बस्नेत कञ्चन कुमार बस्नेत
२०८२ फागुन १ गते १४:३२

बंगलादेशमा हिजो सम्पन्न भएको ऐतिहासिक निर्वाचनमा बङ्गलादेश नेसनलिस्ट पार्टी ( बीएनपी )ले दुई तिहाई बढी सिट जितेको छ ।

अधिकांश क्षेत्रको मतगणना सकिएको अवस्थामा बीएनपीले संसदका ३०० सिटमध्ये २०० भन्दा बढी सिटमा जित हासिल गरेको छ । यस नतिजा सँगसँगै बीएनपीका प्रमुख तारिक रहमान बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा बन्ने करिब निश्चित छ ।

१७ वर्षको निर्वासन र दर्जनौँ अदालती मुद्दाहरू बाबजुद बीएनपीले नेता रहमानलाई बंगलादेशको राजनीतिमा पुनर्स्थापित मात्र गरेको छैन, बरु सन् २०२४ को जुलाई क्रान्ति पछिको नयाँ बंगलादेशको निर्माण गर्ने अनुहारको रुपमा जनअनुमोदन गराएको छ ।

६० वर्षीय रहमान प्रभावशाली जिया परिवारका प्रमुख हुन्, जसले दशकौँदेखि देशको राजनीतिमा प्रभुत्व जमाउँदै आएका छन् । उनका बाबु जियाउर रहमान र आम बेगम खालिदा जिया दुवैले यसअघि बङ्गलादेशको नेतृत्व गरिसकेका छन् ।

ऐतिहासिक पृष्ठभूमि

तारिक रहमानको जन्म २० नोभेम्बर १९६५ मा तत्कालीन पूर्वी पाकिस्तानको ढाकामा भएको थियो।

उनका पिता जियाउर रहमान बंगलादेशको स्वतन्त्रताको घोषणा गर्ने सेनाका प्रमुख थिए । पछि राष्ट्रपति बने। तर सन् १९८१ मा चटगाउँमा सैनिक कूको प्रयासका क्रममा उनको हत्या भएको थियो ।उनी त्यस समयमा ४५ वर्षका थिए।

त्यसपछि उनकी आमा खालिदा जिया बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनिन् । र , १५ वर्षसम्म देशको बागडोर सम्हालिन्।

तारिकले आफ्नो राजनीतिक यात्रा निकै सानो उमेरबाट सुरु गरे। सन् १९८८ मा बीएनपीको प्रारम्भिक सदस्य बनेका उनले सन् १९९१ र १९९६ को निर्वाचनमा आफ्नो आमाको चुनावी अभियानमा ठूलो भूमिका खेले ।

सन् २००१ मा बीएनपी सत्तामा आएपछि उनी पार्टीको संयुक्त महासचिव बने । उनले देशभर भ्रमण गरी पार्टीको संगठनलाई तल्लो तहसम्म पुऱ्याए । जसले उनलाई कार्यकर्ताहरूमाझ लोकप्रिय बनायो ।

सन् २००१ देखि २००६ सम्मको बीएनपी शासनकाल तारिकका लागि सफलता र विवाद दुवैको समय रह्यो। यस समयमा उनीमाथि पटक पटक विभिन्न आरोपहरू लागे । अक्टोबर २००६ मा बीएनपी नेतृत्वको सरकारले राजीनामा दिएपछि तीव्र राजनीतिक अशान्तिबाट गुज्रिरहेको थियो । त्यस समयकी विपक्षी दलकी नेतृ अवामी लिगकी शेख हसिनाले बीएनपी र यसको नेतृत्वमाथि धेरै गम्भीर आरोपहरू लगाएकी थिइन् ।

अवामी लिगले बीएनपीमाथि निर्वाचनको परिणामलाई प्रभावित पार्न कामचलाउ सरकारको प्रमुख सल्लाहकारमा केएम हसन (पूर्व प्रधानन्यायाधीश) जस्ता पक्षपाती व्यक्तिहरूलाई नियुक्त गरेको आरोप लगाएको थियो ।

विपक्षीले बीएनपी नेतृत्वको सरकारले धाँधली गर्न सहयोग पुर्‍याउने उद्देश्यले लाखौं नक्कली मतदाताहरू सम्मिलित फर्जी मतदाता सूची तयार पारेको आरोप लगाएको थियो । अवामी लिगले बीएनपीमाथि मतदान प्रक्रियालाई प्रभावित पार्न निजामती प्रशासन, प्रहरी र निर्वाचन आयोगमा आफ्ना वफादारहरूलाई चयन गरेको आरोप लगाएको थियो ।

शेख हसिनाले बीएनपी गठबन्धनका प्रतिबन्धित इस्लामिक समूहहरू, जस्तै जमात-उल-मुजाहिद्दीन बंगलादेशसँग मौन साँठगाँठ रहेको आरोप लगाएकी थिइन् । जो अघिल्ला वर्षहरूमा देशभर भएका हिंसात्मक बम आक्रमणहरूका लागि जिम्मेवार थिए ।

बीएनपीको कार्यकाल (२००१-२००६) भर भ्रष्टाचारका आरोपहरू रहे तापनि २००७ मा यिनीहरू झन् तीव्र भए । विशेषगरी खालिदा जियाका छोरा तारिक रहमानको प्रभावमा रहेको ढाकाको ‘हवा भवन’ मा रहेको बीएनपी कार्यालयलाई प्रतिपक्षी दलहरूले ‘सत्ताको समानान्तर केन्द्र’ भनी आरोप लगाए ।

यी आरोपहरू र परिणामस्वरूप भएको हिंसात्मक प्रदर्शनले राजनीतिक गतिरोध पैदा गर्‍यो । जसले गर्दा जनवरी २००७ मा सैन्य-समर्थित कब्जा भयो । ठूला भ्रष्टाचार विरोधी अभियानहरू सुरु गर्न नयाँ अन्तरिम सरकार स्थापना भयो ।

यस पश्चात तारिकमाथि चरम संकट आइपर्‍यो । सैन्य-समर्थित केयरटेकर सरकारले उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्‍यो। कारागारमा चरम यातना पाएको दाबी गरिएका तारिकलाई २००८ मा उपचारका लागि लण्डन जान अनुमति दिइयो ।

लण्डनको निर्वासित जीवन र राजनीतिक पुनर्गठन (२००८-२०२५)

लण्डनको निर्वासन तारिक रहमानको राजनीतिक जीवनको सबैभन्दा ठूलो परीक्षा थियो ।

१७ वर्षसम्म बंगलादेशसँगको भौतिक र भावनात्मक दूरीमा उनले लण्डनमा बसेर बीएनपी चलाए। भिडियो कन्फरेन्स मार्फत कार्यकर्ताहरूसँग संवाद गरे ।

शेख हसिनाको शासनकालमा उनीमाथि दर्जनौँ मुद्दाहरू दायर गरिए । बंगलादेशको अदालतले उनलाई गैरकानुनी रूपमा मनी लन्ड्रीङ्ग गरेको र भ्रष्टाचारका मुद्दाहरूमा दोषी ठहर गर्‍यो ।

उनलाई विभिन्न मुद्दाहरूमा लामो समयको जेल सजाय सुनाइयो । उनले भौतिक रूपमा अदालतमा उपस्थित हुन नसक्दा ‘इन एब्सेंशिया’ मुद्दाहरू चले ।

इन्टरपोलले उनको विरुद्धमा ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो । जसले गर्दा उनको अन्तर्राष्ट्रिय भ्रमणलाई निकै सीमित गरिदियो । हसिना सरकारले उनको भाषण र अन्तर्वार्ता प्रशारण गर्नमा प्रतिबन्ध लगाएको थियो । जसले उनलाई देशको मुख्यधाराको राजनीतिबाट टाढा राख्ने प्रयास गऱ्यो।

निर्वासनको क्रममा उनले बेलायतमा शरणार्थीको रूपमा बस्न आवेदन दिएका थिए। कानुनी प्रक्रिया चलिरहँदा उनको बेलायत यात्रा र गतिविधिहरूमा कडा निगरानी गरिएको थियो ।

ठीक दुई वर्षअघिको अघिल्लो निर्वाचनमा रहमान लन्डनमा निर्वासित थिए, जबकि शेख हसिनाको प्रशासनले बीएनपीका धेरै सदस्य र समर्थकहरूलाई जेलमा हालेको थियो ।

रहमानकी आमा र तात्कालीन बीएनपीकी अध्यक्ष खालिदा जियालाई सन् २०१८ मा अवामी लिग सरकारद्वारा लगाइएका भ्रष्टाचारका मुद्दाहरूमा दोषी ठहराइयो । र जेल चलान गरियो ।

जेलमा रहँदा उनको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेको थियो । जसका कारण उनलाई पछि घरमै नजरबन्दको अवस्थाबाट अस्पतालमा भर्ना गरिएको थियो ।

लामो समयसम्म गम्भीर रोगहरूसँग लडेकी जियाको डिसेम्बर ३०, २०२५ मा ढाकाको एभकेयर अस्पतालमा उपचारकै क्रममा निधन भयो ।

‘जुलाई क्रान्ति’ र पुनरागमनको मार्ग

सन् २०२४ मा विद्यार्थीहरूले सरकारी कोटा प्रणाली विरुद्ध आन्दोलनको सुरू गरे । जसले पछि शेख हसिनाको राजीनामा र बहिर्गमनको माग गर्‍यो । करिब १,००० भन्दा बढी प्रदर्शनकारीको ज्यान गएको उक्त हिंसात्मक कदमपछि हसिना भारत निर्वासित भइन् ।

त्यसयता बंगलादेशमा ‘अवामी लिग’ बिनाको राजनीतिक वातावरण तयार भयो । अन्तरिम सरकारले निर्वाचन आयोग, प्रहरी प्रशासन र न्यायपालिकामा व्यापक फेरबदल गरी आजको निर्वाचनका लागि वातावरण तयार पारेको हो ।

अगस्ट २०२४ मा शेख हसिनाको सरकार ढलेपछि बंगलादेशको राजनीतिमा ठूलो परिवर्तन आयो ।

यसै समय अन्तरिम सरकारले हसिनाकालका राजनीतिक मुद्दाहरू खारेज गरेपछि तारिक रहमानका लागि स्वदेश फर्कने बाटो खुल्यो।

चुनावी परिणामको अन्तर्य

सम्पन्न निर्वाचनमा दुई तिहाईको बहुमत हासिल गरे पनि यो तारिक रहमान र उनको पार्टीको लोकप्रियताको परिणाम मात्र होइन ।

बीएनपी समर्थकहरूले उनलाई हसिनाको ‘तानाशाही’ को मुख्य शिकारको रूपमा हेरे। उनको निर्वासित जीवन र यातनाका कथाहरूले समर्थकहरूमाझ भावना जगायो । आफू लण्डनमै भए पनि तारिकले पार्टीको संगठनलाई जीवित राखेका थिए ।

उनले आन्दोलनका विद्यार्थी नेताहरूसँग संवाद गरेर युवा मतदाताहरूलाई आकर्षित गर्ने प्रयास गरे ।

त्यस्तै, अवामी लिगलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाइएकाले बीएनपीको विजय निश्चित जस्तै भएको अनुमान पनि गरिएको थियो ।

तारिकका आगामी चुनौतीहरू

बंगलादेशको अर्थतन्त्र अहिले निकै नाजुक अवस्थामा छ । उच्च मुद्रास्फीति, विदेशी मुद्राको सञ्चितिमा भारी गिरावट र कमजोर मुद्राका कारण सर्वसाधारणको जीवन कष्टकर बनेको छ ।

तारिक रहमानले आयात प्रतिबन्धहरू खुकुलो पार्दै उद्योगहरूलाई सुचारु गर्ने, निर्यात बढाउने र वैदेशिक लगानी भित्र्याउने चुनौती भोग्नुपर्नेछ । विभिन्न अन्तराष्टिय स्रोतहरूका अनुसार अवामी लिगको १५ वर्षे शासनकालमा बंगलादेशका प्रमुख न्यायपालिका, प्रहरी, निजामती प्रशासन र सेना जस्ता संस्थाहरूअत्यधिक राजनीतिकरण भएका थिए।

रहमानले यी संस्थाहरूमाथि जनताको विश्वास पुनर्स्थापित गर्न र तिनीहरूलाई निष्पक्ष रूपमा काम गर्न सक्षम बनाउनुपर्ने चुनौती छ ।

शेख हसिनाको पतनपछि देशमा कानून व्यवस्थाको अवस्था कमजोर भएको छ। उनले राष्ट्रिय एकता कायम गर्ने वाचा त गरेका छन्। तर उनका समर्थकहरू र अवामी लिगका कार्यकर्ताहरूबीच हुन सक्ने सम्भावित झडपहरूलाई नियन्त्रणमा राख्नु उनको लागि परीक्षा हुनेछ ।

त्यस्तै बंगलादेशको परराष्ट्र नीतिमा पनि ठूलो चुनौती छ । अवामी लिगको सरकार भारतसँग निकै नजिक मानिन्थ्यो । देशको आर्थिक र रणनीतिक हित सुनिश्चित गर्न रहमानले भारतसँगको सम्बन्धमा सन्तुलन कायम गर्दै चीन र अमेरिकासँगको सम्बन्धलाई पनि सुदृढ बनाउनुपर्नेछ ।

बंगलादेशको निर्यातको ठूलो हिस्सा अमेरिका र युरोपमा जाने भएकाले उनीहरूसँगको सम्बन्ध पनि उत्तिकै महत्त्वपूर्ण छ।

लेखक
कञ्चन कुमार बस्नेत

लेखक साहित्यकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?