News Summary
Generated by OK AI. Editorially reviewed.- सोमपाल कामीले तीन फरक टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र नेपाली खेलाडी बनेका छन्।
- नेपालले टी-२० विश्वकप २०२६ मा वेस्ट इन्डिजसँग ९ विकेटले हारेर समूह चरणबाट बाहिरियो।
- सोमपालले आफ्नो फिटनेस र नेपाल क्रिकेट संघको निर्णयमा निर्भर गर्दै अर्को विश्वकप खेल्ने सम्भावना रहेको बताए।
३ फागुन, मुम्बई । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मिडियम पेस बलर सोमपाल कामीले तीन फरक टी-२० विश्वकप खेल्ने पहिलो र एक मात्र खेलाडी बन्दै इतिहास बनाए । सोमपालले नेपालले खेलेको तीनवटै टी-२० विश्वकप खेलेर नेपाली क्रिकेटमा कीर्तिमान नै रचेका हुन् ।
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा रहेको नेपालले आइतबार वेस्ट इन्डिजसँग मुम्बईको वानखेडे स्टेडियममा ९ विकेटको हार बेहोर्दै समूह चरणबाटै बाहिरियो ।
खेलपछि उनै सोमपाल वानखेडे स्टेडियमको पोस्ट म्याच प्रेस कन्फेरेन्समा उपस्थित भए । हारबाट कोही पनि खुसी छैनन् र सोमपाल स्वयं पनि खुशी थिएनन् । उनमा तीन विश्वकप खेलेको खुसी पनि थिएन र हारको पीडा स्पष्ट देखिन्थ्यो ।
त्यसैले उनलाई व्यक्तिगत अनुभवबारे सोध्दा उनले ज्वरो आएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । ‘मलाई ज्वरो आएजस्तो महसुस हुन्छ’ सोमपालले थोरै हाँसेर भने, ‘मैले के अनुभव गरें भने जब हामी हार्छौं, नराम्रो लाग्छ।’
नेपाली टोलीले मैदानमा यो भन्दा राम्रो प्रदर्शन गर्न सक्ने भएपनि देखाउन नसकेको सोमपालले स्वीकार गरे । ‘हामीलाई थाहा छ कि टोलीको रूपमा हामी यसभन्दा धेरै राम्रो छौं । तर मैदानमा हामीले आफ्नो तर्फबाट शत प्रतिशत दिन सकेनौं त्यसैले मलाई नराम्रो लागिरहेको छ’ उनले भने, ‘विशेषगरी इटालीविरुद्धको खेल मेरो लागि निकै कठिन थियो । हामीले दक्षिण अफ्रिका, बंगलादेश र इंग्ल्याण्डसँग हार्यौं, तर इटलीसँगको हार भावनात्मक र पीडादायक थियो ।’
सोमपालले जब खेल जितिन्छ त्यसबेला राम्रो फिल हुने पनि बताए । ‘ठीकै छ, कुरा यति हो । जब जितिन्छ, राम्रो महसुस हुन्छ । हामीले यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ र अघि बढिरहनुपर्छ’ उनले भने ।
नेपालले सुरुवाती दुई खेलमा इंग्ल्यान्ड र इटलीसँग हार बेहोर्दा सोमपालले बेन्चमा बसेर खेल हेरेका थिए । तेस्रो खेलमा मात्र आएर सोमपालले पहिलो रोजाइमा अवसर पाएका थिए । वेस्ट इन्डिजविरुद्ध खेलअघि कप्तान रोहित पौडेलले टसका बेला सोमपालको अनुभव यस खेलमा काम लाग्ने बताएका थिए ।
सोमपालले पहिलो इनिङ्समा ब्याटबाट त्यो अनुभव र आफ्नो क्षमता पनि देखाए । नेपाली टिम संघर्ष गरिरहेको बेला उपकप्तान दीपेन्द्र सिंह ऐरीले एक छेउ सम्हाल्दा सोमपालले नै क्रिजमा पुगेर दीपेन्द्रलाई साथ दिएका थिए ।
दीपेन्द्र आउट हुनुअघि यो जोडीले सातौं विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी समेत गरेको थियो । जहाँ सोमपाल २६ रनमा अविजित रहे । उनले १५ बल खेल्दा ४ चौका प्रहार गरे । बलिङमा भने उनले विकेट लिन सकेनन् ।
सोमपालले १७औं ओभरमा वेस्ट इन्डिजका अनुभवी खेलाडी जेसन होल्डरलाई लगातार तीन चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले खेलमा माहोल बनाएको थियो र दर्शकहरुले पनि हुटिङ गरेर साथ दिएका थिए ।
एक दशकदेखि नेपालको फास्ट बलिङलाई सम्हाल्दै आएका २९ वर्षीय सोमपाल नेपालबाट टी-२० विश्वकपमा सर्वाधिक (७) खेल खेल्ने खेलाडी समेत हुन् । सन् २०१४ मा बंगलादेशमा भएको टी२० विश्वकपमा नेपालले डेब्यु गर्दा सोमपाल कान्छो सदस्यको रुपमा थिए । उनले त्यसबेला जितेन्द्र मुखियासँग मिलेर नेपालको फास्ट बलिङ सम्हालेका थिए ।
जहाँ उनले हङकङसँग खेल्दै टी२० विश्वकपमा डेब्यु गरे भने बंगलादेश र अफगानिस्तानसँगको खेल पनि खेले । त्यसबेला जुनियर खेलाडीको रुपमा टिममा इन्ट्री मारेका सोमपाल नेपालले दोस्रो पटक विश्वकप खेल्दा अनुभवी खेलाडीको रुपमा टिममा थिए ।
त्यसको एक दशकपछि नेपालले सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकामा भएको टी२० विश्वकप खेल्दा पनि सोमपातल टिमको एक सदस्यको रुपमा थिए । जहाँ नेपालले खेलेको नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको तीनै खेल सोमपालले खेलेका थिए ।
सोमपाललाई पोस्ट म्याचमा अर्को विश्वकप पनि खेल्ने सम्भावना कति छ भनेर सोध्दा उनले फिटनेसमा निर्भर हुने बताए । ‘मलाई लाग्छ, म आफैंलाई पनि ठ्याक्कै थाहा छैन । यो मेरो फिटनेस र खेलप्रतिको भोकमा निर्भर गर्छ । तर फिटनेस अत्यन्तै महत्वपूर्ण छ’ उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको नेपाल क्रिकेट संघले मलाई चाहन्छ कि चाहँदैन भन्ने हो । त्यसैले यो उनीहरूमा निर्भर गर्छ।’
उनले आफूले सधैं शतप्रतिशत दिएर खेल्ने बताए । ‘म शत प्रतिशत दिन्छु । म क्रिकेटलाई माया गर्छु, र म कहिल्यै रोकिने छैन’ सोमपालले भने ।
प्रतिक्रिया 4