४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमले कैलाली गोदावरी–६ मा रहेको ग्रिन होम प्रालि परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ ।
करिब १० लाख रुपैयाँ लगानीमा तयार गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीले आफ्नो बच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् । संरचनाभित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराका लागि आवश्यक साधन, खेलकुद सामग्री सहित व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरूका लागि उद्योगले सहजकर्ता समेत राख्ने छ ।
सन्तानको हेरचाहका लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीले काम छाडिरहेको अवस्थामा कैलाली उद्योग वाणिज्य संघ महासचिव दिनेश लम्सालको उद्योग परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । कक्षका लागि आवश्यक आन्तरिक आवश्यक सामग्री महासंघले उपलब्ध गराएको छ ।

स्याहार केन्द्र उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघ कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलले अवैतनिक हेरचाह कार्यबोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्वजस्ता व्यापक लक्ष्यसँग समन्वय गर्ने बताए ।
आफ्नो कम्पनीमा बालबच्चाको समस्याका कारण देखाउँदै अनुभवी महिला कर्मचारीले काम छाड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योग सञ्चालक लम्सालले जानकारी दिऐ । उनका अनुसार उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।
उद्योगमै आफ्ना बालबच्चाको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिक उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया अघि बढ्ने उद्योग वाणिज्य महासंघ सहायक निर्देशक हरि पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाका लागि उद्योगले भौतिक संरचना उपलब्ध गरेको हो ।
प्रतिक्रिया 4