+
+
Shares

प्रतिनिधिसभा उम्मेदवारलाई खुला पत्र

नेपाली कृषिको भविष्य तपाईंहरूको हातमा छ। कृषि केवल पेट पाल्ने माध्यम मात्र होइन, यो त हाम्रो स्वतन्त्रता, हाम्रो स्वास्थ्य र हाम्रो पहिचान हो भन्ने कुरा त कति दोहोर्‍याउने हो र ?

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८२ फागुन ६ गते १३:२२

प्रधानमन्त्रीका आकाङ्क्षीहरू,

मन्त्रीका दाबेदारहरू,

माननीय बन्न आतुर सबै उम्मेदवारहरू,

यहाँहरू सबैलाई विजयको अग्रिम शुभकामना!

यहाँहरू सबैलाई एकमुष्ट सम्बोधन गरेर यो खुला पत्र लेख्दैछु। आशा छ, फुर्सद मिलाएर पढ्नुहोला। ढुक्क हुनुहोस्, मैले तपाईँहरूको जवाफ मागेको छैन। विवेक र आँट भए यसको बारेमा मतदाताले सोधेका प्रश्नको जवाफ दिनुहोला। त्यो आँट पुगेन भने पनि चिन्ता नलिनुस्, आफ्नो कर्मबाट यसको सम्बोधन गर्ने पहल गरे पुग्छ।

यहाँहरूलाई बेमौसममै संसद् हुने चिट्ठा पर्ने छाँट देखिएको छ। यहाँहरू धेरैको अकर्मण्यताले यो चिट्ठा परेको हो। कुशासन, बेथिति, भ्रष्टाचार र ठगीले आत्तिएका आम मानिसको उकुसमुकुसलाई छेउमा बसेर मोबाइल खेलाउँदै नियालिरहेका नवयुवा यसको स्क्रिनमा कालो पर्दा देख्नेबित्तिकै, ‘अब यस्तै हो भने हाम्रो भविष्य छैन, त्यसैले यो हेरेर बस्नुहुँदैन’ भनेर जुरुक्क उठेका हुन्।

यो आँट गरेसँगै भएको भदौ २३ को विद्रोह, यसमा भएको हिंसा, यसले भड्किएको आक्रोश र यही मौका छोपेर धमिलो पानीमा माछा मार्ने बैरीको सपना साकार भएसँगै धेरै जुक्ति लगाएर बचाएको संविधानको फुर्को समाएर गरिएको निर्वाचनको घोषणा यहाँहरू सबैलाई विदितै छ। यो अहिले निर्वाचनमा हौसिएका नयाँ-पुराना सबैको सास फेर्ने आस बनेको छ। सार्वजनिक खपतका लागि तर्क–कुतर्क जे–जे गरे पनि, सबै कुरा यहाँहरूलाई छर्लङ्गै छ।

योभन्दा फरक केही भए समयले देखाउँदै जाला र हामीले पनि पत्याऔँला। यो अर्थमा, यो निर्वाचन कसैले नमागेको तर सबैले पाएको लोकतन्त्रको सुन्दर फूल भनेर हौसिएका सबैलाई साधुवाद छ। सदाझैँ निर्वाचन अपेक्षा र आश्वासनको खेती लगाउने बेला हो। मुखियाको यो खेती लगाउने रैतीको भाग्यमा ल्याएको कर्म हो। त्यसैले त खेती भित्र्याएपछि खलो पाए पनि नपाए पनि खेती लगाउन हामी सबै अभिशप्त छौँ।

यो सबै पढेर मन अलि खल्लो भयो होला। धैर्य गर्नुस्, तपाईँहरूलाई सुनाउनुपर्ने अरू धेरै कुरा छन्। तर म आज अरू कुरा गर्दिनँ किनकि यसले नवयुवालाई जस्तै तपाईँहरूलाई समेत उकुसमुकुस हुन्छ। तैपनि हामीजस्ता निरीह नागरिकले तपाईँहरूलाई प्रश्न गर्न पाउने अवसर यही मात्र हो। माफ गर्नुहोला, यो समेत गुमाएर आफैँप्रति कृतघ्न हुन सकिनँ।

सम्भावित माननीयहरू,

यहाँहरूलाई थाहै छ, नेपाली समाज अहिले एउटा गम्भीर ऐतिहासिक र वैचारिक अन्योलमा छ। हामी इतिहासमै पहिलो पटक सबै हिसाबले परनिर्भर छौँ भने अब के गर्ने भन्ने अलमलमा छौँ। अरू कुरा पछि गरौँला। हामीले हाम्रो जीवन अस्तित्वको आधार खानेकुरा के हो भन्नेमा समेत बुझ पचाएको अवस्था छ।

यस्तो किन भयो? धेरै भन्नै परेन, खानेकुराको त कुरै छोडौँ, यसको परिभाषा समेत बाह्य जगतबाट आयात गर्‍यौं। हामीले अरूको आँखाले आफ्नो भूगोल हेर्न खोज्दा आफ्नै पैतालामुनिको माटो चिन्न सकेनौँ। नेपाली कृषिको ओरालो यात्रा केवल तथ्याङ्कको विषय मात्र होइन, यो हाम्रो सभ्यता, संस्कृति र सार्वभौमिकतामाथि उठेको चुनौतीको पहाड हो।

जब कुनै देशले आफ्ना जनतालाई खुवाउने क्षमता गुमाउँछ, ऊ विश्वव्यापी बजार र अन्य सरकारहरूको दयामा निर्भर हुन बाध्य हुन्छ। त्यसैले सबै देशका नेताले “खाद्य सम्प्रभुता“ र “खाद्य सुरक्षा“ को राष्ट्रिय नारा बनाएका छन्।

आज गाउँहरू रित्ता छन्, खेतबारी बाँझा छन्, र युवा पुस्ता विदेशी भूमिमा आफ्नो पसिना बेचिरहेका छन्। सहरका भान्साहरू आयातित र विषाक्त खानाले भरिएका छन्। यो सङ्कट केवल बजेट वा प्रविधिको अभावले आएको होइन। यो त कृषिको सोचमा आएको विचलनको परिणाम हो। नेपाली कृषिको मौलिक विशेषतालाई बिर्सेर हामीले ‘औद्योगिक कृषि’ को आँखा बन्द गरेर सिको गरेको परिणाम हो। अब खेतीपातीमा फर्कन कसैले आँट गर्ने छाँट देखिँदैन, यस्तो अवस्थामा पाखुरा कस्ले सम्हाल्छ? कसैलाई थाहा छैन। यसको जवाफ दिनुपर्ने, समाजको अगुवाइ गर्ने तपाईँहरूबाट यसको जवाफ पाउने आस छ।

अहिलेको व्यवस्थामा, यो लगायत आम मानिसले भोगेका समस्या समाधान गर्न नीति र समाजको व्यवहार सच्याउन दलहरू र तिनका प्रतिनिधिले पहल गर्छन् भन्ने सधैँ अपेक्षा रहन्छ किनकि नागरिकले कर तिर्ने सर्तमा राज्यले दिने सेवा र सुरक्षाको बन्दोबस्त मिलाउने संवैधानिक करार गरेका छन्। आवधिक निर्वाचनमा गर्ने वाचा तिनका घोषणापत्रमार्फत गर्छन्। यसैलाई पत्याएर नागरिकले आफ्नो मत दिने हो। विडम्बना, पद समेत बाँडिसकेका दलहरूले अझैसम्म यो घोषणा गर्ने आँट गरेका छैनन्। घोषणापत्र वाचन गरेकाहरूको समेत खेतीपाती र यो गर्ने किसानी हाम्रो जीवन आधार हो भन्ने औकात देखिएन।

 

आफ्नो बालापन वा बा–आमाका अनुभव सुनेका सबैले यो सबै बिर्सेको ढोँग नगर्ने हो भने नेपाली कृषिको जग के हो भनेर यहाँ गन्थन गर्नै पर्दैन। तैपनि यहाँहरूलाई केही सम्झाउन सुझाव दिने दुस्साहस गरेँ। नेपालको कृषि प्रणाली कुनै अर्को ग्रहबाट आएको वा प्रयोगशालामा जन्मिएको होइन। यो हजारौँ वर्षको अभ्यास, अवलोकन र प्रकृतिसँगको सामीप्यबाट हाम्रा पुर्खाले परिष्कृत गरेको मौलिक प्रणाली हो। यो कृषिका तीनवटा मुख्य खम्बाहरू छन्।

पहिलो, भौगोलिक र जैविक विशिष्टता: नेपालको भूगोल र वातावरण अन्य देशको भन्दा बिलकुलै भिन्न छ। हिमाल, पहाड र तराईको यो सानो दूरीमा पाइने जैविक विविधता संसारका ठूला महादेशमा समेत पाइँदैन। यहाँको सूक्ष्म जलवायु अनुसार फरक–फरक बालीनाली, वस्तुभाउ र यसैमा आश्रित जीवनपद्धति छन्। पहाडको पातलो माटोलाई जोगाउन हाम्रा पुर्खाहरूले बनाएका ‘गरा’हरू इन्जिनियरिङका उत्कृष्ट नमुना हुन्।

दोस्रो, एकीकृत कृषि प्रणाली: नेपाली कृषिको मूल विशेषता हो। नेपाली कृषि कहिल्यै एकल खेतीमा आधारित थिएन। यो त खेतीपाती, पशुपालन, वन र मानव समुदायको एउटा अविभाज्य चक्र थियो। गोठको मल खेतमा जाने, खेतको पराल गोठमा आउने र वनको घाँसपातले दुवैलाई जोड्ने यो चक्र आफैँमा पूर्ण र दिगो थियो।

तेस्रो, हाम्रो खेतीपातीको मौसमी पात्रो: हाम्रो प्रकृतिको उत्पादन चक्रमा लयबद्ध छ। ६ ऋतु र यसैका आधारमा परिष्कृत गरिएको खेतीपाती र खाद्य संस्कृतिको अर्को विशेषता हो। नेपाली कृषि ऋतुहरूको लयसँग बाँधिएको छ। ऋतु अनुसारको खानपान र चाडपर्वले गर्दा मानिसको स्वास्थ्य र प्रकृतिबीच सन्तुलन कायम थियो। कोदो, फापर, जौ, उवा जस्ता रैथाने बालीहरू केवल पेट भर्ने खाना मात्र थिएनन्, ती त औषधीय गुण भएका सन्तुलित विविध खानाका स्रोत हुन्।

आज यी सबै कुरा दन्त्यकथा जस्तै भएका छन्। सन् १९६० को दशकपछि नेपालमा ‘हरित क्रान्ति’ को नाममा औद्योगिक कृषि ढाँचा प्रवेश गर्यो। यो कृषि विकासका नाममा भित्रिएको औपनिवेशिक सत्ता थियो। यो बाह्य हस्तक्षेपले कसरी हाम्रो खेतीपातीको जग भत्कायो? यसको केही चर्चा गरौँ।

यसले सबैभन्दा पहिले रैथाने ज्ञानको अपहरण गर्यो। बाहिरबाट र बाहिर गएर आएका ‘विज्ञ’हरूले नेपाली किसानको हजारौँ वर्षको रैथाने ज्ञानलाई ‘पिछडिएको’ र ‘अवैज्ञानिक’ घोषित गरिदिए। किनकि उनीहरूलाई त्यसै गर्न सिकाइएको थियो। किसानलाई आफ्नो बीउ आफैँ राख्ने, बिरुवालाई चाहिने पोषणको बन्दोबस्त गर्ने ‘विवेकशील विज्ञ’ बाट बाह्य यन्त्र, बीउ र मल किन्ने ‘ग्राहक’ मा परिणत गरियो। ठूला मैदानका लागि बनाइएका मेसिन र प्रविधि नेपालका साना र भिरालो जमिनमा न सान्दर्भिक थिए, न त दिगो नै। तर, विकासको नाममा ती प्रविधिहरू जबर्जस्ती लादिए।

चुच्चे नक्सा देखाएर वा राष्ट्रिय झन्डा ओढेर मागेको भोटले तपाईँहरू कसैलाई नगिज्याओस्।

‘खानाका लागि खेती’ गर्ने किसानको विवेकलाई विस्थापित गरेर ‘पैसाका लागि खेती’ गर्ने दलाल खेती ल्याइयो। यसले किसानलाई प्रकृतिसँग होइन, बजारसँग जोड्यो। बजारको माग पूरा गर्न प्रयोग गरिएका रासायनिक मल र विषादीले बिस्तारै माटोको प्राण नै निकालिदियो। विषाक्त खेतीले मानिसको प्राण निकाल्ने काम समेत भइरहेको छ।

यसैमाथि थपिएको अस्वाभाविक तापक्रम वृद्धि र वर्षाको अनिश्चितताले नेपाली कृषिलाई थप जोखिममा पारेको छ। हाम्रा रैथाने र जलवायु–उत्थानशील बालीहरू हराउँदै जाँदा भविष्यमा खाद्य सङ्कटको जोखिम अझ बढेको छ।

यो क्रम अहिलेसम्म चलिरहेको छ। अहिले त यो नै सार्वभौम ज्ञान बनेको छ। सायद यहाँहरूलाई समेत यस्तै लाग्छ। यो सबै तपाईँहरूजत्तिको देश–दुनियाँ देखेका सुकिला–मुकिलालाई थाहा नहुने कुरै छैन। नेपाली कृषिको भविष्य तपाईँहरूको हातमा छ। कृषि केवल पेट पाल्ने माध्यम मात्र होइन, यो त हाम्रो स्वतन्त्रता, हाम्रो स्वास्थ्य र हाम्रो पहिचान हो भन्ने कुरा त कति दोहोर्‍याउने हो र?

सम्भावित माननीयहरू,

विगतमा तपाईँहरूले गरेका र अहिले नवयुवाले गरेको विद्रोहमा कुनै भिन्नता छैन। यी सबैमा आम अपेक्षा सुरक्षित भविष्यको हो। हैन भने के हो आफैँ मनन गर्नुहोला। जब कुनै देशले आफ्ना जनतालाई खुवाउने क्षमता गुमाउँछ, ऊ विश्वव्यापी बजार र अन्य सरकारहरूको दयामा निर्भर हुन बाध्य हुन्छ। त्यसैले सबै देशका नेताले “खाद्य सम्प्रभुता“ र “खाद्य सुरक्षा“ को राष्ट्रिय नारा बनाएका छन्। याद गर्नुहोस्, यो केवल खानाको उपलब्धताको कुरा मात्र होइन, यो राष्ट्रिय सुरक्षा र आत्मनिर्भरताको विषय पनि हो।

अन्त्यमा यत्ति भनौँ। चुच्चे नक्सा देखाएर वा राष्ट्रिय झन्डा ओढेर मागेको भोटले तपाईँहरू कसैलाई नगिज्याओस्।

तपाईंहरूकै- कृष्णप्रसाद पौडेल ।

लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?