+
+
Shares
फेस्टिभल :

‘गाजा युद्ध’ बारे मौन देखिएपछि ८० फिल्ममेकरले लेखे बर्लिनलाई पत्र : हामी निराश छौं

यो पत्र सन् २०२६ को बर्लिनाले महोत्सवको बीचमा आएको हो, जहाँ यस वर्ष राजनीति प्रमुख विषय बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्लिन फिल्म फेस्टिभलका ८० भन्दा बढी पूर्व र वर्तमान कलाकारले गाजामा भइरहेको द्वन्द्वमा महोत्सवको मौनता र सेन्सरको विरोधमा खुला पत्रमा हस्ताक्षर गरेका छन्।
  • पत्रमा कलाकारहरूले बर्लिनालेले प्यालेस्टिनीविरुद्ध जारी हिंसामा साथ नदिनुपर्ने र फिल्म निर्माण र राजनीतिलाई अलग गर्न नसकिने उल्लेख गरेका छन्।
  • पत्रले बर्लिनालेलाई प्यालेस्टिनी नरसंहार र मानवअधिकार उल्लङ्घनप्रति स्पष्ट विरोध जनाउन र जर्मनी सरकारको हतियार आपूर्तिमा रोक लगाउन आह्वान गरेको छ।

बर्लिन फिल्म फेस्टिभलका पूर्व र वर्तमान ८० जनाभन्दा धेरै सहभागी कलाकारले गाजामा भइरहेको द्वन्द्वका विषयमा महोत्सवले साँधिरहेको ‘मौनता’ र बोल्ने कलाकारलाई गरिएको भनिएको ‘सेन्सर’ को विरोध गर्दै खुला पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त पत्रमा टिल्डा स्विन्टन, हाभियर बार्देम, एन्जेलिकी पापुलिया, सालेह बकरी, टाटियाना मस्लानी, पिटर मुलन र टोबियास मेन्जिज जस्ता कलाकार तथा माइक ली, लुकास धोन्त, नान गोल्डिन, मिगेल गोमेस, एडम म्याकके र आवी मोग्राबी जस्ता निर्देशक पनि समावेश छन् ।

पत्रमा उनीहरूले ‘हाम्रो उद्योगका संस्थाहरूले प्यालेस्टिनीहरूविरुद्ध जारी रहेको भयावह हिंसामा साथ नदिनुपर्छ भन्ने हाम्रो अपेक्षा छ’ भनेका छन् ।

यो पत्र सन् २०२६ को बर्लिनाले महोत्सवको बीचमा आएको हो, जहाँ यस वर्ष राजनीति प्रमुख विषय बनेको छ । महोत्सवको ओपनिङ पत्रकार सम्मेलनमा जुरी प्रमुख विम वेन्डर्सले दिएको अभिव्यक्तिपछि यो विषय झन् चर्चामा आएको हो ।

महोत्सवमा आर्थिक सहयोग गरिरहेको जर्मनी सरकार र गाजा युद्धबारे सोधिएको प्रश्नमा वेन्डर्सले ‘हामी राजनीतिबाट टाढा रहनुपर्छ’ भनेका थिए । उनले फिल्म निर्माणलाई ‘राजनीतिको ठीक विपरीत’ पनि बताएका थिए ।

त्यसपछि उठेको विवादका कारण महोत्सव प्रमुख ट्रिसिया टटलले एक विज्ञप्ति जारी गर्दै भनिन्, ‘कलाकारलाई महोत्सवका अघिल्ला वा वर्तमान अभ्यासबारे, जसमा उनीहरूको कुनै नियन्त्रण हुँदैन, व्यापक बहसमा टिप्पणी गर्न अपेक्षा गरिनु हुँदैन ।’

खुला पत्रमा हस्ताक्षरकर्ताले फिल्म निर्माण र राजनीतिबारे विम वेन्डर्सका विचारसँग आफूहरू ‘पूर्ण रूपमा असहमत’ रहेको बताएका छन् । उनीहरूले भनेका छन्, ‘यी दुईलाई अलग गर्न सकिँदैन ।’

उनीहरूले अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा “परिवर्तनको लहर” सुरु भएको पनि उल्लेख गरेका छन् । पत्रमा ५ हजारभन्दा बढी फिल्मकर्मी, जसमध्ये केही चर्चित हलिउड नामहरू पनि छन् । उनीहरूले इजरायली फिल्म कम्पनी र संस्थासँग काम गर्न अस्वीकार गरेको उदाहरण दिइएको छ ।

पत्रमा बर्लिनालेले विगतमा इरान र युक्रेनका जनताविरुद्ध गरिएका ‘अत्याचार’ बारे स्पष्ट धारणा सार्वजनिक गरेको उल्लेख गरिएको छ ।

पत्रको निष्कर्षमा भनिएको छ, ‘हामी बर्लिनालेलाई आफ्नो नैतिक दायित्व पूरा गर्न, इजरायलद्वारा प्यालेस्टिनीहरूविरुद्ध गरिएको भनिएको नरसंहार, मानवताविरुद्धका अपराध र युद्ध अपराधप्रति स्पष्ट विरोध जनाउन र इजरायललाई आलोचना तथा जवाफदेहिताको मागबाट जोगाउने कार्यमा आफ्नो संलग्नता पूर्ण रूपमा अन्त्य गर्न आह्वान गर्छौं ।’

तल उक्त पत्रको पूर्ण पाठ हेर्न सकिन्छ :

बर्लिनालेका लागि खुला पत्र- फेब्रुअरी १७, २०२६

हामी फिल्मकर्मीहरू हौं, जो सबै विगत र वर्तमान बर्लिनाले सहभागी हौं । हाम्रो उद्योगका संस्थाहरूले प्यालेस्टिनीविरुद्ध जारी हिंसामा कुनै पनि प्रकारको सहकार्य नगर्ने अपेक्षा राख्छौं । गाजामा प्यालेस्टिनीहरूविरुद्ध भइरहेको भनिएको नरसंहार र त्यसमा जर्मन राज्यको भूमिकाको विरोध गर्ने कलाकारलाई सेन्सर गरिएको भन्दै बर्लिनालेको संलग्नताप्रति हामी चिन्तित छौं । प्यालेस्टाइन फिल्म इन्स्टिच्युटका अनुसार, महोत्सवले ‘संघीय प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिँदै फिल्म निर्मातालाई निगरानी गरेको’ छ ।

गत वर्ष बर्लिनालेको मञ्चबाट प्यालेस्टिनीको जीवन र स्वतन्त्रताको पक्षमा बोलेका फिल्मकर्मीलाई आयोजकले कडा रूपमा सचेत गराएको रिपोर्ट गरिएको थियो । एक फिल्मकर्मीमाथि प्रहरी अनुसन्धान गरिएको बताइएको थियो, र बर्लिनाले नेतृत्वले अन्तर्राष्ट्रिय कानुन र ऐक्यबद्धतामा आधारित उनको भावुक मन्तव्यलाई ‘भेदभावपूर्ण’ भएको भनी संकेत गरेको आरोप छ । गत वर्षको महोत्सवबारे ‘फिल्म वर्कर्स फर प्यालेस्टाइन’ सँग कुरा गर्दै अर्का एक फिल्मकर्मीले भनेका थिए, “त्यहाँ डर र असुरक्षाको वातावरण थियो, आफूलाई सुरक्षित नभएको र उत्पीडित भइरहेको महसुस हुन्थ्यो, जुन मैले यसअघि कुनै फिल्म महोत्सवमा कहिल्यै अनुभव गरेको थिइनँ ।” हामी संस्थागत दमन र प्यालेस्टिनीविरोधी विभेदको विरोधमा आफ्ना सहकर्मीहरूसँग ऐक्यबद्धता जनाउँछौं ।

हामी बर्लिनाले २०२६ का निर्णायक मण्डलका अध्यक्ष विम वेन्डर्सले फिल्म निर्माण “राजनीतिको ठीक विपरीत” भएको भन्ने अभिव्यक्तिसँग पूर्ण रूपमा असहमत छौं । यी दुईलाई अलग गर्न सकिँदैन । जर्मन राज्यबाट वित्तपोषित बर्लिनालेले अभिव्यक्ति स्वतन्त्रता तथा विचारसम्बन्धी संयुक्त राष्ट्रसंघकी विशेष प्रतिवेदक इरेन खानले हालै आलोचना गरेझैं, प्यालेस्टिनी अधिकारको समर्थनलाई सीमित गर्न कडा कानुनहरूको दुरुपयोग गर्ने अभ्यासलाई बढावा दिएको हो कि भन्नेबारे हामी गम्भीर चिन्ता व्यक्त गर्छौं । कलाकार आइ वेइवेइले पनि हालै जर्मनीले ‘१९३० को दशकमा गरेको जस्तै’ व्यवहार गरिरहेको टिप्पणी गरेका थिए । यसैबीच, अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित हतियार प्रयोग गरी २,८४२ प्यालेस्टिनी मारिएको भन्ने नयाँ विवरण सार्वजनिक भइरहेका छन् । पर्याप्त प्रमाण हुँदाहुँदै पनि जर्मनीले गाजामा प्रयोग भइरहेको हतियार आपूर्ति जारी राखेको आरोप पत्रमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय फिल्म क्षेत्रमा परिवर्तनको लहर देखिन थालेको छ । इन्टरनेशनल डकुमेन्ट्री फेस्टिभल एम्स्टर्डम, ब्ल्याकस्टार फिल्म फेस्टिभल (अमेरिका) र फिल्म फेस्ट गेन्त (बेल्जियम) लगायतका धेरै महोत्सवले अपार्थाइड इजरायलविरुद्ध सांस्कृतिक बहिष्कारको समर्थन गरेका छन् । ५,००० भन्दा बढी फिल्मकर्मी, जसमध्ये प्रमुख हलिउड तथा अन्तर्राष्ट्रिय व्यक्तित्व पनि छन् । उनीहरूले “सहभागी ठहरिएका इजरायली फिल्म कम्पनी र संस्थासँग काम नगर्ने” घोषणा गरेका छन् ।

तर बर्लिनालेले अहिलेसम्म आफ्नै समुदायको मागअनुसार प्यालेस्टिनीको जीवन, मर्यादा र स्वतन्त्रताको अधिकारलाई पुष्टि गर्ने; प्यालेस्टिनीहरूविरुद्ध भइरहेको भनिएको नरसंहारको निन्दा गर्ने; र कलाकारले प्यालेस्टिनी मानवअधिकारको समर्थनमा स्वतन्त्र रूपमा बोल्न पाउने अधिकार सुनिश्चित गर्ने कुनै स्पष्ट वक्तव्य जारी गरेको छैन । पत्रमा भनिएको छ, यो कम्तीमा पनि गर्नैपर्ने काम हो ।

प्यालेस्टाइन फिल्म इन्स्टिच्युटले भनेझैं, “प्यालेस्टिनीहरूको नरसंहारबारे बर्लिनालेको संस्थागत मौनता र फिल्मकर्मीको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न अस्वीकार गरेको अवस्थाले हामी स्तब्ध छौं ।” विगतमा इरान र युक्रेनका जनतामाथि गरिएका अत्याचारबारे स्पष्ट धारणा व्यक्त गरेजस्तै, हामी बर्लिनालेलाई आफ्नो नैतिक दायित्व पूरा गर्न, प्यालेस्टिनीविरुद्ध गरिएको भनिएको नरसंहार, मानवताविरुद्धका अपराध र युद्ध अपराधप्रति स्पष्ट विरोध जनाउन, तथा आलोचना र जवाफदेहिताबाट जोगाउने कार्यमा आफ्नो संलग्नता पूर्ण रूपमा अन्त्य गर्न आह्वान गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?