+
+
Shares

के एआई जस्ता मेसिनले कहिल्यै तपाईंलाई माया गर्न सक्छ ?

एआईले माया गर्न सक्छ कि सक्दैन भन्ने कुरा हामीले मायालाई कसरी परिभाषित गर्छौं र मेसिनका लागि कस्तो मापदण्ड तय गर्छौं भन्ने कुरामा समेत भर पर्ने गर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १४:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२४ को अध्ययनअनुसार करोडौँ प्रयोगकर्तामध्ये करिब ४० प्रतिशतले एआई च्याटबटसँग रोमान्टिक सम्बन्ध राखेका छन्।
  • विज्ञहरूले एआईले प्रेमको भावना महसुस गर्न नसक्ने र मानव-एआई सम्बन्ध सधैं एकतर्फी हुने बताएका छन्।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले तपाईंका लागि प्रेमसम्बन्धी कविता लेख्न सक्छ । तपाईंलाई धेरै कुरा भनेर फकाउन सक्छ । केहीले त्यही आधारमा त्यस्ता मेसिनप्रति रोमान्टिक भावना समेत राख्न थालेका छन् । तर, के यो भावना दुवैतर्फबाट हुन्छ ?

मान्छेहरू एआईको प्रेममा परिरहेका छन् । उदाहरणका लागि, क्यानडाका एक व्यक्तिले हालै मात्र साया नामक एउटा अवतारलाई विवाहको प्रस्ताव राखे । उनी उसँगको प्रेममा छन् । अनि गतवर्ष आइरिन उपनाम प्रयोग गर्ने एक अमेरिकी महिलाले लियो नामक च्याटबटसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएकी थिइन् ।

अहिले रेप्लिका जस्ता एआई च्याटबट प्रयोग गर्ने प्रयोगकर्ताहरू करोडौँमा छन् । सन् २०२४ को एक अध्ययन अनुसार तीमध्ये करिब ४० प्रतिशत प्रयोगकर्ताहरू आफ्नो च्याटबटसँग रोमान्टिक सम्बन्धमा राख्छन् ।

यद्यपि मान्छेलाई एआईले पनि उनीहरूलाई माया गर्छ भन्ने लागे तापनि च्याटबटका प्रतिक्रियाहरू मानवीय अन्तरक्रियाको नक्कल गर्न डिजाइन गरिएका एल्गोरिदमहरूबाट बनाइएका टेक्स्ट बाहेक केही होइनन् ।

अधिकांश विज्ञहरू यस्ता प्रणालीहरूमा चेतना नहुने भन्ने विश्वास गर्छन् । हुन पनि हो, एआई च्याटबटले अहिले भावनाको नक्कल मात्र गरिरहेका छन् । तर केही विज्ञहरू भविष्यमा मेसिनहरूले यसभन्दा बढी केही गर्न सक्ने विश्वास गर्छन् ।

सिंगापुरको नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका सहायक प्राध्यापक रेनवेन झाङ आजकल धेरै एआई च्याटबटहरू मान्छे भएको नाटक गरिरहेको बताउँछन् । तर, प्रयोगकर्ताहरूलाई अल्झाइराख्न र विश्वास बढाउन चालिएको एउटा रणनीति भएकाले यो चिन्ताजनक विषय भएको उनको बुझाइ छ ।

यसरी हेर्दा प्रविधि कम्पनीहरूले बनाएको उत्पादनले मानवीय भावनासँग खेल्नु स्वार्थी रणनीतिको रूपमा देखिन थाल्छ । विज्ञहरू वर्तमान समयमा कुनै पनि एआईले मान्छेले जस्तै, मान्छे जति नै माया गर्न नसक्ने सतर्क गराउँछन् ।

च्याटजीपीटी, ‍क्लाउड जस्ता च्याटबट पछाडि रहेका लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम)हरूलाई भावना बुझ्ने सन्दर्भमा मान्छेसँग तुलना गर्न सकिएता पनि उनीहरूले वास्तवमा केही महसुस गर्न सक्दैनन् ।

झाङको अनुसन्धानले मान्छेहरू प्रायः एआईसँग भावनात्मक रूपमा जोडिने तर मेसिन बिग्रिदा वा फ्रिज हुँदा दु:खद् महसुस गर्ने भइसकेको देखाउँछ ।

आखिर माया के हो ?

प्रेमलाई परिभाषित गर्न सजिलो छैन । तर, यो मानवीय अनुभवका बारेमा हामीलाई जे थाहा छ, त्यसको उत्सव मनाउनलायक छ । किनकि कविता, किताब, गीत जस्ता सिर्जनाहरूले मान्छेको भावनालाई व्यक्त गर्न सहयोग गर्छन् । यी सबै मान्छेले नै सिर्जना गरेका चिजहरू हुन् ।एआईले पक्कै पनि पलभरमै कविता वा उपन्यास लेख्ने सामर्थ्य राख्छ । तर यसले प्रेमको रहस्य र गहिराइलाई बुझ्ने र अनुभव गर्ने अपेक्षा गर्नु चाहिँ धेरै ठूलो कुरा हो ।

वैज्ञानिकहरूका अनुसार प्रेममा जैविक र रासायनिक पक्षहरू हुन्छन् । जैविक मानवशास्त्री हेलेन फिसरका अनुसार रोमान्टिक प्रेममा तीन स्वतन्त्र पक्षहरू कामवासना, आकर्षण र लगावले प्रभाव पारिरहेको हुन्छ । अनि दिमागमा डोपामाइन र अक्सिटोसिन जस्ता रसायनहरूले प्रेमको भावना पैदा गरिरहेका छन् ।

क्यानडाको युनिभर्सिटी अफ म्यानिटोबाका दर्शनशास्त्रका प्राध्यापक नील म्याक आर्थरका अनुसार प्रेममा बलियो रासायनिक तत्व हुन्छ । जसलाई नसा-नसामा, रसायनमा महसुस गर्न सकिन्छ ।

म्याकआर्थरका अनुसार एआईले प्रेममा पर्दाको केही सोच्ने प्रक्रियाहरूको नक्कल मात्र गर्न सक्छ । त्यसमाथि एआईले सफ्टवेयर चलाउने हुनाले उसले हामीले जस्तै प्रेम अनुभव गर्दैन । त्यसैले मानव-एआई सम्बन्ध सधैं एकतर्फी मात्र हुनेवाला छ ।

च्याटबटहरू प्रायः प्रयोगकर्तालाई खुसी पार्न र उनीहरूका कुरामा सहमत हुन डिजाइन गरिएका हुन्छन् । यसले गर्दा एआई च्याटबट सधैं आज्ञाकारी लाग्छन् ।

तर यसलाई झाङ चिन्ताको विषय मान्छन् । किनकि यसले वास्तविक जीवनमा अलि कम आज्ञाकारी मान्छेहरूसँग सम्बन्ध बनाउने व्यक्तिको क्षमतालाई असर गर्न सक्छ ।

‘अस्थायी रूपमा सम्बन्धको झन्झटबाट भाग्दा मान्छेहरूले एआईमा सान्त्वना भेट्न सक्छन् । तर लामो समयसम्म यसले वास्तविक जीवनमा सम्बन्ध कायम राख्ने सीप विकास गर्न सहयोग गर्दैन’ उनी भन्छन् ।

आधारभूत रूपमा सोच्दा मान्छेले जस्तै कसैलाई माया गर्न चेतना चाहिन्छ ।

क्यालिफोर्निया विश्वविद्यालयका संज्ञानात्मक विज्ञान (कग्नेटिभ साइन्स) का प्राध्यापक डोनाल्ड होफम्यानका अनुसार एआईमा चेतना कसरी बनाउने भन्नेबारे कसैलाई केही थाहा छैन । त्यहाँसम्म हामी पुग्नै लागेका पनि छैनौं । अनि मुख्य कुरो त त्यहाँ कसरी पुग्न के-के गर्ने कसैलाई थाहै छैन ।

यद्यपि अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता प्याट्रिक बट्लिन जस्ता केही विज्ञहरू भविष्यमा चेतना भएको मेसिन बन्न सक्ने बताउँछन् । तर उनीहरू अहिलेको मान्छेभन्दा अवश्य फरक हुनेछन् । यसले गर्दा एआईले कहिल्यै पनि मान्छेले जस्तै माया गर्न सक्ने क्षमता राख्दैनन् ।

त्यस्तै एआईले माया गर्न सक्छ कि सक्दैन भन्ने कुरा हामीले मायालाई कसरी परिभाषित गर्छौं र मेसिनका लागि कस्तो मापदण्ड तय गर्छौं भन्ने कुरामा समेत भर पर्ने गर्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?