७ फागुन, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आज (बिहीबार) दिउँसो पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् । मलंगवा नगरपालिका–४ को ढाँका बोर्डर टोलमा १५ वर्षीय आकाश राम घाइते भएका हुन् ।
घर नजिकै निर्माणाधीन हनुमान मन्दिरभित्र रातो कपडाले बेरिएको अवस्थामा रहेको वस्तु फेला पारेपछि आकाशले खोलेर हेरेका थिए ।
नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
गोली उनको दाहिने हातको पन्जामा लागेको छ। उनलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । चिकित्सकका अनुसार उनको अवस्था मध्यम छ ।
प्रहरीले घटनास्थलबाट एक थान पेस्तोल बरामद गरेको छ । पेस्तोलमा पड्किएको खोका अड्किएको अवस्थामा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4