+
+
Shares

कर्णालीका सपना, हाम्रा सपना, बोकेर जान चाहन्छौं : बालेन (सम्बोधनको पूर्णपाठ)

सम्बोधनको क्रममा बालेनले कर्णालीबारे प्रशंसा गरे । राजा महेन्द्र सम्झंदै उनले रारा ताललाई ‘स्वर्गकी अप्सरा भएको ठाउँ’ भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ७ गते १५:२८

७ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले कर्णालीका सपना बोकेर आफूहरू संसद्मा जाने बताएका छन् ।

कर्णालीको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले अहिलेसम्म कर्णालीको गरिबी धेरै नेताले देखेको भए पनि बुझ्ने काम कसैले नगरेको बताए ।

सम्बोधनको क्रममा कर्णालीबारे प्रशंसा गरे । राजा महेन्द्र सम्झंदै उनले रारा ताललाई ‘स्वर्गकी अप्सरा भएको ठाउँ’ भने ।

‘देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं,’ बालेनले सम्बोधनको क्रममा भने ।

काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई जोगाएर राखेको बताउँदै कर्णालीमा पनि त्यही कुरा जोगाउन आफूहरू लाग्ने उनले बताए ।

सुर्खेतमा बालेनले के भने ?

यो देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भन्नुभएको जस्तो स्वर्गकी अप्सरा भएको ठाउँमा आउन पाउँदा खुसी लागेको छ । देशको सबैभन्दा लामो नदी रहेको ठाउँ, देशको सबैभन्दा ठूलो जिल्ला रहेको ठाउँ, देशको सबैभन्दा ठूलो गाउँपालिका रहेको ठाउँ, देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ, जुन गहिराइलाई आजसम्म कुनै सरकारले, कुनै पार्टीले, देशले बुझ्न सकेन, त्यो गहिराइलाई बुझ्न चाहन्छौं । त्यो बुझ्ने पार्टी हो रास्वपा । आजको दिनमा डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभर पुग्नसक्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहीँ चितवन र झाप पुग्नसक्दैन । यहाँको उत्पादनलाई कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बन्न चाहन्छ रास्वपा ।

आफैंमा सिंजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गमस्थल, खस भाषाको उद्गमस्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ । यो सबै भयो भने एउटा सभ्यता मानिन्छ । त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ, रास्वपा ।

जसरी काठमाडौं महानगरपालिकामा नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई हामीले जोगाएर राखेका छौं, त्यसरी नै यहाँ कर्णालीको सभ्यतालाई हामी जोगाएर राख्न चाहन्छौं । त्यो जोगाएर राख्ने पार्टी हो, रास्वपा ।

देशमा अझै पनि भोकमरी छ, अझै पनि ४ वर्ष मुनिका बालबालिकाको मृत्युदर बढ्दो छ । महिला, आमाहरूको मृत्युदर बढ्दो छ । त्यो कर्णालीमा छ । त्यो कर्णालीको पीडा, गरिबी, दु:खलाई बेच्ने नेता धेरै आए । त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्, अहिलेसम्म कोही आएको छैन, त्यो गरिबीलाई बुझ्ने नेता बन्न चाहन्छ, रास्वपाका नेताहरू ।

यहाँको पर्यटन, सम्भावन, कृषि, खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्न पाउँ । तपाईंहरूको आशिर्वाद लिन पाउँ र अस्ति मैले फेसबुकमा लेखेजस्तै, अब कर्णालीका सुइना, हम्मा सुइना भनेजस्तै तपाईंहरूको सपना बोकेर जान पाउँ । त्यो सपना बोकेर जाने वाचापत्र आज कर्णालीबाट घोषणा गरेका छौं । आजबाट ती सबै तपाईंका सपना हाम्रा हुनेछन् । ती सपना बोकेर जान पाऔं, धेरै धेरै धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?