News Summary
Generated by OK AI. Editorially reviewed.- जाडो मौसममा प्यास कम लाग्ने र पसिना कम आउने हुँदा मानिसहरूले पानी कम पिउँछन्, तर शरीरलाई गर्मी जत्तिकै पानी आवश्यक हुन्छ।
गर्मी मौसममा पसिना आउने हुनाले हामीले प्रायः हातमा पानीको बोतल बोकिरहन्छौं । घरबाट निस्कँदा, बाटोमा हिँड्दा वा घर फर्किँदा हामी तिर्खा मेटाउन पानी पिइरहन्छौं । तर, जाडो सुरु हुन साथै यो बानी परिवर्तन हुन्छ । भनौं न, पानीको बोतलसँग हाम्रो दूरी बढ्दै जान्छ ।
अहिले नेपालमा गर्मी याम सुरु हुनै लागेको छ । तर पनि काठमाडौंसहित धेरै भेगमा अझै जाडो छ । यस्तोमा तपाईंले कहिल्यै सोच्नुभएको छ, जाडोमा प्यास किन लाग्दैन ? त्यसले के असर गर्छ ? के त्यो बानी सामान्य हो?
जाडोमा पनि शरीरलाई उत्तिकै चाहिन्छ पानी
स्वास्थ्य विज्ञहरूका अनुसार जाडो मौसममा हाम्रो प्यास कम हुन्छ । पसिना पनि कम आउँछ । यसकारण नै हामीलाई शरीरलाई पानी कम चाहिएको भान हुने गर्छ । यस्तोमा धेरैले त बारम्बार शौचालय जानुपर्ने डरले पनि जानीजानी पानी कम पिउने गर्छन् ।
तर, वैज्ञानिक रूपमा नै जाडोमा पनि शरीरलाई गर्मीमा जत्तिकै पानीको आवश्यकता पर्ने पुष्टि भइसकेको छ । जाडो मौसममा मिर्गौलाले पिसाबको माध्यमबाट बढी पानी बाहिर निकाल्छ । साथै घर वा कार्यालयमा प्रयोग गरिने हिटर र इन्डोर हिटिङ सिस्टमले हावालाई सुक्खा बनाइरहेको हुन्छ । यसो हुँदा छाला र श्वासप्रश्वासको माध्यमबाट शरीरको पानी खेर गइरहेको हुन्छ ।
त्यस्तै बाक्लो लुगा लगाउनाले पसिना नदेखिए पनि शरीरबाट सूक्ष्म रूपमा पानी बाहिर निस्किरहेको हुन्छ । तर, पानी कम पिउँदा शरीरमा क्रोनिक डिहाइड्रेसन (लामो समयसम्म पानीको कमी) हुन सक्छ, जसले मिर्गौलाको पत्थरी र मूत्रमार्गको संक्रमणको जोखिम बढाउँछ ।
प्यास किन कम लाग्छ ?
जाडो मौसममा शरीरले तापक्रम जोगाउन रक्तनलीहरूलाई खुम्च्याउने गर्छ । यसले गर्दा शरीरको भित्री भागमा रगतको मात्रा बढी देखिन्छ । र, मस्तिष्कलाई शरीरमा पानी पर्याप्त छ भन्ने भ्रम हुन्छ । यसैकारण प्यास लाग्ने क्षमता ४० प्रतिशतसम्म कम हुन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् । तर, शरीरको आधारभूत आवश्यकता भने साढे दुईदेखि तीन लिटर पानी नै रहन्छ ।
कम पानी पिउँदा हुने गम्भीर समस्या
हाम्रो शरीरको करिब ६० प्रतिशत भाग पानीले बनेको हुन्छ । पानीले नै रगतको माध्यमबाट अक्सिजन र पोषक तत्वहरू शरीरका कोषहरूसम्म पुऱ्याउँछ । तर, कम पानी पिउँदा मुटु र मस्तिष्कको जोखिम बढ्छ । किनकि पानी कम हुँदा रगत बाक्लो हुन्छ । बाक्लो रगत पम्प गर्न मुटुलाई बढी मेहेनत गर्नुपर्छ, जसले रक्तचाप बढाउँछ । यसले मस्तिष्कघात र हृदयाघातको जोखिम निम्त्याउछ ।
त्यस्तै मिर्गौलाको समस्या पनि उत्तिकै हुन्छ । किनकि पानीको कमीले मिर्गौलामा दबाब पर्छ । यस्तो हुँदा पत्थरी बन्ने सम्भावना धेरै रहन्छ । पाचन प्रणालीमा समस्या हुने, मानसिक र शारीरिक थकान हुने त सामान्य भइहाले । थकान बढी लाग्छ, टाउको दुख्छ, चक्कर लाग्छ, छटपटी र आलस्य हुन्छ भने त्यो पनि शरीरमा पानी कम भएको संकेत हो ।
कसलाई बढी खतरा छ ?
विशेषत: शरीरमा पानीको अभाव हुँदा वृद्धवृद्धा र दीर्घरोगीलाई नै बढी खतरा हुन्छ । किनकि उनीहरूलाई पहिल्यै उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या भएको हुन सक्छ । त्यस्तोमा पानी कम हुँदा बढी खतरा हुने हो । त्यस्तै हर्मोनल परिवर्तनका कारण महिलाहरूमा डिहाइड्रेसनले महिनावारीको दुखाइ बढाउने, ग्यास हुने र मुड स्विङ्स जस्ता समस्या समेत देखिन्छन् ।
प्रतिक्रिया 4