७ फागुन, काठमाडौं । नेकपा एमालेले सबै किशोरीलाई निःशुल्क प्याड दिने घोषणा गरेको छ । बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमालेले शिक्षकको मर्यादा राख्दै सामाजिक सुरक्षामा लैजाने घोषणा गरेको छ ।
‘सामुदायिक विद्यालयको शैक्षिक पूर्वाधारमा राज्यको लगानी बढाउँदै उद्यमशिलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ शिक्षा क्षेत्रलाई अभिमुख गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ ।
विद्यालय शिक्षालाई क्रमशः अनिवार्य र निःशुल्क बनाउँदै पूर्व–प्राथमिक शिक्षासहित सबै बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने घोषणा एमालेले गरेको छ ।
‘आर्थिक, भौगोलिक वा शारीरिक अवस्थाका कारण कोही पनि बालबालिका विद्यालय शिक्षाबाट र किशोर–किशोरी प्राविधिक वा उच्च शिक्षाबाट बञ्चित हुने अवस्था अन्त्य गर्नेछौं,’ एमालेले घोषणा गरेको छ ।
शिक्षा प्रणालीलाई भर्ना र परीक्षा केन्द्रित मात्र नराखी राष्ट्रप्रेम, उद्यमशिलता, सामाजिक उत्तरदायित्व, नवप्रवर्तनशील सोच र राष्ट्रिय सामर्थ्य अभिवृद्धिमा योगदान गर्नसक्ने जनशक्ति निर्माणतर्फ लैजाने उल्लेख गरेको छ ।
व्यावहारिक, नैतिक, राष्ट्रभक्तिमूलक र डिजिटल मैत्री पाठ्यक्रम तथा शैक्षिक सामग्री विकास गर्ने घोषणा गरेको छ ।
‘शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकको क्षमता, वृत्तिविकास र मर्यादा अभिवृद्धि गर्दै उच्च योग्यताका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेसामा आकर्षित गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ ।
विद्यालय शिक्षा ऐन र उच्च शिक्षासम्बन्धी ऐन जारी गर्ने घोषणा गरेको छ । विश्व विद्यालयमा देखिएका बेथितिको अन्त्य गर्दै प्राज्ञिक स्वायत्तता कायम गर्ने घोषणा एमालेले गरेको छ ।
विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई एकीकृत गर्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रको सहकार्यमा विज्ञान पार्क, प्रविधि पार्क, नवप्रवर्तन केन्द्र, इन्क्युबेसन सेन्टर तथा ग्रामीण नवप्रवर्तनशाला स्थापना गर्ने घोषणा पनि एमालेले गरेको छ ।
एमालेले शिक्षा–अनुसन्धान–उद्यमशिलताको सम्बन्ध सुदृढ गर्दै युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने भनेको छ ।
‘आधुनिक शिक्षासँगै नेपालको मौलिक शिक्षाको पुनर्जागरण गर्दै नेपाललाई शान्ति अध्ययन, योग, आयुर्वेद, ध्यान, मानसिक स्वास्थ्य र पूर्वीय दर्शनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्नेछौं,’ घोषणापत्रमा उल्लेख छ ।
पढ्दै कमाउँदै, कमाउँदै पढ्दै कार्यक्रममार्फत उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति घटाउने घोषणा एमालेले गरेको छ ।
विद्यार्थी संख्या न्यून भएका सामुदायिक विद्यालय गाभ्ने, शिक्षक दरबन्दी मिलान गर्ने, आवासीय व्यवस्था गर्ने तथा छात्रवृत्ति र सहुलियत कार्यक्रमलाई एकीकृत र प्रभावकारी बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया 4