७ फागुन, सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँच वर्षे चुनावी वाचा पत्र कर्णालीको राजधानी वीरेन्द्रनगरबाट सार्वजनिक गरेको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचन २०८२ को बाचा पात्र सार्वजनिक गरेको रास्वपाले यसलाई परिवर्तन उद्घोष भनेको छ ।
चुनावी सभामा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेसहितका नेताहरूले संयुक्त रूपमा पार्टीको चुनावी बाचा पत्र सार्वजनिक गरे । रास्वपाले आफ्नो वाचा पत्रमा मध्यम वर्गलाई महत्त्व दिएको दाबी गरेको छ ।
७५ औँ प्रजातन्त्र दिवसको अवसर पारेर त्यो पनि कर्णालीबाट ‘बाचापत्र’ घोषण गरिनु संयोग मात्र नभएको सभापति लामिछानेले बताए । ‘कर्णालीबाट बाचा पत्र सार्वजनिक गर्नुको अर्थ छ, पछाडि पारिएको कर्णालीलाई अव पछाडि पर्न नदिने ‘बाचा’ आजको बाचा पत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो’ सभापति लामिछानेले भने ।
लामिछानेले सम्बोधनको सुरुमै ‘सञ्चारकर्मीका रूपमा रिर्पोटिङ्ग गर्दै कर्णाली आएको र एउटा अस्पताल बोकेर गएको’ भन्दै कर्णाली प्रतिको सहानुभूति बटुले । कालिकोटको रास्कोटमा १५ शय्याको अस्पताल निर्माण गरेका उनले त्यसको श्रेय लिए । रविले त्यसो भन्दै गर्दा मञ्च ‘रवि दाई, हाई हाई’ को नारा गुन्जियो ।

मञ्चको तालीले हौसिएका रवि त्यतिमै रोकिएनन् जनताले बहुमत दिए पाँच वर्षमा देशको भविष्य बदल्ने बाचा समेत गरे । ‘आजसम्म नेता र पार्टीले जिते, यो पटक जनता जिताउने हो । त्यसका लागी रास्वपालाई भोट दिनुहोला,’ लामिछानेले भने । पाँच वर्ष सरकार चलाउने म्यान्डेट दिन आग्रह गर्दै उनले पाँच वर्षपछि काम गर्न नसके त्यही घण्टीले आफूहरूलाई नै बजाइदिन चुनौती समेत दिए ।
फागुन २१ को चुनावका लागि रास्वपाले घोषण पत्र सार्वजनिक गर्ने थलो कर्णाली नै किन रोज्यो र यहाँबाट के सन्देश दिन खोजिएको हो ? सभामा आएका सहभागी र नेताहरूका अभिव्यक्तिअनुसार अन्य दलहरूले त्यति चासो नदिएको कर्णालीलाई रास्वपाले विशेष प्राथमिकतामा राखेको छ ।
देशको हरेक सूचकांकमा पछाडि परेको मधेश र कर्णालीको भूगोल रास्वपाको प्राथमिकता छ भन्ने सन्देश दिन खोजेको नेताहरू बताउँछन् । सभापति लामिछानेले पनि कर्णालीलाई सबैले प्रयोगशाला बनाएको र रास्वपाले मात्रै परिवर्तन गर्ने दाबी गरे । ‘कर्णालीका धेरै आमाहरूको सिउँदो रित्तिएको छ । धेरै बालबालिका टुहुरो भएका छन्,’ लामिछानेले भने, ‘कर्णाली अब रास्वपाले बदल्छ । त्यो बाँच गर्न आएका हौँ ।’

वरिष्ठ नेता शाहले पनि कर्णालीका सम्भावनाको चर्चा गर्दै अहिलेसम्म कुनै पनि पार्टी र नेताले कर्णालीको गहिराई बुझ्न नसकेको र अब रास्वपाले बुझ्ने बताए । ‘कर्णालीको गरिबी र भोकमरीलाई बोच्ने नेता धेरै आए, त्यो बुझने नेता बन्न चाहन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू’ सभालाई सम्बोधन गर्दै उनले भने ।
रास्वपा कर्णाली सभामा सभापति लामिछानेले नै सबैभन्दा धेरै लामो भाषण गरेका थिए । १४ मिनेट सभालाई सम्बोधन गरेका लामिछानेले पुराना दलहरुकोे नाम लिएनन् । बरु खुलेरै लोकतन्त्र जोगाउने लडाइँमा रास्वपा एक्लो उभिएको उद्घोष गरे । उनले सम्बोधनका क्रममा कर्णालीमा रोग, भोग, गरिबी र अशिक्षा व्याप्त हुनुको प्रमुख कारण नै पुराना दलको थाप्लोमा हाले ।
धेरै पटक अवसर पाएर पनि कर्णालीलाई आँखैअगाडि नर्क बनाउन खोजिएपछि रास्वपा जन्मिएको दाबी पनि उनले गरे । लामिछानेले लोकतन्त्रमाथि खतरा रहेको भनाइप्रति आपत्ति जनाउँदै लोकतन्त्रको असली संरक्षक जनता नै भएको दाबी गरे । ‘लोकतन्त्रलाई जुन प्रति खतरा थियो, त्यो हेलिकप्टर चढेर भागेको छ । त्यो खतराको हेलिकप्टर फेरी सिंहदरबारमा ल्यान्ड नहोस्’ पूर्व प्रधानमन्त्री केपी ओली प्रति लक्षित गर्दै उनले भने ।
बालेनको तीन मिनेट
रास्वपा वरिष्ठ नेता बालेन शाहले सुर्खेतमा आयोजित चुनावी सभालाई तीन मिनेट सम्बोधन गरे । उनले तीन मिनेटको सम्बोधन यति बेला सामाजिक सञ्जाल तरङ्गित बनेको छ । बालेनले सम्बोधन गर्दै गर्दा ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ गीत ब्याक ग्राउन्डमा बजिरहेको थियो । मञ्चको भिड त्यही गीतमा केही बेर झुम्यो ।
बालेनले सम्बोधनमा कर्णालीको सभ्यता, इतिहास, यहाँको सम्भावनाको विषयलाई समेटे । उनले शिव र कैलाशको पाउबाट रास्वपाको बाचा पत्र पत्र सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए । देशको सबैभन्दा ठुलो रारा तालबारे तत्कालीन राजा महेन्द्रले लेखेको कविता ‘स्वर्गकी अप्सरा’ बारे चर्चा गरेर कर्णालीलाई पर्यटनको अथाह सम्भावना भएको क्षेत्रको रूपमा अर्थ्याए ।
उनले कर्णालीलाई देशको सबैभन्दा लामो नदी, सबैभन्दा ठुलो जिल्ला र देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँको रूपमा चिनाए । तर कर्णालीको जुन गहिराई आजसम्म कुनै सरकारले, पार्टीले, देशले बुझ्न सकेन त्यो गहिराइलाई बुझ्न चाहेको बताए । त्यो बुझ्ने पार्टी रास्वपा भएको दाबी समेत गरे ।

बालेनले कर्णालीका सपना बोकेर आफूहरू संसद्मा जाने बताए । कर्णालीको गरिबी धेरै नेताले देखेको भए पनि बुझ्ने काम कसैले नगरेको बताए । सम्बोधनको क्रममा कर्णालीबारे प्रशंसा गरे । काठमाडौँ महानगरपालिकामा नेवा सभ्यताको नाचगान, त्यहाँको लिपि, बाजागाजा, त्यहाँका मूर्त, अमूर्त सम्पदालाई जोगाएर राखेको बताउँदै कर्णालीमा पनि त्यही कुरा जोगाउन आफूहरू लाग्ने उनले बताए ।
बालेनले कर्णालीको जडीबुटीलाई सुनसँग तुलना गरे । ‘यार्सागुम्बा विश्वभरि पुग्न सक्छ तर कर्णालीको स्याउ र मार्सी चामल त्यही चितवन र झापा पुग्न सक्दैन,’ उनले भने । कर्णालीको उत्पादनलाई कम्तीमा देशभरि पुर्याउने पार्टी रास्वपा बन्न चाहेको उनले बताए ।
उनले कर्णालीको पर्यटन, सम्भावना, कृषि, खेतीपाती, यहाँको आयआर्जन सबै वृद्धि गर्ने चाहाना भएको बताए । ‘अब कर्णालीका सुइना, हम्मा सुइना भनेजस्तै तपाइहरूको सपना बोकेर जान पाउँ । त्यो सपना बोकेर जाने वाचा पत्र आज कर्णालीबाट घोषणा गरेका छौँ’ उनले सम्बोधनको अन्ततिर भने, ‘आजबाट ती सबै तपाईँका सपना हाम्रा हुनेछन् । ती सपना बोकेर जान पाऔं ।’
‘दुई तिहाइ दिनुस्, देश बदल्छौं’
रास्वपाका उपसभापति डीपी अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनलाई देश परिवर्तनको अवसरको रूपमा लिन आग्रह गरे । चुनावी सभालाई सम्बोधन गर्दै उनले मतदाताको चाहनाअनुसार पार्टीले सभापति रवि लामिछाने र बालेन शाहलाई साझा उद्देश्यमा सहकार्य गराइएको बताए ।
नागरिकको आशा र चाहनालाई सम्मान गर्दै त्यसलाई पूरा गर्ने प्रयास गरिएको उनको भनाइ थियो । अर्यालले आगामी निर्वाचन विगत र भविष्यका अन्य निर्वाचनभन्दा फरक र निर्णायक हुने दाबी समेत गरे । ‘समानुपातिक तथा प्रत्यक्ष दुवै तर्फ ‘घण्टी’ चुनाव चिन्हमा मतदान गरी दुई तिहाइ बहुमत दिलाउनुहोस्, देश हामी बदल्छौ’ उनले भने ।
पार्टीको मुख्य उद्देश्य देशमा सुशासन स्थापना, भ्रष्टाचार अन्त्य, जनजीविकासम्बन्धी मुद्दामा काम तथा विकास र सेवा प्रवाहमा प्रभावकारी परिणाम दिनु रहेको स्पष्ट पारे । उनले २०७९ सालमा सुर्खेतमा गरेको सम्बोधनको स्मरण गर्दै त्यसयता कर्णालीले वैकल्पिक राजनीतिप्रति देखाएको आशा र भरोसाको प्रशंसा गरे ।

अर्का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपाको बाचापत्रमा मध्यम वर्गलाई केन्द्रमा राखेको दाबी गरे । ‘लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आकार ठुलो हुनुपर्ने भयो । मध्यम वर्ग सुरक्षित हुनुपर्ने भयो । र, मध्यम वर्ग भविष्यप्रति आशावादी हुनुपर्ने भयो,’ वाग्लेले भने, ‘यसैले त्यही मध्यम वर्गलाई केन्द्रमा राखेर वाचा पत्र ल्याएको छ ।’
सुशासन बलियो जगमा मध्यमवर्गको विस्तार, रोजगारीको सिर्जना, गुणस्तरीय पूर्वाधार, विदेशमा रहेका नेपालीका मुद्दालाई ग्रहण गरेको उनले बताए । यसबाहेक मध्यमवर्ग भोगिरहेका समस्याको समाधानका लागि वाचा पत्रमा यथेष्ट योजना समेटिएको उपसभापति वाग्लेले बताए ।
छोटो सभा
विभिन्न राजनीतिक दलहरूले गर्ने आमसभा मध्य सम्भवत: सबैभन्दा छोटो सभा थियो, रास्वपा कर्णाली सभा । प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघर परिसरमा आयोजना गरिएको ‘परिवर्तन उद्घोष सभा’ करिब एक घण्टा ढिला सुरु भएको थियो ।
कार्यक्रम १२ बजे बोलाइए पनि एक बजेबाट औपचारिक रूपमा सुरु भएको थियो । तर रास्वपाका सभापति लामिछाने, वरिष्ठ बालेन साह लगायत केन्द्रीय नेताहरूको उपस्थिति भने २ बजे मात्रै भयो । प्रदेशका अधिकांश उम्मेदवारहरू पनि सभामा पुगेका थिए । उम्मेदवरहरुले तीन मिनेट मात्रै सभालाई सम्बोधन गरेका थिए ।
शीर्ष नेताहरूले पनि सभापति लामिछाने बाहेक अरू नेताहरूले पाँच मिनेट भन्दा बढी बोलेनन् । सबैभन्दा लामो सम्बोधन गरेका सभापति लामिछानेले १४ मिनेट बोलेका थिए ।

अन्य राजनीतिक दलहरू कांग्रेस, एमाले, नेकपा, राप्रपा लगायतका पार्टीले आयोजना गर्ने आम सभामा एउटै नेताले ४५ मिनेट देखि एक घण्टासम्म सम्बोधन गर्ने गरेका थिए । चुनावी सभा दिनभर चल्थ्यो । सहभागीहरू आत्तिएर सभाबाटै तितरबितर भएको देखिन्थ्यो। तर रास्वपाको चुनावी सभा भने करिब साढे दुई घण्टामै समापन भएको थियो ।
सभामा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको सुरक्षा निकायकाको अनुमान छ । घण्टाघरको भित्री ग्राउन्डमा नै हजारौँ मान्छेहरू किल्ला कोच थिए । पश्चिमतर्फको सडक, पूर्वतिरको प्रहरी चौकी, नगरपालिकादेखि विश्वविद्यालयको छेउसम्म मान्छेहरूको भिड थियो । सभासम्म नजर पुग्ने होटेल तथा घरका छतबाट पनि कैयौँ व्यक्तिले सभालाई हेरिरहेका थिए ।

प्रतिक्रिया 4