+
+
Shares
प्रतिनिधिसभा निर्वाचन :

बाजुराका गाउँमा न मतदाता, न चुनावी उत्साह

देशकै दुर्गममध्येको एक जिल्ला बाजुरा दशकौँदेखि निर्वाचनका बेला मात्रै ठुलठूला सपना देखाउने, तर मतदाताका स-साना सपना पूरा गर्न नसकेकै कारण अहिले चुनावसँग जनताको आकर्षण नरहेको स्थानीय लक्ष्मण बुढा बताउँछन् ।

प्रकाश सिंह प्रकाश सिंह
२०८२ फागुन ९ गते १६:०१

९ फागुन, बाजुरा । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन थोरै बाँकी छ । निर्वाचन नजिकिएसँगै सरकारको तयारी र राजनीतिक दलहरूका चुनावी अभियानसमेत तीव्र बनेका छन् । तर, बाजुराका मतदातामा हालसम्म कुनै उत्साह देखिएको छैन ।

बाजुरामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । जसमा एक स्वतन्त्रसहित ८ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरू आ-आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेर मतदातामाझ भोट माग्न व्यस्त छन् । पछिल्ला निर्वाचनमा मतदातालाई नेताहरूले दिएका आश्वासन पूरा नभएकै कारण अहिले उम्मेदवारका नयाँ आश्वासनले ध्यान तान्न नसकेको हो ।

देशकै दुर्गममध्येको एक जिल्ला बाजुरा दशकौँदेखि निर्वाचनका बेला मात्रै ठुलठूला सपना देखाउने, तर मतदाताका स-साना सपना पूरा गर्न नसकेकै कारण अहिले चुनावसँग जनताको आकर्षण नरहेको स्थानीय लक्ष्मण बुढा बताउँछन् ।

उम्मेदवारहरूले हरेक निर्वाचनजस्तै यस पटक पनि बाटा घाटा निर्माण, रोजगारी, पूर्वाधार निर्माण, बाजुरालाई विकसित बनाउनेजस्ता आश्वासन दिइरहेका छन् ।

उसो त अहिले गाउँमा मतदाता पनि निकै कम छन् । भएकामध्ये पनि वृद्ध वृद्धा र बालबालिका छन् । युवाहरू रोजगारीका खोजीमा बाह्य मुलुक गएका छन् । विद्यार्थी पढाइको सिलसिलामा सहरतिर छन् ।

‘पहिलाे कुरा गाउँमा अहिले युवाहरू छैनन्, युवा नै गाउँमा नभएपछि चुनावी वातावरण हुने भएन,’ बाजुराका नागरिक समाजका अगुवा दयाराम पण्डितले भने, ‘दाेस्राे पहिलेका आश्वासन पूरा नगर्दै फेरि अहिले भोट माग्न घरदैलोमा पुग्ने नेताहरू उस्तै आश्वासन बोकेर आएपछि मतदाता उत्साहित नभएका हुन् ।’

गाउँमा मान्छे नै नरहेकाले पनि निर्वाचनको वातावरण नबनेको खप्तड छेडेदह गाउँपालिकाका शेरबहादुर राउत बताउँछन् । ‘मान्छे नै नभए के को चुनाव, केको मतदान ! युवा नै नभएका गाउँमा कसरी चुनावको उत्साह आउनु,’ राउत भन्छन् ।

बाजुराका गाउँले मागेको सहज सडक पहुँच, स्वास्थ्य सेवा र रोजगारी नै मुख्य समस्या हुन् । वर्षौँदेखि यिनै मुद्दामा भोट मागिरहेका नेताहरू यस पटक पनि तिनै सपना बाँडिरहेको उनले बताए । उनी यस पटकको निर्वाचनपछि पनि बाजुरावासीको जीवनस्तर फेरिने र जिल्लाको विकासको अवस्था सुध्रिनेमा विश्वस्त छैनन् ।

त्रिवेणी नगरपालिका–५ किम्नी अहिलेसम्म सडक पहुँच छैन । पटक पटक त्यही मुद्दामा भोट माग्नेहरू अहिले पनि तिनै सपना बोकेर आउँदा मतदातामा निर्वाचनप्रति चासो नदेखिएको स्थानीयवासी बताउँछन् ।

‘यहाँ सडक पुगाउँछौँ भन्ने आश्वासन दिए । तर जनताको गाडी चढ्ने सपना अधुरै छ,’ स्थानीय तुली बुढाले भनिन्, ‘कसलाई भोट हालेर के हुन्छ र ?’ चुनावमा धेरै आश्वासन दिएर भोट माग्ने, जितेपछि नफर्किने नेताहरू यस पटक फेरि भोट माग्न आएको उनले बताइन् ।

बाजुरामा यस पटक ८७ हजार ८६१ मतदाता छन् । जसमा पुरुष ४५ हजार ४२८, महिला ४२ हजार ४३१ र अन्य २ जना मतदाता छन् । जसका लागि ७७ वटा मतदान स्थलमा र ११८ मतदान केन्द्र कायम गरिएका छन् ।

लेखक
प्रकाश सिंह

परोपकारी पत्रकारितामा रूचि राख्ने सिंह बाजुराका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?