+
+
Shares
विचार :

पोखराका चियागफमा चुनावी चर्चा

कांग्रेस, एमाले र नेकपासँगको असन्तुष्ट युवा पुस्ता रास्वपाले उपहारमा पाएको शक्ति हो जसले एकैपटक पुराना दललाई कमजोर र रास्वपालाई शक्तिशाली बनाउने काम पनि गरिरहेको छ।

झलक सुवेदी झलक सुवेदी
२०८२ फागुन १० गते १४:५५
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा नेकपा एमाले, रास्वपा र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी दलका रूपमा छन् र कास्की, स्याङ्जा, तनहुँ, पर्वत, लमजुङमा चुनावी प्रतिस्पर्धा भइरहेको छ।
  • नेकपा एमालेले भदौ २३ का घटनाका कारण मतदाताबाट रक्षात्मक प्रतिक्रिया पाइरहेको छ र उम्मेदवारहरूले अध्यक्ष ओलीको फोटो प्रचारमा राख्नबाट बचिरहेका छन्।
  • रास्वपाले विद्यमान सङ्कटका प्राविधिक र संरचनागत समस्याहरू ठम्याएको छ र कांग्रेसले भदौ २३ र २४ का घटनामा आफ्नो नैतिक जिम्मेवारी स्वीकार गरेको छ।

एक सातायता पोखरामा छु। केही पारिवारिक जिम्मेवारी पूरा गर्ने सन्दर्भमा यता आएको भए पनि मानिसहरूसँग राजनीतिक कुरा बाहेक खासै कुनै संवाद हुने गरेका छैनन्। स्वाभाविक रूपमा मेरो भेटघाटको पहिलो घेरामा नेकपा एमालेका नेता-कार्यकर्ताहरू पर्ने भए। त्यसपछि नेपाली कांग्रेस र तेस्रो घेरामा नेकपाका पर्छन्।

यहाँ आएपछि रास्वपाका कुरा पनि थाहा पाऊँ भनेर गाउँमा रहेको भतिज ब्रिलियन्टसँग फोन संवाद गरें। एउटा बिहेमा जन्ती बनेर स्याङ्जा पुगेको बेला स्थानीय रास्वपा र एमालेका कार्यकर्ताका बीच भएका गफगाफ पनि सुनें, ध्यानै दिएर। कास्की, स्याङ्जा, तनहुँ, पर्वत र लमजुङका केही मतदाता र कार्यकर्ताका पनि कुरा सुनें। त्यसका आधारमा मैले गरेको अनुभवबाट चर्चा सुरु गरौं।

मुख्य प्रतिस्पर्धा

यहाँका निर्वाचन क्षेत्रहरूमा नेकपा एमाले, रास्वपा र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्तिका रूपमा छन्। प्रतिस्पर्धाको चौथो लेयरमा नेपाल कम्युनिस्ट पार्टी रहेको छ। लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङ, कांग्रेसका गमप्रसाद र रास्वपाका धर्म केसी प्रतिस्पर्धी छन्।  

तनहुँ–१ मा स्वर्णिम वाग्लेका मुख्य प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराई देखिएका छन्। तनहुँ–२ मा सूर्य र रूखको पछि-पछि घण्टी रहेको पाएँ। कास्कीका १ र २ नम्बरमा मुख्य प्रतिस्पर्धा एमाले, रास्वपा र कांग्रेसका बीच देखिन्छ। कास्की–३ मा क्रमशः रूख, घण्टी र सूर्यको त्रिकोणात्मक प्रतिस्पर्धा हुन सक्छ। पर्वतमा एमाले र कांग्रेसका बीचको प्रतिस्पर्धामा घण्टी नजिक–नजिक आइरहेको छ।

स्याङ्जाको १ मा त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिन्छ। एमाले र कांग्रेस दुवैले राम्रा उम्मेदवार दिएको भन्ने मतदातामा पनि परेको छ। यहाँ नेकपा एमालेले आफ्ना उम्मेदवार मीनप्रसाद गुरुङ लोकप्रिय भएकोले आशा गरेको छ। तर कांग्रेस र एमाले दुवैलाई घण्टीको लहरले बगाउने पो हो कि भन्ने भयले लखेटेको छ।

दलहरूका अनुकूलता चुनौती

यी जिल्लाहरू परम्परागत रूपमा नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा पर्ने भए पनि २०४६ पछिको राजनीतिमा बिस्तारै नेकपा एमालेले राम्रो प्रभाव जमाएका क्षेत्रमा पर्छन्। खासगरी हाम्रो पुस्ताले निर्माण गरेको पार्टी सङ्गठन र उत्पादन गरेका कार्यकर्ता अहिले पनि यहाँ एमालेका मुख्य जीवनदायी शक्तिका रूपमा रहेका छन्। २०४८ पछिका आर्थिक गतिविधिबाट लाभ लिएको एउटा बुर्जुवा वर्ग, जनसङ्ख्याको मुख्य हिस्साका रूपमा रहेको मध्यमवर्ग एमाले र कांग्रेसका बीचमा बाँडिएको छ।

उद्योग, व्यापार र जमिनमाथिको स्वामित्वमा वर्चस्व रहेको पुरानो बुर्जुवा वर्ग कांग्रेससँग नजिक रहेको भए पनि नयाँ धनाढ्य र मध्यमवर्ग एमालेसँग छ। यसबीचमा सांसद, मन्त्री, विभिन्न पोजिसनमा रहेर तयार भएको ‘पोलिटिकल क्लास’ छ जसले प्रत्यक्ष–अप्रत्यक्ष कमाइ र शक्ति अभ्यास गरेर कसैलाई लाभ पुर्‍याइदिन सक्ने हैसियत बनाएको छ। यो नै एमालेको लागि अनुकूलता हो।

००७ साले या ०१५ साले कांग्रेस र तिनका पारिवारिक उत्तराधिकारी कांग्रेसका ‘स्ट्रेन्थ’ थिए। अब त्यो क्रमशः कमजोर भएको छ। यद्यपि परम्परागत बुर्जुवा वर्ग र २०३६ यता लामो समय राजनीति गरेको पुस्ताले कांग्रेसको राजनीति धानिरहेको छ। लिबरल विचारको मध्यमवर्ग यसको मुख्य रक्तसञ्चारक हो। कांग्रेसको इतिहास, बीपीहरूको बिम्ब र कम्युनिस्टविरोधी जनमत यसलाई जोगाउने अस्त्र हुन्।

कांग्रेस, एमाले र नेकपासँगको असन्तुष्ट युवा पुस्ता रास्वपाले उपहारमा पाएको शक्ति हो जसले एकैपटक पुराना दललाई कमजोर र रास्वपालाई शक्तिशाली बनाउने काम पनि गरिरहेको छ।

मैले भेटेका कसैले पनि दलहरूको घोषणापत्रका बारेमा चर्चा गरेनन्। उनीहरूलाई घोषणापत्र पनि कसैले पढ्छ र पढेका आधारमा मत दिन्छ भन्ने विश्वास पनि थिएन।

एमाले र कांग्रेस दुवैको मुख्य चुनौती उनीहरूले विगतमा पाएको सरकार चलाउने अवसर हो, जसलाई उनीहरूले जनतालाई राज्यबाट दिइने सेवामा सुधार नगरेर, सुशासन दिन नसकेर, कतिपय स्क्यान्डल र काण्डहरू घट्न दिएर, राजनीतिक समीकरण र सत्ता परिवर्तनका घृणित खेलहरू खेलेर आम जनताको मत र भावनामाथि खेलबाड गरेर दुरुपयोग गरेका थिए। त्यो इतिहास अहिले आएर दुवैलाई महँगो साबित भएको छ।

नेकपा एमालेका उम्मेदवारका लागि तीनवटा चुनौती देखिए।

पहिलो चुनौती, यो मतदाताहरूसँग जाँदा रक्षात्मक अवस्थामा रहेको छ। भदौ २३ का घटनाहरूका लागि मतदाताहरू अध्यक्ष ओलीलाई दोष दिन्छन् र मत दिनुहुन्न भन्छन् भन्ने टिप्पणी कार्यकर्ताहरूको छ। कतिपयले एमालेका उम्मेदवारलाई मत दिन त मन छ तर यिनीहरू जितेर जाँदा फेरि केपी ओलीलाई प्रधानमन्त्री बनाउन मत दिन्छन्, त्यसैले यसपालि नदिने भन्ने गरेको अनुभव कार्यकर्ताहरूमा छ। एमाले उम्मेदवारहरूले प्रायः आफ्नो पोस्टरमा, फेसबुक पेजमा र चुनाव प्रचार कार्यालयमा अध्यक्ष कमरेडको फोटो राख्नबाट बचिरहेको देखिन्छ।

कास्की एमाले सदाबहार गुट राजनीतिको सिकार हुने गरेकोले यसपटकको चुनावमा पनि थोर–थोरै त्यसको छायाँ तीनवटै क्षेत्रमा देखिन्छ। उम्मेदवार पाएको पक्षले नपाएको पक्षबाट मनोवैज्ञानिक रूपमा असहयोग भएको अनुभव गरेको छ।

खासगरी २ नम्बरमा टिकट पाएका केन्द्रीय सदस्य कृष्ण थापाबाट खोसेर रश्मि आचार्यले टिकट ल्याएका र त्यसका लागि केन्द्रीय सचिव खगराज अधिकारी पक्षको भूमिका रहेको भनेर थापाले सार्वजनिक रूपमा बोलेको कुराले एक–आपसमा अविश्वासको अवस्था विद्यमान छ। क्षेत्र नम्बर १ का उम्मेदवारले पनि पार्टी पङ्क्तिको पूर्ण साथ पाउन नसकेको अनुभव एमालेपक्षीय बुद्धिजीवीहरूको रहेको देखियो।

कांग्रेसको विशेष महाधिवेशन पक्ष र देउवा पक्षका बीच शीतयुद्ध जारी छ। गगन पक्ष शान्त र सक्रिय रहे पनि देउवा पक्ष गगन थापाले चुनावपछि संसदीय दलको नेता बन्ने अवस्था सकेसम्म नआओस् भन्ने मनोविज्ञानबाट निर्देशित देखिन्छ। यसले चुनावलाई केही न केही प्रभाव अवश्य पार्छ भनेर अहिले नै आकलन गर्न सकिन्छ।

गण्डकी कांग्रेसमा कोही पनि राष्ट्रियस्तरको नाम भएको राजनीतिक व्यक्तित्व उम्मेदवारीमा छैन। यसैले पनि कांग्रेसका पक्षमा आकर्षण सिर्जना भएको छैन। एमालेमा पीएस गुरुङ र रास्वपामा स्वर्णिम वाग्लेलाई भावी नेता र केन्द्रीय भूमिका खेल्न सक्ने व्यक्तित्वका रूपमा हेरिएकाले उनीहरूको हारजितका बारे आम मान्छेहरूको चासो छ।

रास्वपामा उम्मेदवार पाउने र नपाउनेका बीचमा केही मनमुटाव या असहयोगको मनोविज्ञान हुन सक्छ तर आम मतदाताले यहाँ रास्वपाबाट उम्मेदवार को छ भन्नेमा चासो राखेको देखिएन। रास्वपाको मतदाताले चुनाव चिह्नलाई मत दिने मनस्थिति बनाएकोले को उम्मेदवार भयो भन्नुको खासै अर्थ छैन। उम्मेदवारको चर्चा स्वर्णिम उठेको ठाउँमा मात्र रहेको हुन सक्छ। मानिसहरू घण्टीलाई मत दिने भनिरहेका छन्। व्यक्तित्वको चर्चा हुँदा पनि बालेन र रविको नाममा हुन्छ, स्थानीय उम्मेदवारका विषयमा हुँदैन।

रास्वपाको झिनो समस्या भने रवि र बालेनको छवि हो जसका बारे केही भएका कुरा र केही नभएका कुरा मिसाएर कांग्रेस र एमालेका कार्यकर्ताहरूले आम पब्लिकमा प्रचार गरिरहेका छन्।

घोषणापत्र

मैले भेटेका कसैले पनि दलहरूको घोषणापत्रका बारेमा चर्चा गरेनन्। मेरो भेट भएको एक स्तरका नेता र कार्यकर्ताहरूसँगै हो। उनीहरूलाई घोषणापत्र पनि कसैले पढ्छ र पढेका आधारमा मत दिन्छ भन्ने विश्वास पनि थिएन। यसै पनि जनताले कसलाई मत दिने भनेर एकप्रकारको मनस्थिति बनाइसकेपछि दलहरूले आफ्ना प्रतिबद्धता या वाचापत्रहरू सार्वजनिक गरेका थिए।

मेरो व्यक्तिगत बुझाइमा यसपालि चुनावका सन्दर्भमा पार्टीहरूले अघि सारेका आफ्ना प्रस्तावहरूमध्ये रास्वपा र नेपाली कांग्रेसका विचारहरू अर्थपूर्ण लागेका हुन्। नेकपा एमालेले लोकप्रिय हुन खोज्दा जनतालाई नेपालमा के हुँदैछ र के गर्न सकिन्छ भन्ने विषयमा ठोस कुराभन्दा भावनात्मक खेलबाड गर्न पुगेको छ।

प्रस्तावहरू कतिपय दीर्घकालमा हासिल गर्न सक्ने उपलब्धि जस्ता देखिए पनि मूलतः लोकप्रियताको सिकार भएका छन्। उसको सबैभन्दा ठूलो कमजोरी– भदौ २३ अगाडि देश एकदम सही बाटोमा थियो तर आफ्नो नेतृत्व विस्थापित भएपछि देश सङ्कटमा गयो भन्दै विद्यमान सङ्कटको कारणका रूपमा आफ्ना भूमिकालाई अस्वीकार गर्नु र भदौ २३ का घटनाहरूका लागि नैतिक जिम्मेवारी स्वीकार गर्न अटेरी गर्नु हो।

यहाँका निर्वाचन क्षेत्रहरूमा नेकपा एमाले, रास्वपा र नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्तिका रूपमा छन्। प्रतिस्पर्धाको चौथो लेयरमा नेपाल कम्युनिस्ट पार्टी रहेको छ।

इतिहासले स्थापित गरेको सत्यमाथि यत्तिको बेवास्ता एमालेको लागि समस्याको कारण बन्न सक्छ। भदौ २४ को घटनालाई वैदेशिक हस्तक्षेप र षड्यन्त्रको रूपमा लामो व्याख्या गरिसकेपछि (कतिपय बेला त मादुरोको अपहरण गर्ने शक्तिको भूमिका नेपालमा भदौ २४ को घटना घटाउनमा पनि रहेको भन्ने एमाले नेताहरूका अभिव्यक्ति आइरहेका सन्दर्भमा) ‘सबै हाम्रा मित्र, कोही छैन शत्रु’ भन्ने वैदेशिक सम्बन्ध सम्बन्धी दृष्टिकोण अन्तरविरोधपूर्ण हुने नै भयो।

राजनीतिक रूपले दक्षिणपन्थी र अर्थतन्त्र सम्बन्धी दृष्टिकोणमा नवउदारवादी धारणा राखेको रास्वपाले विद्यमान सङ्कटका प्राविधिक र कतिपय संरचनागत समस्याहरू ठम्याएको छ। उसले अगाडि सारेका प्रस्तावहरू लागू हुँदा खासगरी सुशासनका क्षेत्रमा हस्तक्षेप हुन सक्छ। परिवर्तनको अनुभूति गर्ने गरी शासकीय सुधारका काम हुन सम्भव छ। तर अर्थराजनीतिक सङ्कटका कारणहरू र संरचनागत अवरोध हटाउने विषयमा यो वाचापत्र पनि सतही देखिन्छ। रास्वपाले ट्रेड युनियनका बारेमा लिएका धारणा, विश्वविद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउन भन्दै अघि सारिएका प्रस्तावहरूले अधिनायकवादी शासनको झल्को दिन्छन्।

कांग्रेसले वर्तमान समस्याका अर्थ–राजनीतिक कारणहरूको व्याख्या र आगामी दिनमा लिइने बाटोका बारेमा आफ्ना धारणा स्पष्ट पार्ने प्रयास गरेको छ। उसले भदौ २३ र २४ का घटना हुनुमा आफ्नो हिस्साको नैतिक जिम्मेवारी स्वीकार गरेको छ। स्वामित्व लिएको छ। यो असल थालनीको पाइला बन्न सक्छ।

शासकीय सुधारका क्षेत्रमा कांग्रेसका प्रस्तावहरू सकारात्मक छन्। तर कुनै पनि दलले नेपालको अविकासका लागि जिम्मेवार भारतीय पूँजीको सेपबाट नेपाली पूँजीपति वर्गको रक्षा कसरी गर्न सकिन्छ भन्ने विषय नउठाएको देखेपछि यिनीहरूले धरातल टेकेका छैनन् भन्ने लाग्छ। केही पपुलिस्ट, केही वास्तविकताको नजिक– कक्टेल हो कांग्रेसको प्रतिज्ञा। पहिले सार्वजनिक गरेको १० बुँदा त हाईस्कुलका विद्यार्थीले नेपालको भविष्यबारे लेख्ने निबन्ध जस्तो देखिन्थ्यो।

विद्यमान समाजको अर्थ–राजनीतिक चरित्रको चित्रणका सन्दर्भमा बरु नेकपा संयुक्तको घोषणापत्र अध्ययनयोग्य रहेछ।

घण्टीका अनौपचारिक दूतहरू

एउटा कुरा रमाइलो लाग्यो। रास्वपाको प्रचार रास्वपाकै कार्यकर्ताले भन्दा बढी एमाले र कांग्रेसले गर्दा रहेछन्। म जति समय एमाले र कांग्रेसका नेता–कार्यकर्तासँग बसें, त्यसको कम्तीमा ७० प्रतिशत समय घण्टी र रास्वपाको चर्चा गरेर बित्यो।

उनीहरू कसरी शहरदेखि गाउँसम्मका मतदाताको छनोटमा परेका छन्, कसरी विदेशमा बसेका छोराछोरी या भाइबहिनी या पतिहरूले आफ्नो परिवारलाई फोन गरेर घण्टीमा मत दिन भनिरहेका छन्, उसले कसरी कुन क्षेत्र जित्ने सम्भावना छ जस्ता विषय छलफलमा पर्छन्।

पहिले–पहिले रविको सहकारी सम्बन्धी मुद्दाको चर्चा हुन्थ्यो, अहिले त्यो पनि ओझेलमा परेछ। रास्वपाले कति सिट ल्याउला, समानुपातिक मत कति पाउला, बहुमत ल्यायो भने देश चलाउला कि बीचैमा यो शक्ति छिन्नभिन्न होला भन्ने विषय चर्चामा रहेका हुन्छन्। भेटिएकाहरूले जति समय घण्टीको चर्चा गर्छन्, त्यसको एक चौथाइ पनि आफ्नो पार्टीका बारेमा गर्दैनन्। विराटनगरमा प्राध्यापक कृष्ण पोखरेलसँगको संवाद मूलतः रास्वपाका विषयमा र केही समय एमाले अध्यक्ष कमरेड ओलीका विषयमा चर्चा गरेर सकियो।

उदयपुरका एक जना पूर्व क्याम्पस प्रमुखसँग भएको संवादमा उनको एउटा वाक्य थियो: ‘अहिलेसम्म त ठीकै माहोल छ दाइ खोटाङतिर, एकपटक बालेन पुगेर हात हल्लायो भने के–के हुन्छ भन्न सकिन्न।’ उनले अलिकति हर्क साम्पाङ पनि मिसाए। चाहे विरोध गरुन् या समर्थन, तर हरेक राजनीतिक कार्यकर्ता जुनसुकै दलको भए पनि ऊ यसपालि घण्टीको सद्भावना दूतका रूपमा सक्रिय छ।

 कम्युनिस्टहरूलाई सुझाव

अब म टिप्पणीकारबाट आफैंलाई एकछिन मुक्त घोषणा गर्छु र राजनीतिक रङमा आउँछु। फागु खेल्ने पूर्णे जो आउँदै छ। मलाई यसपालिको चुनावपछि नेपालमा कम्युनिस्ट विचार र पार्टीहरूको भविष्यलाई लिएर चिन्ता लाग्न थालेको छ। भदौ २४ पछि अनेक उतारचढावका बीच कांग्रेसले विशेष महाधिवेशन आयोजना गर्‍यो र देउवाबाट आफूलाई तत्कालका लागि मुक्त गर्न सक्यो।

देउवा र रमेश लेखकहरूले टिकट पनि नपाएपछि कांग्रेसका स्थानीय कार्यकर्तालाई यसपटक एउटा सहज भएको रहेछ: उनीहरूलाई इतिहासको विकृति र ओली-देउवा गठबन्धनका समयमा भएका दमनका लागि कसैले प्रश्न गर्दो रहेनछ।

यी सबै विषयका प्रश्नहरूको तारोमा यतिबेला नेकपा एमाले मात्र परेको रहेछ। गगन थापा सभापति भएपछि आन्तरिक रूपमा सल्किंदै गरेको असन्तोषको आगोबाट धुवाँ निस्कन पनि गाह्रो परेको र कांग्रेसबाट बाहिरिएर रास्वपामा जाने पहिरो पनि केही हदसम्म रोकथाम भएको देखियो।

मतदाताको तहमा अब कसैले पनि कुनै ठाउँलाई आफ्नो बिर्ता सम्झनु नपर्ने भइसकेको अवस्थामा उनीहरूको मतको विषयमा भन्न नसकिए पनि कार्यकर्ता तहमा कांग्रेस जोगिएको छ।

तर नेकपा एमालेले आफूलाई पुनर्गठन गर्न नमान्दा अहिले तत्कालीन प्रधानमन्त्री तथा अध्यक्ष कमरेडलाई मात्र बोकाएर पन्छाउन मिल्ने लाञ्छनाहरू, आक्रोश र विरोध सिङ्गै एमाले र त्यसका उम्मेदवारले सेयर गर्नुपरिरहेको छ। तुलनात्मक रूपमा नेकपाका नेता प्रचण्ड पनि सेफ साइडमा छन्, चुनाव जित्छन् र पार्टीलाई पनि धेरथोर बचाउँछन्। र देशभरबाट आएका सूचना हेर्दा नेकपाले आफ्नो पुरानो शक्ति यसपटक पनि कायम राख्ने सम्भावना देखिन्छ।

कम्युनिस्ट पार्टीहरूले एकपटक ५४ प्रतिशतसम्म मत ल्याएका थिए। गत वर्ष त्यो ४५ प्रतिशतभन्दा कम थियो। यसपटक मेरो अनुमानमा कम्युनिस्ट पार्टीहरूले ल्याउने मत ३५ प्रतिशत वरपर या त्योभन्दा तल झर्न सक्छ। यो ओरालो पाइलो हो।

तर एमालेमाथि जसरी प्रहार भएको छ र उसले जे–जति गुमाउने सम्भावना छ, त्यो क्षतिपूर्ति हुन सक्छ कि सक्दैन भन्न गाह्रो छ। २०६४ मा एमालेमा बसेर माओवादीलाई मत दिनेहरू २०७० मा पुग्दा धेरैजसो एमालेमा फर्किसकेका थिए। कम्युनिस्ट पार्टीबाट अर्को कम्युनिस्ट पार्टीमा जानेहरू अन्ततः कम्युनिस्ट पार्टीमै रहन्छन्। तर यसपालि एमालेबाट या नेकपाबाट घण्टीमा मत दिन जो गइरहेका छन्, तिनीहरू खुला रूपमा घोषणा गरेर जाँदैछन्। यसको अर्थ हुन्छ– यसपटक एमालेको पालीबाट बाहिर निस्केकाहरू फेरि ओत खोज्न फर्केर आउने सम्भावना कम छ।

कम्युनिस्ट पार्टीहरूले एकपटक ५४ प्रतिशतसम्म मत ल्याएका थिए। गत वर्ष त्यो ४५ प्रतिशतभन्दा कम थियो। यसपटक मेरो अनुमानमा कम्युनिस्ट पार्टीहरूले ल्याउने मत ३५ प्रतिशत वरपर या त्योभन्दा तल झर्न सक्छ। यो ओरालो पाइलो हो। विश्व जनमतको प्रवृत्ति हेर्दा पनि चालीस प्रतिशत मतदाता वामपन्थी झुकावका र लगभग त्यति नै दक्षिणपन्थी झुकावका हुन्छन्। बाँकी २० प्रतिशत यताउता गर्दा चुनाव हारजित हुन्छ।

नेपालमा अहिलेसम्म कम्युनिस्टहरूले मात्र वामपन्थी झुकावको मत होल्ड गर्थे। अब कांग्रेसको दाहिनेतिर रास्वपा उभिंदैछ। त्यसो भयो भने दक्षिणपन्थी मतमा रास्वपाको एकलौटी नियन्त्रण हुने र कांग्रेसले मध्यमार्गी मत नियन्त्रण गर्दै केही वामपन्थी मत खोस्ने सम्भावना रहन्छ। यस्तो भयो भने कम्युनिस्टहरूले अलिकति अहिले टेकिरहेको राजनीतिक स्पेस गुमाउन सक्छन्।

कमसेकम कम्युनिस्ट पार्टी र नेताहरूले यो पक्षलाई विचार पुर्‍याउनुपर्ने देखिन्छ। यसपालि वामपन्थी जनमत एमाले र ओलीले अपिल गर्दैमा त्यता जाने कम सम्भावना छ। आन्तरिक असन्तुष्टिको तुष पोख्न कम्युनिस्ट पार्टीभन्दा बाहिर मत दिन जाने सम्भावना भएकाहरूलाई बरु नेकपाले अपिल गर्न प्रयास गर्न सक्छ।

हाम्रा वामपन्थी ‘इन्फ्लुएन्सर’हरू के सोच्दै छन् थाहा भएन, तर उनीहरूले यसबारे आफ्नो फोरमबाट अपिल गर्न सक्दा राम्रो हुनेछ। किनभने, वामपन्थी जनाधार जति कमजोर हुन्छ त्यति नै दक्षिणपन्थी दल या विचारले शक्ति आर्जन गर्छ र मध्यमार्ग पनि कमजोर हुन्छ। न समाजवादको यात्रा सहज हुन्छ, न उदारवाद नै जमिनमा टेकेर उभिन सक्छ।

वामपन्थी मतदाताहरूमा मेरो सुझाव – विवेकपूर्ण मतदान गर्नुहोस् । अन्यथा पछि हुने राजनीतिको फासीवादीकरणका लागि तिमीहरू पनि जिम्मेवार हुन सक्छौ।

कांग्रेसको दक्षिणपन्थी हिस्साका लागि अब रास्वपा अर्को विकल्प हो। उनीहरूलाई छनोटको अवसर प्राप्त भएको छ। वामपन्थ र मध्यमार्ग जोगाउन वामपन्थी कांग्रेस र केही व्यक्ति र प्रवृत्तिलाई छाडेपछिका कम्युनिस्टहरूको भूमिका अपेक्षित छ। सम्भवतः यस्तो ध्रुवीकरण र घर्षण नै फागुन २१ पछिको नेपालको वास्तविकता हुनेछ।

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?