+

अल नासरमै रहने स्पष्‍ट सन्देश दिँदै रोनाल्डोले भने- म साउदी अरेबियाकै हूँ

२०८२ फागुन  ११ गते ८:४९ २०८२ फागुन ११ गते ८:४९
अल नासरमै रहने स्पष्‍ट सन्देश दिँदै रोनाल्डोले भने- म साउदी अरेबियाकै हूँ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल–नासर क्लबमै खुसी रहेको र यतै निरन्तर खेल्न चाहने स्पष्ट सन्देश दिएका छन्।
  • रोनाल्डोले अल–हाजेमविरुद्धको खेलमा दुई गोल गर्दै अल–नासरलाई साउदी प्रो लिगको शीर्ष स्थानमा पुर्‍याउन मद्दत गरेका छन्।
  • उनले लिग उपाधिका लागि दबाब कायम राख्ने लक्ष्य रहेको उल्लेख गरे।

११ फागुन, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो भविष्यलाई लिएर उठेका अड्कलबाजीबीच आफू साउदी अरेबियाको क्लब अल–नासरमै खुसी रहेको र यहीँ निरन्तरता दिने स्पष्ट सन्देश दिएका छन्।

४१ वर्षीय रोनाल्डो क्लबको व्यवस्थापन साउदी अरेबियाको सार्वजनिक लगानी कोष (पीएआईएफ) ले गरिरहेको तरिकाप्रति असन्तुष्ट रहेको र हालैका तीन खेल गुमाएको भन्ने चर्चा चलेको थियो।

तर गत साता टोलीमा फर्किएका उनले शनिबार अल–हाजेमविरुद्धको ४–० को जितमा दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे। उक्त जितसँगै अल–नासर साउदी प्रो लिगको शीर्ष स्थानमा एक अंकको अग्रता बनाउन सफल भएको थियो।

खेलपछि साउदी प्रसारक ‘थमनीयाह’सँग कुरा गर्दै रोनाल्डोले भने, ‘म धेरै खुसी छु। मैले धेरै पटक भनेजस्तै, म साउदी अरेबियाकै हूँ। यो देशले मलाई, मेरो परिवार र साथीहरूलाई निकै राम्रोसँग स्वागत गरेको छ। म यहाँ खुसी छु र यतै निरन्तर खेल्न चाहन्छु।’

उनले थपे, ‘सबैभन्दा महत्वपूर्ण कुरा हामीले लिग उपाधिका लागि दबाब कायम राख्नु हो। हामी शीर्ष स्थानमा छौं। आफ्नो काम गर्ने, जित निकाल्ने र अन्तिमसम्म दबाब बनाइराख्ने हाम्रो लक्ष्य हो। सिजनको अन्त्यमा के हुन्छ, हेरौं।’

रोनाल्डो डिसेम्बर २०२२ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि अल–नासरमा आबद्ध भएका थिए। साउदी आगमनसँगै उनी वार्षिक १७७ मिलियन पाउन्ड पारिश्रमिकसहित फुटबल इतिहासकै सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका थिए।

उनको आगमनपछि १० पटकका लिग च्याम्पियन अल–नासरले २०२३ को अरब क्लब च्याम्पियन्स कप मात्र जित्न सकेको छ। यद्यपी, यस सिजन टोली लिग उपाधि होडमा मजबुत देखिएको छ।

शनिबारको जितपछि अल–नासर प्रतिद्वन्द्वी अल–हिलालभन्दा एक अंकले अघि रहेको छ। साथै टोली एएफसी एसियन कपको क्वार्टरफाइनलमा समेत प्रवेश गरिसकेको छ।

रोनाल्डोको पछिल्लो अभिव्यक्तिले उनको भविष्यबारे चलिरहेका सबै अड्कलबाजीलाई विराम दिएको छ र साउदी फुटबलमै उनको निरन्तरताको संकेत स्पष्ट गरेको छ।

-बीबीसीबाट

अल नासर क्रिस्टियानो रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय