११ फागुन, सप्तरी । जिल्ला सुरक्षा समिति सप्तरीले खुद्रा तथा थोक मदिरा पसल साँझ ७ बजे बन्द गराउने निर्णय गरेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, व्यवस्थित एवं मर्यादित रुपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला सुरक्षा समिति तथा सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।
शुक्रबार भएको निर्णय आइतबार सार्वजनिक गर्दै प्रशासनले इजाजत प्राप्त खुद्रा तथा थोक मदिरा विक्रेताहरुले मदिरा बिक्री वितरण गर्न पाउने समय ७ बजे र होटल तथा रेष्टुरेन्टहरुमा सेवन गर्ने समय बढीमा ८ बजे सटर बन्द गर्ने गरी तोकिएको जनाएको छ ।
जिल्लास्थित खुद्रा मदिरा पसलहरुले व्यवसाय दर्ता प्रमाणपत्र बिना घरेलु मदिरा बिक्री गरिरहेको पाइएमा उक्त मदिरा जफत गरी नष्ट गर्ने र प्रचलित कानून वमोजिम कारवाही गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै जिल्लास्थित विभिन्न स्थानमा रहेका मिठाइ पसलहरुमा अत्याधिक रङ र अखाद्य पदार्थ मिसाएको भए जफत गरी कारवाही गर्ने, सवारी साधनहरुमा तौल कम भएको मिठाइ डब्बामा बेच्ने गरेको पाइएमा पनि कारबाही हुने भएको छ । पान पसल र किराना पसल लगायतका जनरल स्टोरहरुमा इजाजतपत्र विना सुर्तीजन्य पदार्थको बिक्री गरेमा पनि कारबाही हुने जिल्ला सुरक्षा समितिले गरेको निर्णयमा उल्लेख छ ।
त्यस्तै सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ अनुसार शिक्षण संस्था, स्वास्थ्य संस्था, बालकल्याण गृह र क्लबहरुबाट कम्तीमा एकसय मिटरको दुरी भित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइएमा सोही ऐन बमोजिम आवश्यक कारवाहीको प्रकृया अगाडि बढाउने समितिले जनाएको छ ।
प्रतिक्रिया 4