News Summary
Generated by OK AI. Editorially reviewed.- पुरुषको वीर्यमा पर्याप्त शुक्राणु नहुनुलाई चिकित्सकीय भाषामा 'एजोस्पर्मिया' भनिन्छ र यसले प्रजनन क्षमतामा असर गर्छ।
- एजोस्पर्मियाको कारण उत्पादन नहुनु, नली अवरुद्ध हुनु र हर्मोन असन्तुलन हुन सक्छ।
- समयमै परीक्षण र उपचारले धेरै अवस्थामा सन्तान समस्या समाधान गर्न सकिन्छ।
काठमाडौं । यौन इच्छा हुन्छ । सम्भोग पछि स्खलन पनि हुन्छ । यौन सन्तुष्ट पनि हुन्छ ।
श्रीमतीको स्वास्थ्य परीक्षण गर्दा सबै सामान्य देखिन्छ । तर, वर्षौं प्रयास गर्दा पनि सन्तान हुन सकेको छैन ।
दम्पती चिन्तित छन्, ‘आखिर समस्या कहाँ छ ?’

यस्तो अवस्थामा प्रायः पुरुषलाई पनि जाँच आवश्यक हुन्छ । धेरैजसो पुरुष सोच्छन्, समस्या केवल महिलामा मात्र हुनसक्छ । सन्तान उत्पादनमा महिलाको जत्तिकै पुरुषको प्रजनन स्वास्थ्यले बराबरी भूमिका खेल्छ ।
पुरुषको वीर्यमा पर्याप्त शुक्राणु छैन भने गर्भ नबस्न सक्छ । चिकित्सकीय भाषामा यसलाई ‘जिरो स्पर्म काउन्ट’ वा ‘एजोस्पर्मिया’ भनिन्छ ।
यदि पुरुषको वीर्यमा पर्याप्त शुक्राणु छैन भने पनि सन्तान नहुन सक्छ । चिकित्सकीय भाषामा यसलाई ‘जिरो स्पर्म काउन्ट’ वा ‘एजोस्पर्मिया’ भनिन्छ । यस्तो अवस्था प्रजनन समस्यामा परेका प्रत्येक १० पुरुषमध्ये करिब १ मा देखिन्छ ।
यो कस्तो समस्या ? कत्तिको आम समस्या हो ? के यसको समाधान छैन ? यावत विषयमा कन्सलटेन्ट युरोलोजिस्ट डा. अनिल पुकार साहसँग सोधिएको प्रश्नोत्तर जस्ताको त्यस्तै ।

यो कस्तो समस्या ?
शुक्रकीट शून्यता वा एजोस्पर्मिया पुरुष प्रजनन प्रणालीसँग सम्बन्धित गम्भीर समस्या हो । पुरुषको अण्डकोषमा शुक्रकीट उत्पादन हुन्छ र यो वीर्यसँग मिसिएर बाहिर निस्कन्छ । तर एजोस्पर्मिया भएमा वीर्यमा एकदमै कम वा पटक्कै शुक्रकीट पाइँदैन । यसको अर्थ पुरुषमा प्रजनन क्षमता अस्थायी वा स्थायी रूपमा प्रभावित हुन्छ ।
यो अवस्था पुरुषलाई शारीरिक रूपमा सामान्य देखिन्छ । यौन इच्छा, स्खलन, यौन क्रियाकलाप सामान्य रहन्छ । धेरैजसो पुरुषहरूलाई सुरुमा यसबारे थाहा हुँदैन । प्रायः यो समस्या तब पत्ता लाग्छ जब दम्पती लामो समयसम्म सन्तान हुन नसक्दा चिकित्सकीय परामर्श लिन्छन् ।

यस्तो किन हुन्छ ?
शुक्रकीट शून्यता मुख्यतः तीन कारणले हुन्छ । एउटा उत्पादन नहुनु, अर्को नली अवरुद्ध हुनु र अर्को कारण हो, हर्मोन असन्तुलन ।
शुक्रकीट उत्पादन कस्तो अवस्थामा हुँदैन ?
कहिलेकाहीँ पुरुषको अण्डकोषले शुक्रकीट उत्पादन नै गर्न सक्दैन । यसको कारण जन्मजात समस्या, अण्डकोषमा चोट, संक्रमण, अत्यधिक ताप, विकिरण वा रासायनिक पदार्थको असर हुनसक्छ ।
साथै, शुक्राणु बन्ने प्रक्रियालाई सहयोग गर्ने टेस्टोस्टेरोन हर्मोनको कमीले पनि अण्डकोषको काम प्रभावित हुन्छ ।
शुक्रकीट निष्काशन हुने नली कसरी अवरुद्ध हुन्छ ?
अण्डकोषले शुक्रकीट उत्पादन गरे पनि यो बाहिर निस्कन नपाउने अवस्थालाई नली भएको बुझिन्छ । यसले वीर्यमा शुक्रकीट पुग्न दिँदैन । अवरुद्धता जन्मजात हुनसक्छ, चोट, संक्रमण वा शल्यक्रियापछि पनि नली अवरुद्ध भएको हुनसक्छ ।
कुन हर्मोन सम्बन्धी समस्याले कसरी शुक्राणु उत्पादन प्रभावित हुन्छ ?
पुरुषमा शुक्राणु उत्पादन मस्तिष्क र अण्डकोषबीचको समन्वयमा निर्भर हुन्छ । मस्तिष्कको पिट्युटरी ग्रन्थीबाट निस्कने दुई मुख्य हर्मोन एफएसएच र एलएचले अण्डकोषलाई काम गर्न निर्देशन दिन्छन् । यी हर्मोन कम भएमा अण्डकोषले पर्याप्त शुक्राणु बनाउन सक्दैन ।
अर्को महत्वपूर्ण हर्मोन टेस्टोस्टेरोन हो, जसले शुक्राणु बन्ने प्रक्रियालाई सहयोग गर्छ । यदि टेस्टोस्टेरोनको मात्रा घट्यो भने उत्पादन कमजोर हुन्छ । थाइराइड ग्रन्थीको गडबडी, अत्याधिक प्रोल्याक्टिन वा दीर्घ रोगका कारण पनि हर्मोन सन्तुलन बिग्रन सक्छ । हर्मोन असन्तुलन हुँदा बाहिरबाट सामान्य देखिए पनि भित्रै उत्पादन प्रक्रिया अवरुद्ध भई शुक्राणु संख्या घट्न सक्छ ।
यी सबै तत्वलाई असर गर्ने प्रमुख तत्वहरूमा आधुनिक जीवनशैली, प्रदूषण, अस्वस्थ खानपान, धूम्रपान, मदिरा सेवन, मानसिक तनाव र औषधि वा रासायनिक पदार्थको अत्यधिक प्रयोग पर्न सक्छ ।

यो कत्तिको आम समस्या हो ?
शुक्रकीट शून्यता सामान्यतया विश्वका २ प्रतिशत पुरुषहरूमा देखिन्छ । बाँझोपनको समस्या भएका पुरुषहरूमा यो प्रतिशत अझ बढेर १०–१५ सम्म पुग्छ । सामाजिक रूपमा पनि पुरुषले आफ्नो बाँझोपन लुकाउने प्रवृत्ति हुने भएकाले वास्तविक संख्या अझ धेरै हुनसक्छ । धेरैजसो पुरुषले समस्याबारे शुरूमा थाहा पाउँदैनन् । केवल जब दम्पतीले सन्तानको प्रयास गर्दा असफलता भोग्छन्, तब मात्र चिकित्सकको सहयोग लिन्छन् ।
सामान्य जनसंख्या र बाँझोपन भएका पुरुषमा प्रतिशतको आधारमा यो समस्या कम देखिए पनि व्यक्तिगत स्तरमा गम्भीर प्रभाव पार्ने भएकाले समयमै परीक्षण र उचित उपचार आवश्यक छ ।

के यो समस्या देखिएपछि सन्तान हुनै सक्दैन ?
शुक्रकीट शून्यता भए पनि सबै पुरुषका लागि सन्तान असम्भव हुन्छ भन्ने हुँदैन । यदि समस्या नली अवरुद्ध भएको कारणले हो भने शल्यक्रियाबाट समाधान सम्भव हुन्छ । यदि अण्डकोषमा थोरै भए पनि शुक्रकीट उत्पादन भइरहेको छ भने आधुनिक प्रविधिबाट निकालेर गर्भाधान गराउन सकिन्छ ।
तर, यदि अण्डकोषबाट शुक्राणु पूर्णरूपमा उत्पादन बन्द भएको छ भने प्राकृतिक रूपमा सन्तान सम्भव हुँदैन । यस अवस्थामा दाताको शुक्रकीट वा अन्य प्रजनन सहयोगी विधि प्रयोग गर्नुपर्छ ।

यो समस्याले यौन जीवनमा पनि प्रभाव पार्छ ?
धेरैले सोच्ने गर्छन् कि एजोस्पर्मियाले पुरुषत्व घटाउँछ । तर यौन इच्छा, स्खलन, र यौन क्रिया सामान्य रहन्छ । प्रजनन क्षमता मात्र प्रभावित हुन्छ । मानसिक तनाव, आत्मविश्वासमा कमी, र सामाजिक दबाबले अप्रत्यक्ष असर गर्न सक्छ ।
कस्तो अवस्थामा शंका गर्नुपर्छ ?
यदि दम्पतीले नियमित वैवाहिक जीवन बिताउँदै एक वर्षभन्दा बढी समयसम्म गर्भधारण हुन सकेको छैन भने पुरुषतर्फ पनि जाँच आवश्यक हुन्छ । धेरैजसो अवस्थामा सुरुमा महिलाको मात्र परीक्षण गरिन्छ, तर श्रीमतीको सबै रिपोर्ट सामान्य हुँदाहुँदै पनि सन्तान नहुँदा पुरुषको प्रजनन क्षमतामाथि ध्यान दिनुपर्छ ।
अण्डकोष सानो देखिनु, असामान्य आकार हुनु वा एकातिर मात्र विकसित हुनु पनि चेतावनी संकेत हुन सक्छ । बाल्यकालमा अण्डकोष झर्न नसकेको इतिहास छ भने भविष्यमा शुक्राणु उत्पादन प्रभावित हुन सक्छ ।
यदि अण्डकोषमा गम्भीर चोट लागेको छ, शल्यक्रिया भएको छ, वा यौनजन्य संक्रमण भएको इतिहास छ भने पनि जोखिम बढ्छ । लामो समयसम्म अत्यधिक ज्वरो आएको, विकिरण वा रासायनिक पदार्थको सम्पर्कमा बसेको अवस्था पनि कारण हुनसक्छ ।
यी संकेतहरू देखिँदा लाज नमानी विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु आवश्यक हुन्छ । समयमै जाँच गर्दा समस्या पहिचान र उपचारको सम्भावना बढ्छ ।
कसरी थाहा हुन्छ ? कस्तो परीक्षण गर्नुपर्छ ?
शुक्राणु शून्यता वा कम शुक्राणु समस्या पत्ता लगाउने पहिलो चरण वीर्य परीक्षण हो । पुरुषबाट वीर्यको नमुना लिएर प्रयोगशालामा परीक्षण गरिन्छ । यसमा शुक्राणुको संख्या, चाल, बनावट र सक्रियता जाँचिन्छ । प्रायः दुई वा तीन पटक परीक्षण गरेर पुष्टि गरिन्छ ।
यदि वीर्यमा शुक्राणु नदेखिएमा रगत परीक्षण गरिन्छ । यसबाट शरीरमा रहेका प्रमुख हर्मोनहरूको स्तर जाँचिन्छ, जसले अण्डकोषलाई उत्पादन गर्न निर्देशन दिन्छन् । अण्डकोषको शारीरिक परीक्षण पनि गरिन्छ । आकार, बनावट र कुनै गाँठो वा असामान्यता छ कि छैन हेर्ने गरिन्छ ।
आवश्यक परे अण्डकोषबाट सानो नमुना लिएर सूक्ष्म परीक्षण गरिन्छ । यसबाट भित्र शुक्राणु उत्पादन भइरहेको छ कि छैन भन्ने थाहा हुन्छ । यी सबै परीक्षणको आधारमा समस्या उत्पादनसम्बन्धी हो वा नली अवरोध भएर हो भन्ने स्पष्ट हुन्छ । 
यो समस्याले के कस्तो शारीरिक तथा मानसिक असर गर्न सक्छ ?
यो समस्या शारीरिकभन्दा बढी मानसिक रूपमा असर गर्ने खालको हुन्छ । पुरुषले आफूलाई अपूर्ण वा असफल ठान्न सक्छन् । आफूलाई दोषी ठान्न सक्छन् । आत्मविश्वास घट्न सक्छ ।
लाज, अपराधबोध र डरका कारण धेरैले समस्या लुकाउने प्रयास गर्छन् । तर समस्या लुकाउँदा तनाव झन् बढ्छ । शुक्राणु शून्यताको सबैभन्दा ठूलो असर सन्तान नहुनु हो । दम्पती लामो समयसम्म प्रयास गर्दा पनि सफलता नपाउँदा मानसिक रूपमा थाक्न सक्छन् । वैवाहिक सम्बन्धमा दूरी आउन सक्छ ।
यसले सामाजिक दबाब पनि बढाउँछ । आफन्त र छिमेकीको जिज्ञासा वा टिप्पणीले मानसिक चोट पुर्याउन सक्छ । निराशा, तनाव, चिन्ता र कहिलेकाहीँ डिप्रेसनजस्ता समस्या पनि देखा पर्न सक्छन् ।
कतिपय अवस्थामा समाजमा अझै पनि सन्तान नहुनुको दोष प्रायः महिलामाथि लगाइन्छ, तर पुरुष कारण पनि बराबरी जिम्मेवार हुन्छन् भन्ने तथ्य विस्तारै मात्र स्वीकारिँदैछ ।
खुला संवाद, आपसी समझदारी र भावनात्मक सहयोग अत्यन्त आवश्यक हुन्छ ।
चिकित्सकीय उपचारसँगै मनोवैज्ञानिक परामर्श पनि उपयोगी हुन्छ । परिवारको साथ र सकारात्मक सोचले ठूलो भूमिका खेल्छ ।
उपचारको विकल्प के के छन् ?
उपचार समस्या कुन कारणले भएको हो भन्नेमा निर्भर हुन्छ । यदि हर्मोन कमी छ भने औषधिबाट सन्तुलन मिलाइन्छ । यदि शुक्राणु बाहिर निस्कने नली अवरुद्ध छ भने शल्यक्रिया गरेर बाटो खोल्न सकिन्छ ।
कहिलेकाहीँ अण्डकोषमा थोरै भए पनि उत्पादन भइरहेको हुन्छ । यस्तो अवस्थामा विशेष प्रविधिबाट सिधै अण्डकोषबाट शुक्राणु निकालेर गर्भाधान गराइन्छ ।
यदि पूर्णरूपमा उत्पादन बन्द भएको छ भने दाताको सहयोग शुक्राणु प्रयोग गर्ने विकल्प पनि हुन्छ ।
समयमै उपचार सुरु गरे धेरै अवस्थामा सकारात्मक परिणाम पाउन सकिन्छ ।

प्रतिक्रिया 4