+
+
Shares

परिवर्तनकारी शक्ति हामी हौँ, अरू नयाँ–पुराना दल यथास्थितिवादी हुन् : कमल थापा

संघीयता, गणतन्त्र र धर्म निरपेक्षता असफल भइसकेको २० वर्षको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको थापाले दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १७:०३

११ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौं-५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् ।

अहिलेको निर्वाचन जेनजीको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको एजेन्डा पनि जेनजीले उठाएकै कुरा रहेको बताए । ‘जेनजी र नेपाली जनताको चाहना भनेको भ्रष्टाचार र कुशासनको अन्त्य, सुशासनका माध्यमबाट देशको आर्थिक समृद्धि हो,’ थापाले भने, ‘यही मूल मान्यताका आधारमा राप्रपाले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि राजसंस्था र हिन्द राष्ट्र, औद्योगीकरण, कृषि र पर्यटन क्षेत्रको विकासबाट व्यापक आर्थिक समृद्धि हासिल हाम्रो एजेन्डा हो ।’

यो चुनावमा मुख्य गरी दुई पक्षको बिचको प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘एउटा पक्ष यथास्थितिवादी- जसले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको पक्ष हो ।’ यो पक्षमा नयाँ, पुराना सबै राजनीतिक दल देखिएको उनले बताए ।

तर, संघीयता, गणतन्त्र र धर्म निरपेक्षता असफल भइसकेको २० वर्षको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको थापाले दाबी गरे । ‘यो असफल प्रणालीको विकल्पमा सधैँ धर्मको समानतासहितको सनातन राष्ट्र, राष्ट्रियता र एकताको प्रतीकका रूपमा नैतिक शक्तिका रूपमा अभिभावकीय भूमिकासहितको राजसंस्था, प्रदेश संरचनाको खारेजी र दुई तह प्रभावकारी सरकार एजेन्डा बोकेको परिवर्तनकारी शक्ति अर्को पक्ष छ,’ उनले भने ।

अहिले जनता यथास्थितिमा नभई परिवर्तनको पक्षमा रहेको थापाले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?