११ फागुन, काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुबाहक बस गए राति धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खस्यो ।
करिब साढे १ बजेतिर भएको यस दुर्घटनाको खबर आउनसाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको टोली उद्धारमा खटियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालका अनुसार बस सडकबाट करिब २०० मिटर तल थियो । ‘त्यो ठाउँमा बाटो पनि राम्रो छ । फलामको रेलिङ लगाएको छ । रेलिङ नै भत्काएर बस खसेको देखिन्छ,’ डीएसपी दाहालले भने ।
मध्यराति नै उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले राजमार्गबाट बस देखे पनि तल झेरर उद्धार गर्न करिब आधा घण्टा लागेको थियो । ठाडो भिरका कारण आधा घण्टाको प्रयासपछि बल्ल सुरक्षाकर्मी बस भएको ठाउँमा पुगेका थिए ।

‘म दुर्घटनास्थल पुगेर उद्धारमा खटिएको थिएँ । अवस्था भयावह थियो । मान्छेको रुवाबासी र चिच्याहट मात्रै थियो,’ डीएसपी दाहालले अनलाइनखबरसँग भने ।
२०० मिटरको ठाडो भिरबाट तल खसेकाले बस कच्याकुचुक भएको थियो । सुरक्षाकर्मीहरूले जसोतसो शव र घाइतेहरूलाई बसबाट निकाले पनि सडकमा ल्याउन समय लागेको थियो ।
‘ठाडो भिर भएकाले माथि राजमार्गमा ल्याउन हामीलाई निकै गाह्रो भयो । त्यसपछि पर्यटन व्यवसायीहरूसँग समन्वय गर्यौं । उहाँहरूको र्याफ्ट बोटमार्फत त्रिशूली नदी हुँदै तलबाट घाइते र शव निकाल्यौं,’ डीएसपी दाहाल भन्छन् ।
नेपाली सेनाको भैरव गणको टोली, सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट डीएसपी सुनिल गिरीको कमान्डमा र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोर सहितको टोली उद्धारमा खटिएको थियो ।
सशस्त्र र पर्यटन व्यवसायीको र्याफ्ट बोटमार्फत करिब एक किलोमिटर तल पुर्याएपछि सडकमा निकालेर एम्बुलेन्समार्फत अस्पतालसम्म लगिएको थियो । सुरुमा मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौं पठाइयो ।
कलंकीस्थित नेसनल मेडिकल कलेजमा १० जना र राष्ट्रिय ट्रमा सेन्टरमा १४ जनाको उपचार भइरहेको छ । २५ जनालाई काठमाडौं पठाइएकोमा एक जनाको मृत्यु भएको छ ।
के कारणले भयो दुर्घटना ?
बस दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीका अनुसार चालकको पहिचान हुन सकेको छैन । घाइतेहरूसँग समेत कुरा गर्नसक्ने अवस्था नभएकाले के कारणले दुर्घटना भयो भन्ने यकिन हुन नसकेको डीएसपी दाहाल बताउँछन् ।
४५ सिट क्षमताको यो बस दुर्घटना हुँदा चालक, सहचालकसहित ४४ जना थिए । बसमा क्षमताभन्दा बढी यात्रु नरहेको, बस पुरानो पनि नरहेको, बाटोको अवस्था पनि राम्रो रहेकाले दुर्घटना के कारणले भयो भन्ने विश्लेषण गर्न सुरक्षाका निकायलाई गाह्रो परेको छ ।

सबै अवस्था ठिकठाक देखिएकाले तीव्र गति वा चालकको गल्तीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । यद्यपि, निष्कर्ष भने प्रहरीले निकालिसकेको छैन ।
बस दुर्घटनापछि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा बैठक बसेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख, यातायात व्यवसायी महासंघका प्रतिनिधिहरूसहित बसेको बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
यो समितिले दुर्घटनाको सत्य-तथ्य पत्ता लगाउने र दिएका सुझावहरू कार्यान्वय गर्ने निर्णय भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् ।
१८ दिनमा ३ ठूला दुर्घटना, ४४ जनाको मृत्यु
१९ जनाको मृत्यु र २५ जना घाइते भएको गए रातिको यो दुर्घटना १८ दिनको अन्तरमा भएको तेस्रो ठूलो दुर्घटना हो ।
१८ दिनको अन्तरमा यसअघि दुई ठूला दुर्घटना भएका छन् । २३ माघमा बैतडीमा यस्तै ठूलो दुर्घटना भएको थियो ।
पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटना भएको थियो । सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा त्यतिबेला १३ जनाले ज्यान गुमाएका थिए ।
बस बझाङको सुनकुडातर्फ जाँदै थियो । बस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।
यसको चार दिनपछि रामेछापमा अर्को ठूलो दुर्घटना भयो । २७ माघमा काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस रामेछापस्थित तामाकोशी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।
सडकबाट नदीमा खसेको बस गोताखोरमातर्फत उद्धार गरिएको थियो । नदीबाट सुरक्षाकर्मीहरूले शव निकालेका थिए । १८ दिनको बीचमा भएका यी तीन ठूला दुर्घटनामा ४४ जनाले ज्यान गुमाएका छन् ।

दराजमै थन्किन्छन् प्रतिवेदन
यस्ता ठूला दुर्घटना भएपछि सरकारले छानबिन समितिहरू बनाउँदै आएको छ । सरकार दुर्घटनाको केही दिनमा विशेष चासो राखे जसरी छानबिन समिति गठन गर्ने र कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत जनाउँदै आएको छ ।
२८ असार २०८१ मा नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा दुई वटा दुर्घटना भएपछि गृह मन्त्रालयले तत्कालीन सहसचिव छवि रिजालको संयोजकत्वमा समिति नै गठन गरेको थियो । समितिले प्रतिवेदन बुझाउँदै दुर्घटनाको कारण आगामी दिनमा सुधार गर्नुपर्ने विषयहरू समेटेर सुझावसमेत दिएको थियो ।

प्रतिवेदनमा दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा परिषद् गठन गर्नुपर्ने सुझाव दिइएको थियो । सडक सुरक्षा ऐन निर्माण गरिनुपर्ने, राजमार्गमा अटोमेटेड भेइकल मोनिटरिङ सिस्टम, भेइकल इन्ट्री मेकानिजम राख्नुपर्ने जस्ता सुझाव दिइएको थियो । जुन सुझावहरू अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।
राजमार्गका निश्चित दूरीहरूमा रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्नुपर्ने, भेइकल फिटनेस सेन्टरको स्थापना गर्नुपर्ने, टाइम कार्ड लागु गर्नुपर्ने, राजमार्गमा हुने तीव्र गतिको जाँच गर्न सर्भिलेन्स र मोनिटरिङ सिस्टम हुनुपर्ने जस्ता सुझाव रिजाल समितिले दिएको थियो ।
त्यतिबेला प्रतिवेदन सार्वजनिक हुँदा तत्कालीन गृहमन्त्री रमेश लेखकले समितिले दिएका सुझावहरू कार्यान्वयन गर्ने बताएका थिए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । तर अहिलेसम्म यस्ता प्रतिवेदनहरू कार्यान्वय नहुँदा नागरिकले सडकमा ज्यान गुमाउने क्रम भने रोकिएको छैन ।

सिमलताल घटनाको मात्रै होइन, हरेक ठूला दुर्घटनापछि छानबिन समितिले बन्ने, प्रतिवेदन पनि बुझाउने गरेको देखिए पनि ती प्रतिवेदनले दिएका सुझावहरू कार्यान्वय हुन सकेका छैनन् । जसका कारण नागरिकले सकडमा ज्यान गुमाउने क्रम रोकिएको छैन ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक औसतमा सवारी दुर्घटनाबाट ७ जनाको ज्यान जाने गरेको छ ।
प्रतिक्रिया 4