+
+
Shares
धादिङ दुर्घटनाका उद्धारकर्मी भन्छन् : :

‘समयमा उद्धार हुन सकेन, केही घाइतेको बोल्दाबोल्दै श्वास रोकियो’

बोल्न सक्ने घाइतेहरु छिटो अस्पताल लगिदेउ भन्दै हुनुहुन्थो । हामीसँग कुनै उपाय थिएन, छट्पटिएका र च्यापिएका घाइतेहरुलाई सान्त्वना दिन थाल्यौं । केही यात्रुहरुले बोल्दा बोल्दै ज्यान समेत गुमाउनुभयो । श्वास रोकियो ।

मनिष दुवाडी मनिष दुवाडी
२०८२ फागुन ११ गते १३:०६

११ फागुन, धादिङ । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा अहिलेसम्म ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदीनजिक भैंसेडाँडा भन्ने स्थानमा ग.२ ख. १२३१ नम्बरको बस दुर्घटनामा परेको हो ।

मृतकमध्ये ९ जनाको सनाखत भएको छ । घाइते २५ जनामध्ये ट्रमा सेन्टर काठमाडौंमा १४ जना, नेशनल अस्पताल कलंकी काठमाडौंमा १० जना र त्रिवि शिक्षण अस्पताल धादिङमा एक जना गरी जम्मा २५ जनाको उपचार जारी छ । सरकारले दुर्घटनाको छानबिन गर्न समिति पनि गठन गरिसकेको छ ।

दुर्घटनामा केही स्थानीय र प्रहरीहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो । हामीले उद्धारमा खटिएका केहीसँग कुराकानी गरेका छौँ ।

नारायण श्रेष्ठ, उद्धारकर्मी

मेरो नाम नारायण श्रेष्ठ हो । म राति १ बजेर १० मिनेटसम्म मोबाइल हेरेरहेको थिएँ । दुर्घटनास्थलको ठीक पारि मेरो ससुराली घर छ, म यही थिएँ । एक्कासी ठूलो आवाज आएपछि बस दुर्घटना भएको अनुमान गरेँ । बाहिर निक्लेर बुझ्दा दुर्घटना भएको थाहा पाइयो ।

त्यसलगत्तै गण्डकी गाउँपालिका वडा नं ४ घ्याल्चोकका ४ जना साथीहरू घटनास्थल जाने तयारी गर्‍यौं । एक जना साथी टायरको ट्युब लिएर नदीमाथिबाटै जानुभयो । हामी तीन जना पुल तरेर घटनास्थल गयौँ ।

दुर्घटना भएको बारे प्रहरीलाई खबर दिँदै हामी घटनास्थल पुग्यौँ । रातिको समय गाडी खसेको स्थानबाट नदी किनारमा तल झर्न सक्ने अवस्था थिएन । सडकमा गुडेको गाडीसँग डोरी र सहयता सामग्रीहरु केही छ कि भनेर मागियो । एउटा गाडीले छोटो डोरी दिएको थियो । तर छोटो भएकाले त्यसलाइ प्रयोग गर्न सकिएन । हामी घुमेर बाटो खोज्दै खोज्दै घटनास्थल पुग्यौँ । स्थिति भयावह थियो । घाइतेहरू छटफटाइरहेका थिए । भीरमा समेत घाइतेहरु अड्किएका थिए । सुरुमा हामीले भीरमा अड्किएकाहरुलाई नदीनिकारको समथर भागमा राख्यौं । बोल्न सक्ने घाइतेहरु छिटो अस्पताल लगिदेउ भन्दै हुनुहुन्थो । हामीसँग कुनै उपाय थिएन, छट्पटिएका र च्यापिएका घाइतेहरुलाई सान्त्वना दिन थाल्यौं । केही यात्रुहरुले बोल्दा बोल्दै ज्यान समेत गुमाउनुभयो । श्वास रोकियो । केहीबेरपछि अरु स्थानीयहरू, सेना, प्रहरी र्‍याफ्टिङ गाइडहरू आइपुगेपछि उद्धार गर्दै उपचारको लागि पठाउँन थाल्यौं ।

कुमार बस्नेत वडा अध्यक्ष, बेनिघाट रोराङ गाउँपालिका वडा नं ७

दुर्घटना भएको खवर पाउँने बित्तिकै म घटनास्थल पुगेँ । रातिको २ बजेको थियो । दुर्घटना भएकै आधा घण्टाभन्दा बढी भइसकेको थियो । घटनास्थल निकै अप्ठ्यारो ठाउँमा भएकाले घाइतेहरुलाई तत्कालै उद्धार गरेर अस्पताल पठाउन सकिएन । एकजना विदेशी नागरिक (उहाँको भाषा अनुसार) बोलिरहनुभएको थियो । केहीबेरपछि उहाँ त्यही बित्नुभयो । अरु ४-५ जना घाइतेहरु बोल्दाबोल्दै उद्धार गर्न नसकेर आँखै अगाडि प्राण त्याग गरेको देख्दा साह्रै नमज्जा लागिरहेका छ । भौगोलिक जटिलता र उद्धार सामग्रीको अभावले आफू त्यहीँ भएर पनि केही गर्न सकिएन । केही बेरपछि सुरक्षाकर्मी र र्‍याफ्टिङ गाइडहरुको सहयोगले बाँकी रहेका घाइेतहरुलाई उपचारको लागि पठायौं ।

मिथुन श्रेष्ठ, र्‍याफ्टिङ गाइड, त्रिशुली रिभर साइड रिसोर्ट

दुर्घटना भएकै गाडीको एक यात्रुले हाम्रो रिसोर्ट बुक गर्नुभएको रहेछ । ती यात्रु चरौँदी बजारसम्म आइपुगेको जानकारी पनि सुरक्षा गार्डले लिनुभएको थियो । केहीबेर पछि गाडी दुर्घटना भएको र आफुहरुलाई उद्धार गर्न आउन भन्ने खबर आएपछि त्रिशुली रिभरसाइड बाट दुई वटा र्‍याफ्टिङ बोट र १० जना गाइड साथीहरू लिएर हामी निस्कियौं । घटनास्थल ठ्याक्कै थाहा भएन अनि घ्याल्चोकबाट ट्युबमा घटनास्थल पुग्नुभएका साथीमार्फत घाइतेले फोन गरिदिएपछि घटनास्थल पत्ता लाग्यो र हामी उद्धारको लागि पुग्यौँ ।

र्‍याफ्टिङ गाइड अरुण थपलिया लगायतको टोली पनि आइपुग्नुभयो । घाइते साथीहरु निकै त्रसित र विचलित अवस्थामा हुनुहुन्थ्यो । समयमै उद्धार गर्न नसकिएको भएर केही साथीहरु त्यहीँ बित्नुभएको खबर पनि पायौं । होसमा हुनुभएका घाइतेहरुलाई पालैपालौ बोटमा राखेरमा गाडी चल्ने स्थानमा पुर्‍याएर अस्पताल पठायौं ।

लेखक
मनिष दुवाडी

दुवाडी धादिङमा कार्यरत पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?