११ फागुन, काठमाडौं । इरानी महिला राष्ट्रिय फुटबल टोलीकी मुख्य प्रशिक्षक मर्जिया जाफरीले आगामी २०२६ एएफसी महिला एसियाली कपका लागि आफ्नो टोली तयार रहेको बताएकी छिन् ।
अष्ट्रेलियामा आयोजना हुने यस प्रतियोगितामा इरानलाई तीव्र प्रतिस्पर्धा हुने मानिएको समूह ‘ए’ मा आयोजक अस्ट्रेलिया, दक्षिण कोरिया र फिलिपिन्ससँगै राखिएको छ।
इरानले आफ्नो पहिलो खेल मार्च २ मा दक्षिण कोरियाविरुद्ध खेल्नेछ। त्यसपछि मार्च ५ मा आयोजक अस्ट्रेलिया र मार्च ८ मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
प्रशिक्षक जाफरीका अनुसार १२ दिने युद्ध जस्ता कठिन परिस्थिति र सीमित तयारीका बाबजुद इरानले एसियाली कपमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो।
प्रशिक्षक जाफरी र कप्तान जहरा घन्बारी दुवैले टोलीबाट ‘चमत्कार’ को अपेक्षा नगर्न आग्रह गरेका छन्।
उनीहरूका अनुसार यो प्रतियोगिता युवा खेलाडीहरूका लागि अनुभव बटुल्ने र भविष्यमा बलियो टोली निर्माण गर्ने अवसर हो।
हालैका मैत्रीपूर्ण खेलहरूमा इरानले राम्रो प्रदर्शन गरेको छ। टोलीले भारतमा भएको एक प्रतियोगिता जितेको थियो भने उज्वेकिस्तानविरुद्ध पनि कडा चुनौती प्रस्तुत गरेको थियो।
कप्तान घन्बारीले भनिन्, ‘हाम्रो टोली अनुभवी र युवा खेलाडीहरूको मिश्रण हो। हामी यी युवा प्रतिभाहरूलाई सहयोग गर्नेछौं ताकि भविष्यमा अझ राम्रो नतिजा हासिल गर्न सकियोस्।’
प्रतिक्रिया 4