१२ फागुन, बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको दानसागु खोलामा बेलिब्रिज निर्माणको काम धमाधम भइरहेको छ ।
बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत साँफे–मार्तडी सडक खण्डको जडाङ्गमा रहेको बेलिब्रिज लामो समय देखि बुढीगंगा नदीमा थन्किएको थियो ।
लामो समयपछि उक्त बेलिब्रिज दानसागु खोलामा सार्ने गरी काम भइरहेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनक कुमार बोहाराले बताए ।
जडाङ्गमा रहेको बेलिब्रिज सडक डिभिजन कार्यालय साँफेबगर अछामले दानसागु खोलामा बेलिब्रिज निर्माणका लागि टेन्डर गरेर काम सुरु भइरहेको छ । यो आर्थिक वर्षमा सक्ने गरी धमाधम काम भइरहेको छ ।
अहिले दानसागु खोलामा दुवै तिर बेलिब्रिजका लागि फाउन्डेसन निर्माण भइरहेको स्थानीय प्रदिपराज जोशीले बताए ।
निर्माण कार्यको ठेक्का डीएस जनकल्याण जेभी काभ्रेले पाएको छ । भ्याट बाहेक २ करोड १ लाख १० हजार ८ सय १४ मा काम गर्ने गरी सम्झौता भएको हो । असारसम्म काम सक्ने गरी काम भइरहेको छ ।
यता जडाङ्गमा पक्की पुल निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि अन्य ठाउँमा सार्न पहल नहुँदा पुल निर्माण कार्य थन्किएको थियो । लाम्रो प्रयासपछि कोल्टीमा सार्न सफल भएको नगरप्रमुख बोहोराले बताए ।
स्थानीयवासीले लामो समयदेखि दानसागु खोलामा सुरक्षित आवतजावतका लागि पुलको आवश्यकता रहेको भन्दै माग गर्दै आएका थिए ।
बेलिब्रिज स्थापना भएपछि स्थानीय यातायात सहज हुने र आर्थिक–सामाजिक गतिविधिमा वृद्धि हुने अपेक्षा गरिएको छ ।
सडक डिभिजन कार्यालयले समयमै प्रक्रिया पूरा भई यस आर्थिक वर्षमै निर्माण कार्य सम्पन्न हुने गरी काम थालिएको बताएको छ ।
मार्तडी कोल्टी सडकको मुख्य ठाउँ दानसागु खोला रहेको छ । बाजुराका चार पालिका, हुम्ला र मुगु समेत यो बाटो जोडिने गरेको छ ।
जडाङ्गमा रहेको बुढीगंगा नदीमा २०७७ साल साउन २५ मा आएको बाढीले बेलिब्रिज बगाएको थियो ।
प्रतिक्रिया 4